असोज ४, २०८०
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
साउन २२, २०७९
चीनको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान क्षेत्र नजिक सैन्य अभ्यास जारी राखेको छ ।
आइतवार (७ अगस्ट) सम्म भएको अभ्यास अब नियमित अन्तरमा चिनियाँ सेनाले गरिरहने खबर आएको छ । ताइवानको मुख्य टापुमा आक्रमणको तयारी गर्ने किसिमको (सिमुलेटेड अट्याक) अभ्यास पनि चिनियाँ सेनाले गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । त्यसक्रममा चीनका अनेकौं जहाज र विमानहरू ताइवान जलसन्धि (स्ट्रेट) मा अभ्यास गरिरहेका छन् ।
चीनले आफ्नो अभीष्ट स्पष्ट पार्नका लागि चिनियाँ मुख्यभूमि र ताइवान टापुबीचमा रहेको मध्यवर्ती रेखा (मिडियन लाइन) लाई समेत उल्लंघन गरेको छ । उक्त अनधिकारिक बफर जोनलाई यसअघि चिनियाँ र ताइवानी विमान तथा जहाजले उल्लंघन गर्दैनथिए ।
सन् १९५५ मा अमेरिकी सैन्य जनरल बेन्जामिन ओलिभर डेभिस जुनियरले ताइवान जलसन्धिको ठीक बीचमा उक्त मध्यवर्ती रेखा कोरेका थिए । त्यसपछि अमेरिकाले रिपब्लिक अफ चाइना (ताइवान) र पिपुल्स रिपब्लिक अफ चाइना (चीन) लाई त्यो रेखाको सम्मान गर्न दबाब दिएको थियो ।
तर अहिले चिनियाँहरूको नजरमा अमेरिकाले क्रमशः एक चीन नीति परित्याग गर्दै ताइवानलाई अलग राष्ट्र बनाउने स्वरहरूलाई समर्थन गर्न थालेको छ । त्यसैले अमेरिकाले कोरेको मध्यवर्ती रेखाको कुनै औचित्य नरहेको चिनियाँहरूमा सोच आउन थालेको देखिन्छ ।
ताइवानलाई घेराबन्दी गर्ने उद्देश्यले चिनियाँ विमान र जहाजहरूले आक्रामक अभ्यास गरिरहेका छन् । तर ताइवान वरपरको जलक्षेत्रीय आवागमनमा खासै समस्या आएको छैन ।
संसारको सबभन्दा व्यस्त जलक्षेत्रमध्ये एक ताइवान जलसन्धिमा मालवाहक जहाजहरूको आवागमन ठप्प भएमा विश्वव्यापी आपूर्ति शृंखलामा नकारात्मक असर पर्नेछ । त्यसले ल्याउने दुष्परिणामको भयावह हुनेछ ।
तर चीनले विश्वलाई असर पर्ने गरी गैरजिम्मेवार काम गर्दैन । अहिले पनि ताइवानका बन्दरगाहहरूमा जहाजहरूको सहज पहुँच छ । चीनले अभ्यासका लागि छुट्ट्याएका क्षेत्रमा चाहिँ मालवाहक जहाजहरू गएका छैनन् ।
ताइवानको समाचार संस्था सीएनएले दिएको खबरअनुसार (गूगल ट्रान्सलेसन गरी बुझ्दा), चीन र ताइवानबीच लडाइँ भइहालेमा कस्तो परिदृश्य विकसित होला भन्ने कुरा अहिले चीनले गरिरहेको अभ्यासबाट झलक पाइन्छ ।
पलोसी ताइवानबाट गएपछि चिनियाँ सेनाले जलआवागमनका विषयमा चेतावनी जारी गरेको छ । त्यस्तै पीत सागर (येल्लो सी) मा चिनियाँहरूले लगातार १० दिनसम्म गोलीगट्ठा प्रहार गर्ने भएका छन् ।
पहिलोपटक चिनियाँ सेना ताइवानको एकदमै नजिक पुगेका छन् । चिनियाँ सेनाले कतिपय अभ्यास ताइवानको तटबाट जम्मा २० किलोमिटरको दूरीमा गरिरहेको छ ।
अभूतपूर्व रूपमा चिनियाँ सेनाले ताइवानको पूर्वतर्फको समुद्र र हवाईक्षेत्रमा समेत अभ्यास गरिरहेको छ । उक्त क्षेत्र ताइवानी सैनिकहरूका लागि रणनीतिक महत्त्वको छ । त्यहाँ नै उनीहरूले सैन्य आपूर्ति प्राप्त गर्न र सम्भावित अमेरिकी सैन्य सहयोग लिन पाउँछन् ।
ताइवानलाई झुकाउनका लागि चीनले नाकाबन्दीकै उपाय अपनाउने सैन्य विश्लेषकहरू बताउँछन् । ताइवान टापुलाई पूर्ण रूपमा घेराबन्दी गर्ने अनि कुनै पनि व्यापारिक र सैन्य जहाजलाई ताइवान प्रवेश गर्न वा निस्कन नदिने चिनियाँहरूको उद्देश्य रहनेछ । चिनियाँ सैन्य विश्लेषक सोङ चोङपिङले चिनियाँ सेनासँग यस्तो किसिमको घेराबन्दी गर्ने सैन्य क्षमता रहेको बताउँछन् ।
ताइवानलाई घेराबन्दी गर्ने क्षमताका साथै आफ्ना ब्यालिस्टिक क्षेप्यास्त्रहरूको तारोमा पार्ने खुबी पनि चीनसँग छ । चीनले त्यसरी क्षेप्यास्त्रहरूमार्फत गरेको घेराबन्दीलाई तोड्न सहज नरहेको सैन्य विश्लेषकहरूको कथन छ ।
पश्चिमी विश्लेषकहरूले चिनियाँ सेनालाई अझै पनि हलुका रूपमा लिने गरेका छन् । पंक्तिकारको अघिल्लो लेखमा पश्चिमाहरूको त्यही मूल्यांकनको चर्चा थियो ।
पढ्नुहोस् यो पनि :
तर चीनलाई हलुकामा लिने गल्ती गर्न मिल्दैन । चिनियाँ सेनाको क्षमतालाई बुझेरै अमेरिकाले तत्कालै सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । ह्वाइट हाउसका एक प्रवक्ताले चिनियाँ अभ्यास उत्तेजनात्मक र गैरजिम्मेवार रहेको अनि यसले गलत कदमको जोखिम बढाएको बताए । यस अभ्यासमार्फत तनावलाई चर्काउने काम भइरहेको उसको भनाइ छ ।
अमेरिका समेत झस्किने गरी चीनले गरिरहेको शक्तिप्रदर्शन प्रभावशाली रहेको अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सुरक्षा विषयका प्राध्यापक जोन ब्लाक्सल्यान्डले बताएका छन् । सिन्ह्वा समाचार संस्थाले प्रकाशित गरेको सामग्रीमा उनले बताएअनुसार, चिनियाँहरूलाई कम अनुभवी र कमजोर शक्ति भएका सैनिक भनी अवमूल्यन गर्न मिल्दैन ।
उनीहरू स्थल र जल सैन्य कारवाहीको समन्वय गर्न सक्षम छन् । त्यस्तै उनीहरू क्षेप्यास्त्र प्रणाली उपयोग गर्न र आफूलाई प्रभावकारी साबित गर्न पनि सक्षम छन् ।
चिनियाँ सेनाको अभ्यासले ताइवान, अमेरिका र जापानलाई दह्रो सन्देश दिएको ब्राक्सल्यान्ड बताउँछन् । आफूले गर्ने भनेको काम गरेरै देखाउन सक्ने क्षमता चिनियाँ सेनामा देखिएको उनको भनाइ छ ।
ब्राक्सल्यान्डकै जस्तो भनाइ जर्ज वाशिङटन युनिभर्सिटीका उपप्राध्यापक तथा पूर्वी एसियाका लागि अमेरिकाका पूर्व रक्षा सूचना अधिकारी लोन्नी हेन्लीको छ । पोलिटिको पत्रिकाका पल मकलिएरी र लारा सेलिगम्यानसँग कुरा गर्दै हेन्लीले भियतनाम युद्धपछि कुनै पनि युद्ध नलडेको चिनियाँ सेना अहिले जस्तो किसिमको सैन्य कारवाहीका लागि पनि तयार रहेको बताए ।
सिन्ह्वाका अनुसार, चिनियाँ सेनाले अहिलेको अभ्यासमा १०० भन्दा बढी सैन्य विमान र १० भन्दा बढी जंगी जहाज (फ्रिगेट, डिस्ट्रोयर) तैनाथ गरेको छ । उसका जे–२० स्टेल्थ फाइटर जेट र टाइप ०५५ डिस्ट्रोयर अध्याधुनिक घातक हतियार हुन् ।
यस अभ्यासमार्फत चिनियाँ सेनाले विभिन्न सैन्य इकाइको समन्वित युद्ध क्षमताको परीक्षण गर्न पाएको छ । स्थल, जल, हवाई तथा रकेट सेनाका साथै साइबरयुद्धका सैनिकहरू पनि परिचालन गर्ने क्षमता चीनले विकसित गरिसकेको देखिन्छ ।
चीनलाई रोक्ने उद्देश्यले अमेरिकाले आफ्नो विमानवाहक युद्धपोत यूएसएस रोनल्ड रेगन ताइवान जलसन्धिमा पठाएको छ । यसले चीन र अमेरिकाबीच भिडन्तको सम्भावना बढाउने कतिपय विश्लेषकहरू बताउँछन् ।
तर ताइवानका विषयमा चीन र अमेरिकाबीच प्रत्यक्ष भिडन्त हुने सम्भावना न्यून छ । अमेरिकाले रुसविरुद्ध युक्रेनमा चलाइरहेको छद्मयुद्ध (प्रोक्सी वार) लाई नै हेर्ने हो भने आणविक हतियार भएको चीनसँग सिधै युद्ध गर्न अमेरिका चाहन्छ जस्तो लाग्दैन । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेनलाई सहयोग गरिरहने तर नेटो र रुसबीच भिडन्तको स्थिति आउन नदिने भनी अमेरिकी रणनीतिको संकेत दिइसकेका छन् ।
त्यसैले गर्दा अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकी सांसदहरूको नयाँ प्रस्तावमा अनिच्छा देखाइरहेका छन् । सिनेटरद्वय लिन्डसे ग्राहम र बब मेनेन्डेजले ताइवानलाई प्रतिरक्षा गर्न अमेरिका अनिवार्य रूपमा जानुपर्ने प्रावधान सहितको ताइवान पोलिसी याक्ट सिनेटमा ल्याएको भए पनि त्यसलाई अगाडि बढाउने विषयमा बाइडन अनिच्छुक देखिएको बताइन्छ ।
तर असावधानीवश दुई देशबीच भिडन्तको स्थिति चाहिँ आउन सक्ने भएको छ । चीनको परराष्ट्र मन्त्रालयले अमेरिकासँग आठवटा विषयमा वार्ता स्थगित गरिएको घोषणा शुक्रवार गरेको छ ।
त्यसमध्ये चीन र अमेरिकाका थिएटर (युद्धक्षेत्र) कमान्डरहरूबीचको वार्ता स्थगित हुनु खतरनाक कुरा हो किनकि उक्त वार्ताले पूर्वचेतावनी दिएर भिडन्तको सम्भावनालाई टार्ने गरेको थियो । त्यसैले अमेरिकी युद्धपोत ताइवान जलसन्धि हुँदै जान खोज्दा अवाञ्छित स्थिति आउने खतरा चाहिँ बढेको छ ।
यसबाट आउन सक्ने अप्रिय स्थिति टार्नका लागि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चिनियाँ रक्षा मन्त्रालयसँग सम्पर्क गर्न खोजेको भए पनि चिनियाँहरूले फोनै नउठाएको खबर आएको छ । चिनियाँहरूको आक्रोश चरमचुलीमा रहँदा अमेरिकाप्रति उनीहरूको बचेखुचेको विश्वास पनि तोडिइसकेको देखिन्छ ।
अमेरिकाले एक चीन नीतिको बर्खिलाप गतिविधि गरेको निष्कर्ष निकालेकाले चीनले अब ताइवानसँग शान्तिपूर्ण पुनरेकीकरणको विकल्प पनि समाप्त भएको धारणा बनाएको प्रतीत हुन्छ । सैन्य विकल्पमार्फत नै ताइवानलाई मुख्यभूमिमा मिसाउनका लागि चीनले प्रयास गर्नेछ तर त्यो तत्कालै नभई केही वर्षभित्रमा हुन सक्छ । आखिर जनगणतन्त्र चीनका प्रथम राष्ट्रपति माओ चतोङले ताइवानलाई चीनमा मिसाउनका लागि १०० वर्षसम्म पनि प्रतीक्षा गर्न सकिने भनेकै हुन् ।
तत्कालका लागि ताइवानमााथि कठोर नाकाबन्दी लगाएर झुकाउने रणनीति चीनले विकसित गर्न सक्छ । अहिलेको अभ्यास पनि त्यही नाकाबन्दी रणनीतिको कार्यान्वयनमा केन्द्रित देखिन्छ ।
वर्ल्ड्स टप एक्सपोर्ट्स डट्कम नामक वेबसाइटमा उल्लेख भएअनुसार, ताइवानले प्राकृतिक ग्यास सबै विदेशबाट आयात गर्ने गर्छ र उसको ४० प्रतिशत विद्युत् त्यही प्राकृतिक ग्यासबाट उत्पन्न हुने गरेको छ । त्यसबाहेक विद्युत् उत्पादनको अर्को स्रोत कोइला पनि ताइवानले आयात नै गर्ने हो ।
सबभन्दा मुख्य कुरा त, ताइवान खाद्यान्नमा आत्मनिर्भर छैन । एसिया प्रशान्त क्षेत्रको खाद्यान्न तथा मलखाद प्रविधि संस्था (एफएफटीसी एग्रिकल्चर पोलिसी प्ल्याटफर्म) को आँकडाअनुसार, ताइवानको कृषियोग्य भूमि जम्मा ५ लाख २० हजार हेक्टर छ जबकि त्यहाँको कृषि मन्त्रालयले कम्तीमा ८ लाख १० हजार हेक्टर भूमि कृषियोग्य भए मात्र ताइवान कृषिमा आत्मनिर्भर हुने बताएको छ ।
यसरी ताइवानको खाद्य आपूर्ति अन्तर्राष्ट्रिय आयातमा निर्भर देखिन्छ ।
त्यसैले चीनले ताइवानको पूर्ण नाकाबन्दी गरेमा ताइवान केही महिनामै घुँडा टेक्न बाध्य हुनेछ । त्यस अवस्थामा चीनले ताइवानको भूमिमा पुगेर आक्रमण पनि गर्नुपर्दैन । खाद्यान्न संकटले आक्रान्त ताइवानीहरू आफैंले स्वतन्त्र राष्ट्रपक्षधरहरूलाई कारवाही गर्नेछन् ।
तर ताइवानमाथि चीनको नाकाबन्दीलाई दण्ड दिन अमेरिकाले चीनलाई मलक्का जलसन्धिमा नाकाबन्दी गर्न सक्ने सम्भावना रहेको पनि कतिपय विश्लेषक बताउँछन् । त्यस्तो अवस्थामा चीनले प्रतिकार गर्दा विश्वव्यापी आपूर्ति शृंखला नै अस्तव्यस्त हुनेछ जसको असर स्वयं अमेरिकालाई पनि पर्नेछ ।
त्यसैले ताइवानरूपी अरिंगालको गोलोमा हात हालेर अमेरिकाले रणनीतिक भूल गरेको कतिपय विश्लेषकको भनाइलाई समर्थन गर्न सकिन्छ । अहिलेको संकटको कूटनीतिक समाधान खोज्नका लागि दुवै पक्ष तयार हुनु जरूरी छ ।
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
भदौ ३०, २०७२ मा संविधानसभाको दुईतिहाइ बहुमतबाट संविधानको मस्यौदा पारित हुँदै गर्दा नेपालका लागि भारतीय राजदूत रञ्जित रे ‘नेपाल मामिला क्रिटिकल’ भएको भन्दै नयाँ दिल्ली उडे । नेपालमा स...
पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय ...
असोज ३ गते संविधान दिवसका दिन पुराना दलहरू राजधानी काठमाडौं र शहरका कार्यक्रममा व्यस्त हुँदै गर्दा गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने रोल्पाको थवाङ पुगेका थिए । ...
आफूलाई कम्युनिस्ट भौतिकवादी भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही वर्ष अघिसम्म मन्दिर जाँदैनथे, दशैं मनाउँदैनथे । सुनसरीको बराह क्षेत्रमा लुकेर भैँसी पूजा गरेबाहेक उनी...
सत्ता स्वार्थ र शक्तिको राजनीतिक दाउपेचका अस्वस्थ शृंखलाबीच शालीनता र समन्वयकारी भूमिकाका लागि प्रसिद्ध सुवासचन्द्र नेम्वाङ अन्ततः अस्ताएका छन् । संविधानसभाको अध्यक्षता गर्ने दुर्लभ अवसर पाएका नेम्वाङको गएराति निधन भए...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...