भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित १६ हजार २९९ थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख २५ हजार ७६ पुगेको छ । परीक्षणका क्रममा संक्रमितको दर पनि ४.५८ प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
पछिल्लो समय राजधानी नयाँदिल्लीमा संक्रमण दर निकै बढेको छ । दिल्लीमा मात्र पछिल्लो २४ घण्टामा २ हजार १४६ जना नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ ८ जनाको मृत्यु भएको छ । करिब यो पछिल्लो १८० दिनमा सबैभन्दा धेरै मृत्यु संख्या भएको ‘आज–तक’ले उल्लेख गरेको छ । यसअघि १३ फेब्रुअरीमा एकैदिन १२ जनाको मृत्यु भएको थियो । मुम्बई शहरमा पनि पछिल्लो २४ घण्टामा ८०० नयाँ संक्रमित फेला परेका छन् ।
दिल्लीमा कोरोना संक्रमण लगातार बढ्दै गइरहेको छ । यसअघि गत मंगलवार २ हजार ४९५ नयाँ संक्रमित फेला परेका थिए । बुधवार परीक्षण गरिएका १५.४१ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । बुधवार ६ जनाको मृत्यु भएको थियो । त्यसअघि २१ जनवरीमा दिल्लीमा संक्रमण दर १८.०४ प्रतिशत थियो । दिल्लीमा अगस्टमा ४० जनाको मृत्यु भएको थियो । जुलाईमा जम्मा १० जनाको मृत्यु भएको थियो । जुलाईको तुलनामा अगस्टको १० सम्ममै तीन गुणाले मृत्युदर बढेको छ ।
दिल्लीमा पनि मृत्युदर बढ्दै
दिल्लीमा १ अगष्टमा २ जनाको मृत्यु भएको थियो । २ अगष्टमा ३, ३ अगष्टमा ५, ४ अगष्टमा ४, ५ अगष्टमा २, ६ अगष्टमा १, ७ अगष्टमा २, ८ अगष्टमा ६, ९ अगष्टमा ७ र १० अगष्टमा ८ जनाको मृत्यु भएको छ । २२ देखि ३१ जुलाईसम्म जम्मा १४ जनाको मृत्यु भएको थियो । दिल्लीमा हालसम्म कोरोना संक्रमणबाट २६ हजार ३५१ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पछिल्लो एक हप्तामा कोरोना संक्रमण तीव्र रूपले बढिरहेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
मर्नेमा अधिकांश दीर्घरोगी
दिल्लीमा बढिरहेको मृत्युदरलाई लिएर स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । उनीहरूको अध्ययनअनुसार पछिल्लो समय अन्य रोगबाट पीडित व्यक्तिहरूको मृत्यु भइरहेको देखिएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश दीर्घरोगीहरू रहेको बताइएको छ ।
मुम्बईमा एक दिनमा बढ्यो ७९ प्रतिशत संक्रमण
मुम्बईमा पनि कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा ८२४ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ७९ प्रतिशतले बढी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । १ जुलाईपछि एक दिनमा संक्रमित पाइएको यो सबैभन्दा बढी हो । हालसम्म मुम्बईमा ११ लाख २९ हजार २८५ जना कोरोना संक्रमति भइरहेका छन् । कोरोना संक्रमणका कारण मुम्बईका १९ हजार ६६१ जनाको मृत्यु भइसकेको छ ।
किन बढिरहेको छ संक्रमण ?
दिल्लीमा ओमिक्रोनको ‘बीए फोर’ तथा ‘बीए फाइभ’ को ‘सब–भेरियन्ट’ पाइएको छ । यसले तीव्रगतिमा संक्रमण गराउनसक्ने चिकित्सकहरू बताउँछन् । अध्ययनहरूले ‘बीए फाइभ’ अन्य ‘भेरियन्ट’को तुलनामा तीव्र गतिमा फैलिने देखिएको छ । यसले कोरोना भाइरसविरुद्धको खोप लगाएको र नलगाएको सबैलाई संक्रमित बनाउने देखिएको छ ।