
नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल बनेको १ वर्ष पनि नबित्दै नेकपा एकीकृत समाजवादीभित्र गुट उपगुटको छिनाझप्टी उत्कर्षमा पुगेको छ ।
एमालेभन्दा ठूलो दल हुने भनेर गत वर्षको भदौ ९ गते निर्वाचन आयोगबाट एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र लिएको थियो । यस अवधिमा पार्टीको देशव्यापी संगठन विस्तार भएको दाबी नेताहरूले गर्ने गरेका छन् तर पार्टीको आन्तरिक व्यवस्थापन कमजोर हुँदा नेताहरूबीच अविश्वास बढेको छ, कार्यकर्तामा हौसला हराएको छ, जनसंगठनमा उत्साह छैन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष स्वयं माधवकुमार नेपालले नै पार्टीभित्र पद र पैसाको लागि स्वार्थ हाबी भएको टिप्पणी गर्न थालेका छन् । बिहीवार एकीकृत समाजवादीको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपालले भने, ‘मबाट शुरू गर्ने प्रवृत्ति व्याप्त छ । मैले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्छ र ‘म’भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्छ ।’
नेपाल र भुसालमाथि प्रश्न
पार्टीका दोस्रो पुस्ताका नेताहरू भने माधव नेपाल र महासचिव डा. बेदुराम भुसालको कार्यशैली र नेतृत्व क्षमतामाथि नै प्रश्न उठाउन थालेका छन् । उनीहरूले अहिलेकैजस्तो कार्यशैली अपनाइरहने हो भने एकीकृत समाजवादी पार्टी नबन्ने निष्कर्ष दोस्रो पुस्ताका नेताहरू सुनाउँछन् ।
‘धेरै कुरा त महासचिव बेदुराम भुसालको सोच र कार्यशैलीका कारण बिग्रिएको छ । त्यसबाहेक अध्यक्ष माधव नेपालको नेतृत्व क्षमतामा पनि प्रश्न उठाउने प्रशस्त ठाउँहरू छन् । नेतृत्वले नै गुट बनाउन थालेपछि संगठन कसरी बलियो हुन्छ ?’ एकीकृत समाजवादीमा दोस्रो पुस्ताका एक नेताले प्रश्न गरे ।
पछिल्लो समय एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालमाथि महासचिव भुसाल, उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र प्रकाश ज्वाला हाबी छन् । माधव नेपालले पनि उनीहरूकै कुरा सुनेर निर्णय लिने गरेका छन् तर अध्यक्षमाथि हाबी भएका नेताहरूले पार्टी निर्माणमा अरू नेताहरूको भूमिका, योगदान र क्षमता अवमूल्यन गरेको उनीहरूसँग असन्तुष्ट नेताहरू बताउँछन् ।
नेतृत्वको कमजोरी र लाचारीका कारण जनसंगठनका बैठकहरू १ वर्षदेखि बस्न नसकेको नेताहरू बताउँछन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूभित्र पनि असन्तुष्टि चुलिन थालेको छ । निजामती कर्मचारी संगठनको अध्यक्ष भइसकेका र पछिल्लो समय एकीकृत समाजवादी निकट कर्मचारी संगठनमा रहेका भोला पोखरेल एमाले फर्किएका छन् ।
नेकपा एसनिकट कर्मचारी संगठनमा पार्टी अध्यक्ष माधव नेपालको नाता पर्ने र कर्मचारी प्रशासनभित्र जुनियर तहमा कार्यरत व्यक्तिलाई महासचिव बनाएको असन्तुष्टिमा पोखरेल एमालेमा फर्किएका कर्मचारी संगठन निकट एक कर्मचारीले बताए ।
‘कनिष्ट पदमा कार्यरत व्यक्तिलाई संगठनको महासचिव बनाइएको छ । उपसचिवसम्मका व्यक्ति ट्रेड युनियनमा रहन पाउने व्यवस्था छ । जुनियर पदको कर्मचारीलाई नेतासँगको पहुँचको आधारमा पद दिएपछि धेरैमा असन्तुष्टि छ,’ ती कर्मचारीले भने ।
त्यति मात्रै होइन, अध्यक्ष नेपालले रूचाएका नेतालाई महासचिव भुसालले पेल्नेसम्मको अवस्था रहेको पार्टीका एक नेता बताउँछन् । ‘सबैमा त्यस्तो होइन, व्यक्ति विशेषमा यस्तो अवस्था छ,’ एक नेता भन्छन्, ‘भर्खरै मन्त्रीबाट फिर्ता भएका प्रेम आले र अध्यक्ष नेपालको सम्बन्ध सुमधुर छ तर महासचिव भने उनलाई पार्टीमा राख्नै चाहँदैनन् ।’
प्रेम आले मन्त्री रहँदा विभिन्न फण्डामा मुछिँदा समेत माधव नेपालले बचाउ गर्ने गरेका थिए । त्यसबेला नेपाल र आलेबीचको सम्बन्ध चित्रित गर्दै एक नेता भन्छन्, ‘त्यसबेला त अध्यक्ष र आलेबीच भर्खरै लभ परेको युवायुवतीको जस्तो सम्बन्ध थियो । मन्त्रीबाट फिर्ता बोलाएपछि उनीहरूबीच केही असमझदारी भए पनि त्यो क्षणिक मात्रै हो ।’ अध्यक्ष नेपाल र आलेको सम्बन्धले अरू नेताहरू बिच्किएका थिए ।
मन्त्रीबाट फिर्ता बोलाउने क्रममा पार्टीले आफूहरूलाई तल्लोस्तरको व्यवहार गरेको गुनासो ती नेताहरूले गर्ने गरेका छन् ।
मन्त्रीबाट फिर्ता बोलाइएकामध्ये एक नेताले भने, ‘मन्त्री हुँदा नै हाम्रो राजीनामा स्वीकृत गरेर अध्यक्षले राख्नुभएको थियो तर मन्त्रीबाट फिर्ता बोलाउँदा हामीले मिडियाबाट जानकारी पाउनुपर्ने अवस्था बन्यो । त्यसमा हाम्रो असन्तुष्टि थियो । चुनावको बेलामा हामीलाई अयोग्य जस्तो व्यवहार नहोस्, पहिल्यै जानकारी होस् भनेका थियौं । त्यसमा नेतृत्वले विचार पुर्याइएन भन्ने हाम्रो गुनासो हो ।’
अध्यक्ष नेपालले गत वर्षको असोज २२ गते नै जुनसुकै बेला मन्त्रीबाट फिर्ता बोलाउनसक्ने कागजमा मन्त्रीहरूलाई हस्ताक्षर गराएका थिए । कागजमा लेखिएको थियो, ‘मन्त्रीको आचरण र पार्टीको नीतिविरुद्ध हुने जुनसुकै काममा संलग्न भएको अवस्थामा यसै पत्रलाई राजीनामा पत्र मानेर मन्त्रीबाट फिर्ता गरिने छ ।’
मन्त्रीबाट फिर्ता भएपछि पनि जिम्मेवारी नपाएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । मन्त्रीबाट फिर्ता भएपछि नेत्री रामकुमारी झाँक्री र अध्यक्ष नेपालबीचको अन्तरविरोध सार्वजनिक मञ्चहरूमा समेत पोखिने गरेका छन् ।
तर पछिल्लो समय भने रामकुमारीको असन्तुष्टि सम्बोधनको प्रयास माधव नेपालले गरेका छन् । गत मंगलवार अध्यक्ष नेपाल र रामकुमारीले पार्टी केन्द्रीय कार्यालयमा ४ घण्टाभन्दा बढी संवाद गरेर मन माझ्ने प्रयास गरेका छन् ।
अध्यक्ष नेपालले रामकुमारीसँग एक्लै भेट्न नचाहेपछि अर्का नेता विरोध खतिवडासहित उनीहरूका बीच संवाद भएको एक नेताले जानकारी दिए । ‘पार्टी कार्यालयमा अध्यक्षसँग उनीहरूको ४ घण्टाभन्दा बढी छलफल भयो तर उनीहरूका बीचका के–के कुरा भयो जानकारी भइसकेको छैन,’ ती नेताले भने ।
माधव नेपालले रौतहटमा सभाहल बनाउने भनेर शिलान्यास गरेपछि रामकुमारीले सभाहल बनाउनका लागि कुनै बजेट र स्वीकृत कार्यक्रम नै नभएको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । उनले अहिलेका नेतृत्वले विश्राम लिनुपर्ने समेत बताएकी थिइन् ।
नेपालले भने सभाहलका लागि बजेट नै नभएको ठाउँमा ‘बोर्डर टाउन’ योजनाको पैसाबाट बन्ने गरी सभाहलको शिलान्यास गरेका थिए । रौतहटबाट चुनाव लड्ने तयारी गरिरहेका नेपालले अहिलेका शहरी विकास मन्त्री मेटमणि चौधरीलाई बजेट सार्न लगाएर सभाहलको शिलान्यास गरेका थिए ।
पछिल्लो समय नेत्री रामकुमारी र मन्त्री चौधरीका बीचमा पनि मनमुटाव बढेको छ । पार्टीले चौधरीलाई शहरी विकास मन्त्री बनाउने निर्णय गरेपछि चौधरीको सचिवालयले रामकुमारीविरुद्ध प्रचार गरेको भन्दै उनले पार्टीमा असन्तुष्टि राखेको एक नेताले बताए ।
रामकुमारीको पालामा भएका कतिपय निर्णय अहिले चौधरीले उल्ट्याइरहेका छन् । त्यसमा पनि रामकुमारीले आपत्ति व्यक्त गर्दै आएकी छिन् । उनीहरू निकट एक नेताले दिएको जानकारी अनुसार पछिल्लो समयमा रामकुमारी झाँक्री र मेटमणि चौधरीका बीचमा टेलिफोनमै बाझाबाझको स्थिति बनेको थियो ।
एकीकृत समाजवादीको नेतृत्वप्रति असन्तुष्ट एक नेता भन्छन्, ‘फेस भ्यालु नभएका आउट डेटेड नेताहरूबाट एमालेलाई टक्कर दिने पार्टी बन्दैन । सचिवालयमा राजनीतिबाटै विश्राम लिनुपर्ने व्यक्तिहरू छन् । पछिल्लो समयमा सबैजसो निर्णय सचिवालयबाटै हुने गरेको छ ।’
एकीकृत समाजवादीमा माधव नेपालको खेमामा रहेका कतिपय नेताहरू उनै माधव नेपालसँग असन्तुष्टि लिएर बसेका छन् । अध्यक्ष नेपालले कुरा नसुनिदिएका कारण कतिपय नेताहरू झलनाथ खनालको क्याम्पमा गएको उनीहरू बताउँछन् । ‘अध्यक्षले आफ्नै टीमका मान्छेलाई प्राथमिकतामा राख्नुभएको छैन । आफन्त र नातागोताका मान्छेलाई मात्रै प्राथमिकता दिनुभएको छ । त्यही कारण कतिपय नेता कार्यकर्ताले नेपाल क्याम्प छाडेर झलनाथ खनालतिर लागेका छन्,’ तीन नेताले भने ।
नेपाल–प्रचण्ड सम्बन्धमा शंका
एमालेबाट विभाजन भएर नयाँ पार्टी बन्ने बेला एकीकृत समाजवादीका एक नेताले सुझाएका थिए, ‘माधव नेपाल सेन्टर टू राइट हुन् । झलनाथ खनाल सेन्टर टू लेफ्ट हुन् । झलनाथले पनि माधव नेपाललाई कभिन्स गरेर पार्टी माओवादीमा मिलाउँछन् कि भन्ने डर छ ।’
तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ । माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्धबारे पार्टीभित्रै प्रश्न उठ्ने गरेको छ । ‘उनीहरूको सम्बन्ध राजनीतिक होइन, व्यक्तिगत सम्बन्ध छ । अहिले माधव नेपालले चाहिँ पार्टी माओवादीमा मिलाउँछन् कि भन्ने डर बढ्यो,’ ती नेताले भने, ‘अहिले प्रचण्ड र झलनाथको सम्बन्ध त्यति गहिरो छैन, जति माधव नेपाल र प्रचण्डको छ ।’
एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाएपछि निर्णय कार्यान्वयन हुन करीब १ महिना लागेको थियो । त्यसबेला, नयाँ मन्त्रीको शपथको व्यवस्था मिलाइदिन माधव नेपालले प्रचण्डलाई आग्रह गरेकोबारे पनि पार्टीमा नेताहरूले प्रश्न उठाएका थिए । आफ्नो पार्टीको निर्णय कार्यान्वयन गर्न अर्को पार्टीका अध्यक्षको सहयोग माग्नु जायज नभएको उनीहरूको तर्क छ ।
अर्कोतर्फ आगामी चुनावमा एमालेसँग सहकार्य गर्नुपर्ने ‘लाइन’ लिएपछि एकीकृत समाजवादीभित्र नेपाल–भुसाल र खनालको कित्ता छुट्टिएको छ । आफ्नो सिट सुरक्षित गर्नका लागि खनालले एमालेतिर आँखा लगाएको भन्दै नेपाल–भुसाल खेमाले खनाल पक्षको आलोचना गर्ने गरेको छ ।