
क्यानडाको ओन्टारियो राज्यका प्रमुख डग फोर्डले शुक्रवार पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा मौरी निलेका छन् ।
स्वास्थ्य सेवा प्रणालीका विषयमा उनले छलफल गर्दै गर्दा वातावरण तनावग्रस्त बनेको थियो । त्यही बेलामा मौरी निलेर उनले हाँसोको लहर उठाएका थिए ।
राज्यबाट सञ्चालित स्वास्थ्य सेवा प्रणालीलाई विवादास्पद रूपमा निजीकरण गर्ने विषयमा फोर्डले कुरा गर्दा उनको मुखभित्र मौरी पसेको थियो ।
‘हरे भगवान्, मैले भर्खरै मौरी निलें,’ उनले बताए । त्यसपछि हाँसिरहेका पत्रकारहरूसँग उनले माफी मागे । आफूले मौरी निलेको भिडियो बारम्बार चलाइने पूर्वानुमान पनि उनले गरे ।
‘मौरी सिधै खाद्यनलीमा पुग्यो,’ उनले मजाक गर्दै भने । ‘यसको भिडियो हेरेर आज राति म चिच्याउनेछु । हामीले के विषयमा कुरा गरिरहेका थियौं, मलाई याद छैन । म मौरी पेटबाट निकाल्न अस्पतालतिर दौडिनेछु,’ उनले थपे ।