१६ असार २०८३, मंगलबार

हेटौंडामा १३ सहकारी गायब, १५ दिनभित्र सम्पर्कमा नआए खारेज गर्ने उपमहानगरको तयारी

साउन ३१, २०७९
हेटौंडामा १३ सहकारी गायब, १५ दिनभित्र सम्पर्कमा नआए खारेज गर्ने उपमहानगरको तयारी

डिभिजन सहकारी कार्यालयमा दर्ता भई हेटौंडा उपमहानगरभित्र सञ्चालनमा रहेका सहकारीको अनुगमन गर्ने क्रममा  १३ सहकारी संस्था गायब रहेका पाइएको छ ।

उपमहानगरभित्र रहेका २२२ सहकारी संस्थामध्ये १३ सहकारी संस्थाको खोजी गर्दा कतै पनि नभेटिएका हेटौंडा उपमहानगरपालिका उद्योग, सहकारी, पर्यटन शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।

तत्कालीन डिभिजन सहकारी कार्यालय मकवानपुरबाट २०७४ सालमा हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी हस्तान्तरण भएको थियो । त्यसलगत्तै उपमहानगरले १९ वटै वडामा सक्रिय एवं निष्क्रिय सहकारी संस्थाको खोजी गरिरहेको थियो । उपमहानगरले अनुगमन तथा खोजी कार्य गर्दा १३ सहकारी संस्थाको तोकिएको स्थानमा  कार्यालय नै नभएको पौडेलले बताए । 

सहकारी संस्थाले वार्षिक लेखा परीक्षण, साधारणसभा लगायत अन्य अतिआवश्यक कामहरू समेत नगरेको उनले बताए । 

पौडेल भन्छन्, ‘सहकारीहरूलाई त्यस्तै खारेज गर्न मिल्दैन । सर्वसाधारण जनताको लाखौं रकम फसेको हुनसक्छ । अब फेरि एकपल्ट ती सहकारीलाई सम्पर्कमा आउन १५ दिनको सूचना जारी गर्छाैं । उपमहानगरको जनशक्ति परिचालन गरेर सबै वडामा पत्र पठाउने कार्य गर्छाैं ।’ त्यसपछि पनि सम्पर्कमा नआए सहकारीहरू खारेज गरिने उनले बताए ।

यी हुन् गायब सहकारी संस्थाहरू [नामसहित]

हेटौंडा १ – नारी बचत तथा बचत तथा ऋण सहकारी संस्था 
हेटौंडा २ – जलजला जडिबुटी सहकारी संस्था
हेटौंडा ३ – सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था 
हेटौंडा ४ – जय कालिका बचत तथा बचत तथा ऋण सहकारी संस्था, नागरिक बचत, कान्तिपुर बचत र स्वतिक बचत तथा बचत तथा ऋण सहकारी संस्था
हेटौंडा ७ – महालक्ष्मी कृषि सहकारी संस्था 
हेटौंडा ११ – महिला घरेलु सामान उत्पादन तथा बिक्री वितरण सहकारी संस्था
हेटौंडा १३ – नमो बुद्ध बचत तथा ऋण सहकारी संस्था 
हेटौंडा १६ – जुरेथुम कृषि सहकारी संस्था 
हेटौंडा १८ – आँपखोला दुग्ध उत्पादन सहकारी संस्था, रामधुनी महिला दुग्ध उत्पादन सहकारी संस्था

salt training

कमेन्ट गर्नुहोस्