२१ असार २०८३, आइतबार

साउनमा मात्रै ६३ हजारले पाए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति

साउनमा मात्रै ६३ हजारले पाए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति
फाइल तस्वीर

चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ६३ हजार ४२ पुगेको छ।

श्रम स्वीकृति लिने मध्ये ६ हजार २४१ महिला रहेको वैदेशिक रोजगार कार्यालयका सहसचिव रमेश अर्यालले जानकारी दिए ।

उनका अनुसार विभिन्न ८७ देशमा रोजगारीका लागि जान नेपाली नागरिकले श्रम स्वीकृति लिएका हुन् ।

गत आर्थिक वर्षको साउन महिनामा २५ हजार ४२८ नेपालीले श्रम स्वीकृति लिएका थिए ।

साउन महिनामा सबैभन्दा बढी मलेसियाको लागि २४ हजार ४८४ श्रम स्वीकृति जारी भएको छ।

कतारमा १२ हजार ५७०,  संयुक्त अरब इमिरेट्समा ८ हजार १४०,  साउदी अरेबियामा ६ हजार ७०५ र कुवेतमा ४ हजार २८४ श्रम स्वीकृति जारी भएको छ।

यी ५ देशले मात्रै कुल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।

कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकोमा २०७८ फागुनदेखि जान खुला गरेसँगै मलेसियामा जानेको संख्या बढ्दै गएको सहसचिव अर्यालले बताए ।

उनले समग्रमा विदेशिने नेपाली नागरिकको संख्या पनि बढेको जानकारी दिए ।

अर्यालका अनुसार कुल श्रम स्वीकृति लिने मध्ये पुन: श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक जाने ६८ प्रतिशत छन् ।

गत आर्थिक वर्षमा पुन: श्रम स्वीकृति लिने ४५ प्रतिशत थिए । नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब भित्रिएको छ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढ्दै जाने सहसचिव अर्यालले जानकारी दिए ।  

कमेन्ट गर्नुहोस्