
गायिका रचना रिमालको गायनको कमाइबाटै पक्की घर बनाएकी छन् । झापाको चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन् । पुरानो साँघुरो घर भत्काएर पक्की घर बनाउने र त्यसमा बुबाआमालाई राख्ने रचनाको सानैदेखिको धोको थियो ।
‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन’ रचनाले घरको तस्वीर फेसबुकमा राख्दै खुशी साटेकी छन् ‘तर हजुरहरू सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ ।’ उनले पुरानो घर भएको ठाउँमा नयाँ पक्की घर बनाएकी हुन् । घर निर्माणसँगै बुबाआमा सोही घरमा बस्दै आएका छन् ।
रचना पछिल्लो समयकी सर्वाधिक व्यस्त गायिकाका रूपमा परिचित छिन् ।
सांगीतिक यात्रा थालेको छोटो समयमै उनले एक हजार बढी गीतमा स्वर दिएकी छिन् भने स्टेज कार्यक्रमका लागि पनि देश-विदेश पुगिरहेकी छिन् । ‘माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु । सदैव यही क्षेत्रमा रही सत्कर्म गर्ने छु’ उनी भन्छिन् । रचना आरआर क्याम्पसमा संगीतमा स्नातक गर्दैछिन् ।