
धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बुधवार प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक कार्यालयका अनुसार शेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार ९२९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । उल्लेखित निष्कासित शेयरमा बाँडफाँटबाट बाँकी ५ कित्ता शेयर गोलाप्रथाबाट थप ५ जनालाई १/१ कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत साउन २४ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओमा कूल १८ लाख ६४ हजार ६४० योग्य आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९८० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । कूल आवेदकमध्ये १ हजार २८६ जनाको १४ हजार १४० कित्ता शेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले आफ्नो कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता शेयर) को ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।
बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो शेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।