१५ असार २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

जसले चुनावमा डेब्यु गर्न खोजिरहेका छन्

‘वर्षौंदेखि निर्वाचन क्षेत्र ओगटेर बसेका नेताको चपेटामा युवा’
भदौ ९, २०७९
जसले चुनावमा डेब्यु गर्न खोजिरहेका छन्

विगत ३० वर्षदेखि चुनाव लड्दै आएका ७९ वर्षीय शेरबहादुर देउवादेखि ८० वर्षका महन्थ ठाकुरसम्मले पुनः चुनाव लड्ने तरखर गरिरहेको समयमा आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्न युवा पुस्ताका नेता पनि जुर्मुराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लड्नका लागि सबै दलका युवाले निर्वाचन क्षेत्रमा अभियान चलाइरहेका छन् । 

७० को हाराहारीमा रहेका दलका दोस्रो तहका नेताहरूले पनि आफ्नो निर्वाचन क्षेत्र कब्जा गरेर बसेका बेला युवाहरूले नेतृत्व सामु टिकटका लागि दबाब सिर्जना गरेका हुन् । वर्षौंदेखि निर्वाचन क्षेत्र ओगटेर बसेका नेताले निर्वाचन क्षेत्रलाई ‘पेवा’ बनाउन खोज्दा चुनाव लड्न खोजेका युवा नेतालाई टिकट फुत्काउन सकस छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र अन्य दलमा समेत युवा पुस्ताले दबाब बढाएका छन् ।

कांग्रेसमा जसले कसरत गरिरहेका छन्

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा केही फ्रेस अनुहारले यसपटक चुनावको तयारी गरिरहेका छन् । नीति निर्माण गर्ने थलो संसद्मा पुग्नका लागि युवा पुस्ताका केही प्रतिनिधिले पार्टीमा टिकटका लागि लबिङ गरिरहेको नेताहरू बताउँछन् ।

नेपाली विद्यार्थी संघको पूर्व अध्यक्ष एवं कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरे पहिलोपटक चुनावमा प्रतिस्पर्धा गर्दैछन् । घिमिरेले सबैभन्दा पहिला मोरङ– ४ बाट उम्मेदवारी घोषणा गरेका थिए ।

गत मंसिरमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेश १ को सभापतिमा उनी एक मतले पराजित भएका थिए । ‘नेपाल विद्यार्थी संघको सभापति भएर पनि घिमिरे कांग्रेसका सधैँ अवसरबाट वञ्चित छन्, यसपटक पनि उनलाई संसदबाहिर राख्नु अन्याय हुन्छ,’ नेपाली कांग्रेस मोरङका एक नेताले लोकान्तरसँग भने । 

गुरुराज नेविसंघको सभापति रहेको समयमा गणतन्त्रको नारा लगाउँदा उनी र गगन थापालाई राज्यविरुद्धको अपराध मुद्दा लगाइएको थियो । 

प्रेस युनियनको महासचिव हुँदै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित अजय सिवाकोटी पनि प्रत्यक्षतर्फ चुनाव लड्न खोज्दै छन् । उनी दोलखाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष चुनाव लड्ने योजनामा छन् ।

दोलखामा दाबी गर्दै आएका जीप छिरिङ लामाले दाबी छाड्ने भएपछि दोलखामा कांग्रेसका युवा नेताले दाबी गरिरहेका छन् । नेकपा एमालेको किल्ला रहेको दोलखामा माओवादीसँगको सहयोगमा चुनाव जितिने कांग्रेस नेताहरूको विश्वास छ । त्यसो त दोलखामा माओवादीले पनि दाबी गरेको छ । 

नेपाली कांग्रेसकै अर्का केन्द्रीय सदस्य नैनसिंह महर पनि चुनाव लड्ने तयारीमा छन् । नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका महर काठमाडौं– ५ बाट चुनाव लड्ने चर्चा छ । उनले कञ्चनपुर– १ मा पनि दाबी गरेका छन् । प्रचण्डकी बुहारी विना मगरले जितेको त्यो क्षेत्र माओवादीले छाड्ने सम्भावना नरहेकाले महरले काठमाडौंमा दाबी गरिरहेका छन् ।

नेविसंघका पूर्व सभापति रञ्जित कर्ण र गोविन्द भट्टराईले पनि चुनाव लड्ने गृहकार्य गरिरहेका छन् । कर्णले सप्तरी २ बाट चुनाव लड्ने गृहकार्य गरिरहेका हुन् । भट्टराईले तनहुँ या काठमाडौंबाट चुनाव लड्ने गृहकार्य गरिरहेका छन् । 

कांग्रेसका बौद्धिक युवा नेता शंकर तिवारीले नवलपुर– २ बाट चुनाव लड्ने भन्दै तयारी थालेका छन् । जवाहरलाल विश्वविद्यालय दिल्लीमा अध्ययन तिवारी कांग्रेसभित्र बौद्धिक युवा नेताको रूपमा परिचित छन् । उनले निर्वाचन क्षेत्रमा गएर सक्रियता देखाइरहेका छन् ।

‘हाम्रोमा सांसदले जे काम गर्ने हो त्यो भइरहेको छैन, सांसदले गर्ने काम अरूले गरिरहेका छन्, त्यो बदल्नका लागि मैले उम्मेदवारी दिने तयारी गरेको छु,’ तिवारीले लोकान्तरसँग भने, ‘म सांसद निर्वाचित भएर आएँ भने सत्ता या प्रतिपक्षमा जहाँ रहेपनि एक कुशल सांसदले गर्नुपर्ने काम गर्नेछु ।’

तिवारी प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका युवामध्ये ४० वर्षभन्दा कम उमेरका हुन् । कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा उनले कांग्रेस कसले बनाउने भन्ने पुस्तक लेखेका थिए । 

तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थ र केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पनि चुनाव लड्ने भन्दै तयारी गरेका छन् । कायस्थले भक्तपुर– २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

गोपालमान श्रेष्ठ, बलबहादुर केसीजस्ता पुराना नेताहरू अहिले पनि चुनाव लड्ने भन्दै टिकटमा दाबी गरिरहेका छन् । विचार शून्य यो पुस्ताले कांग्रेसमा नयाँ पुस्तालाई अगाडि आउन दिइरहेको छैन । 

‘चुनावी तालमेलका कारण कांग्रेसले ९० सीटभन्दा बढी पाउने सम्भावना छैन, त्यसमा ५० जनाजति पुरानै नेताले पाउने सम्भावना छ,’ प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेका एक केन्द्रीय सदस्यले भने, ‘बाँकी रहेको ४० जनामा सभापति देउवाको तजबिजले गर्दा राम्राले टिकट पाउने सम्भावना कम छ ।’ 

एमालेमा युवाहरूले धेरै पाउने 

सत्ता गठबन्धनमा टिकटका लागि मारामार रहेको समयमा नेकपा एमालेमा भने यसपटक केही युवा नेताले टिकट पाउने सम्भावना छ । तुलनात्मक रूपमा एमालेले टिकट वितरणलाई पारदर्शी बनाउँदैछ । 

शुक्रवार शुरू हुने केन्द्रीय कमिटी बैठकले टिकट वितरणको मापदण्ड बनाउने छ । केन्द्रीय कमिटी बैठकले तयार गरेको मापदण्डका आधारमा क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीमार्फत आएका नामबाट केन्द्रीय समितिले निर्णय गरेर टिकट वितरणको मापदण्ड बन्दै गरेको एमाले नेताहरू बताउँछन् । 

१ सय ६५ मध्ये अन्य दलसँग तालमेल गरेपनि १ सय ५० हाराहारी सिटमा एकल उम्मेदवारी दिने सम्भावना भएकाले एमालेबाट झण्डै एक दर्जन युवाले टिकट पाउने सम्भावना छ । अखिलको नेतृत्वमा पुगेका केही युवा नेताहरूले प्रतिनिधि सभाको टिकट पाउने सम्भावना छ । शेरधन राई २४ वर्षको उमेरमै २०५६ सालमा सांसद बनेका थिए । 

अखिलको अध्यक्ष बनेपनि त्यसपछि कुनै अवसर नपाएका ठाकुर गैरे यसपटक पाल्पाबाट प्रतिनिधि सभामा चुनाव लड्ने तरखर गर्दैछन् । गैरेपछि अध्यक्ष बनेका अखिलका अध्यक्ष सांसद बनिसकेका छन् । 

जिल्लामा बसेर भुगोलको राजनीति गरेका गैरेले यसपटक टिकट पाउने सम्भावना प्रबल रहेको नेकपा एमाले लुम्बिनीका एक नेताले लोकान्तरलाई बताए । उनी पहिलोपटक संघीय संसद्का लागि प्रतिष्पर्धामा उत्रिन लागेका हुन् ।

लामो समय पत्रकारिता गरेका विष्णु रिजाल र सूर्य थापाले पनि प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्नका लागि गृहकार्य गरिरहेका छन् ।

प्रेस चौतारीको राजनीतिमार्फत प्रधानमन्त्रीको सल्लाहकार भइसकेका रिजाल र थापाले प्रत्यक्षतर्फ चुनाव लड्नका लागि तयारी गरिरहेका छन् । 

एमाले केन्द्रीय सदस्य रहेका रिजालले दैलेख– २ बाट चुनाव लड्नका लागि गृहकार्य गरिरहेका छन् ।

२०७४ सालको चुनावमा रिजाललाई प्रदेश सभामा टिकट दिने तयारी भएपनि वामपन्थी तालमेलका कारण उनले अवसर गुमाएका थिए । 

यसपटक प्रतिनिधि सभा चुनावमा प्रत्यक्षबाट प्रतिस्पर्धा गर्न उनले कोशिश गरिरहेका छन् । पार्टीले टिकट दिएमा प्रत्यक्षतर्फ चुनाव लड्ने गरी गृहकार्य गरिरहेको रिजालले बताए । 

‘हाम्रो पार्टीमा टिकट वितरण धेरै पारदर्शी छ । क्षेत्रीय कमिटीबाट नाम सिफारिश हुँदै केन्द्रमा आउनु पर्छ । पार्टीले टिकट दिएका चुनाव जितेर आउँछु,’ रिजालले लोकान्तरसँग भने ।

केन्द्रीय सदस्य सूर्य थापाले प्युठानबाट चुनाव लड्न गृहकार्य गरिरहेका छन् । स्थानीय तहको चुनाव अघिदेखि नै थापाले निर्वाचन क्षेत्रमा बसेर तयारी गरिरहेका हुन् ।

राष्ट्रिय जनमोर्चाको प्रभाव बाँकी रहेको प्युठानबाटै वामदेव गौतमले पनि चुनाव लड्ने तयारी गरेका छन् । 

अखिलका निवर्तमान अध्यक्ष ऐन महरले पनि बझाङबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । अखिलका पूर्वअध्यक्ष माधव ढुंगेलले टिकट पाएमा रामेछापबाट चुनाव लड्ने तयारी गरेका छन् । यस्तै केन्द्रीय सदस्य निरज आचार्यले जाजरकोटबाट चुनाव लड्ने गृहकार्य गरिरहेका छन् । 

यसअघि समानुपातिकबाट सांसद बनेकी अखिलकी पूर्वअध्यक्ष नवीना लामा पनि टिकट पाएमा काभ्रेबाट चुनाव लड्ने तयारीमा छिन् । 

माओवादीमा दबाब बढाउँदै युवा

कांग्रेससँगको चुनावी तालमेलमा माओवादीले ४५ देखि ४८ सीट पाउने सम्भावना छ । यसअघि चुनाव जितेका ३६ मध्ये कम्तिमा ३० जनाले दोहोर्‍याएर टिकट पाउने सम्भावना रहेकाले थोरै मात्र फ्रेस उम्मेदवारले टिकट पाउने सम्भावना रहेको माओवादी नेताहरू बताउँछन् । 

माओवादी भ्रातृ संगठन अखिलका पूर्वअध्यक्ष रञ्जित तामाङले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने गृहकार्य गरिरहेका छन् ।

उनले झापाको कुनै क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका माओवादी स्रोतले बतायो । तामाङले केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट चुनाव लड्ने बताउँदै आएका छन् ।

‘झापाको ट्रेन्ड हेर्नुभयो भने यहाँका जनता हरेकपटक अग्रगमन र परिवर्तनको पक्षमा उभिएका छन्,’ निर्वाचन क्षेत्रमा रहेका तामाङले लोकान्तरसँग भने, ‘यसपटक पनि झापाली जनताले चमत्कार गर्नेवाला छन् ।’

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल यसपटक सल्यानबाट प्रत्यक्ष चुनाव लड्ने गृहकार्यमा लागेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव समेत रहेका मल्लले सल्यानबाट चुनाव लड्ने तयारी गरेका हुन् । २०७४ सालको प्रतिनिधि सभा चुनावमा सल्यान माओवादीले जितेको थियो । प्रचण्ड स्वयंले पनि मल्ललाई चुनाव जिताएर ल्याउन खोजेको चर्चा छ ।

अखिलका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने पनि चुनावी प्रतिस्पर्धाका लागि गृहकार्य गरिरहेका छन् । उनी गोरखाका हुन् ।

विद्यार्थी राजनीति गरेका रामजीत आचार्यले जाजरकोट र युवराज चौलागाईंले रामेछापबाट चुनाव लड्ने गृहकार्य गरिरहेका छन् । 

माओवादीनिटक युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)का पूर्व अध्यक्ष रहेका रामप्रसाद सापकोटा दीपशिखाले भक्तपुरबाट प्रत्यक्षतर्फ चुनाव लड्न कोशिश गरिरहेका छन् ।

गठबन्धनमा चुनावी तालमेल गर्दा माओवादीले भक्तपुर २ मा दाबी गरिरहेको माओवादी स्रोतले बतायो । टिकट पाएमा नेकपा एमालेका नेता महेश बस्नेतसँग प्रतिष्पर्धा गर्ने तयारीमा दीपशिखा छन् ।

वाईसीएलका अहिलेका अध्यक्ष सुवोध श्रीपाइलीले पनि रुकुम पूर्वबाट प्रत्यक्षतर्फ टिकटका लागि दाबी गरेका छन् । रुकुम पूर्वबाट यसअघि कमला रोका विजयी भएकी थिइन् ।

वाईसीएल अध्यक्ष श्रीपाइलीले समेत दाबी गरेपछि रुकुम पूर्वमा टिकट मिलाउन माओवादीलाई सकस परेको छ । 

माओवादी केन्द्रीय सदस्य निर्मल आचार्यले दाङबाट चुनाव लड्ने गृहकार्य गरिरहेका छन् । यसअघि कृष्णबहादुर महराले चुनाव जितेको दाङ– २ बाट चुनाव लड्नका लागि आचार्यले टिकट दाबी गरिरहेको माओवादी लुम्बिनी प्रदेश कमिटीका एक नेताले बताए । आचार्य माओवादीका पूर्व महासचिव पोष्टबहादुर बोगटीका ज्वाइँ हुन् ।

अर्घाखाँचीबाट ठाकुर विक, गुल्मीमा बुद्धि जिसी, प्युठानमा कृष्ण अधिकारी र बर्दियामा दुर्गाबहादुर थारुले पनि चुनाव लड्ने आकांक्षा राखेका छन् ।

बारबर्दिया नगरपालिकाका पूर्वमेयर समेत रहेका थारुले केन्द्र या प्रदेशको टिकट पाउने सम्भावना रहेको माओवादी लुम्बिनी प्रदेश कमिटीका एक नेताले बताए ।

रवि लामिछाने, मानुषीदेखि दीपेन्द्र झासम्म

साना दलका तर्फबाट पनि केही युवाले प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरेका छन् । नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमीले काठमाडौं– ७ बाट चुनाव लड्ने तयारी गरेकी छिन् ।

गोलाकारभित्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्ने तयारी गरेकी मानुषीलाई नेपाल समाजवादी पार्टीले काठमाडौं– ७ बाट उम्मेदवार बनाउने तयारी गरेको हो । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यसअघि आमा निर्वाचित भएको काठमाडौं– ७ बाट चुनाव लड्ने भन्दै तयारीमा लागेकी छिन् । 

नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरेका छन् । उनी रुपन्देहीको कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

सके संघमा नभए प्रदेशमा भएपनि चुनाव लड्ने उनको तयारी छ । 

अधिवक्ता दीपेन्द्र झाले जनता समाजवादी पार्टीका तर्फबाट चुनाव लड्ने तयारी गरेका छन् ।

मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता समेत रहेका झा महोत्तरी ३ बाट चुनाव लड्ने तयारीमा लागेका हुन् । यो क्षेत्र महन्थ ठाकुरले चुनाव जितेको ठाउँ हो ।

‘अध्यक्ष उपेन्द्र यादवले दीपेन्द्र झालाई महोत्तरी ३ बाट चुनाव लड्नका लागि तयारी गर्न आग्रह गर्नुभएको छ, गठबन्धनमा सीट मिल्यो भने उहाँ महोत्तरी ३ बाटै चुनाव लड्नुहुन्छ,’ जसपा स्रोतले लोकान्तरसँग भन्यो ।  

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने गृहकार्य गरेका छन् । उनले अहिलेसम्म कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने खुलासा गरेका छैनन् ।

‘हेभीवेट’ नेताको क्षेत्रबाट चुनाव लड्ने योजना रहेको रविनिकट स्रोतले बतायो । संगठन नै बनिनसकेकाले कुन क्षेत्रबाट चुनाव लड्ने भन्नेमा रवि अन्योलमा छन् ।

कतिपयले उनी समानुपातिकमा बस्ने पनि अनुमान गरिरहेका छन् । 

नेकपा एसको विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले पनि चुनाव लड्ने गृहकार्य गरिरहेका छन् । उनी काठमाडौं–५ बाट प्रत्यक्षमा उठ्ने तयारीमा छन् ।

काठमाडौं– ५ मा यसअघि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । 

टिकट दाबी गर्ने युवा नेताहरूको संख्या उल्लेख्य भए पनि टिकट फुत्काउन निकै मुस्किल छ ।

माथि उल्लेख गरिएका मध्ये केहीले टिकट पाउने र अधिकांश प्रदेश वा अन्य कुनै विकल्पमा खुम्चिनुपर्ने अवस्था पनि आउन सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्