
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा भएसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ । यसैक्रममा विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताले निर्वाचन केन्द्रित कार्यक्रम गरिरहेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बागमती प्रदेशसभा सांसद इन्द्रबहादुर बानियाँले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको मनहरी गाउँपालिका–४, ५ र ६ का ५०० विपन्न परिवारलाई १ बोरा चामल र १ पोका मस्यौरा वितरण गरेको तस्वीर उनका सचिवालयमा रहेका मिलन पुडासैनीले सार्वजनिक गरेका छन् ।
नेता बानियाँले मनहरी गाउँपालिका–४, ५ र ६ वडा अन्तर्गत पर्ने नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँबस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, वनकरिया तथा तामाङ समुदायका गरीब, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । उनले खाद्यान्न वितरण गर्दै कांग्रेस जनताको पार्टी रहेको भन्दै आगामी चुनावमा आफ्नो चिह्नमा भोट हाल्न आह्वान गरेपछि सामाजिक सञ्जाल फेसबूकमा आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा नेता बानियाँलाई प्रश्न गरिएको छ, ‘नेताले चामल मात्रै बाँड्ने हो कि चामल किन्न सक्ने बनाउने हो ? जनताको जीवनस्तर सुधार्ने योजना छैन ? ५ वर्ष मुख्यमन्त्री बन्न दौडधूप गर्ने, अहिले दानी बन्ने ? राक्सिराङ गाउँपालिका–४ र ५ को सीमानामा रहेको परेवा भीरको बाटो कहिले बन्छ ?’
बानियाँ गत निर्वाचनमा १ नम्बर क्षेत्रमा राप्रपा अध्यक्ष कमल थापाका लागि प्रतिनिधि सभा सिट छाड्दै २ नम्बर क्षेत्रतर्फ प्रदेश सभामा उम्मेदवार बनेका थिए । २ नम्बर क्षेत्रअन्तर्गत थाहा नगरपालिका, मनहरी, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकासहित हेटौंडा उपमहानगरपालिको पश्चिम तर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाका उत्तर तर्फका ५, ६, ७, ८ नम्बर वडा पर्दछन् ।