०५ असार २०८३, शुक्रबार

‘राधा’ फिल्मको प्रिमियर, उत्साहित सौगात–सृष्टि [फोटोफिचर]

भदौ १०, २०७९
‘राधा’ फिल्मको प्रिमियर, उत्साहित सौगात–सृष्टि [फोटोफिचर]

शुक्रबारदेखि प्रदर्शनमा आएको सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘राधा’को बिहीबार बेलुका राजधानीमा प्रिमियर शो गरिएको छ । बानेश्वरस्थित आइप्लेक्स मलको ‘वान सिनेमाज’मा गरिएको प्रिमियरमा ‘राधा’ टीमसँगै अन्य चलचित्रकर्मी, सञ्चारकर्मीहरूले चलचित्र हेरेका छन् । 

‘राधा’ हेर्न शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘प्रकाश’को टिम वान सिनेमाज पुगेको थियो । ‘प्रकाश’ अभिनेत्रीद्वय दीया मास्के र रेणु योगीले ‘राधा’ आफूहरूलाई एकदमै मन परेको बताउँदै शुभकामना दिए । 

यता, अर्को शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’का अभिनेता–अभिनेत्री पनि प्रिमियरमा पुगेका थिए । अभिनेत्री पूजा शर्मा र डेब्यू अभिनेता सोनम तोप्देनले ‘राधा’ चलचित्र हेरेका छन् । 

चलचित्र हेरेपछि पूजाले सृष्टि श्रेष्ठको निकै प्रशंशा गरिन् । अभिनेता विनय श्रेष्ठले चलचित्र हेर्दा आफू इमोशनल भएको प्रतिक्रिया दिए । उनले अग्र्यानिक चलचित्र बनेको बताए । 

अनुप बराल, कुमार नगरकोटी, विप्लव प्रतिकलगायतले समेत चलचित्र हेरेका थिए । अधिकांशले चलचित्रको कथा, प्रस्तुति, अभिनय सबै राम्रो रहेको बताए । सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’मा स्टार कलाकारहरूको भीड छ । 

सृष्टिका साथमा खगेन्द्र लामिछाने, सौगात मल्ल, दिव्य देव, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, सुनिल पोखरेललगायतको चलचित्रमा अभिनय छ । 

प्रिमियरपश्चात सकारात्मक प्रतिक्रियाले एकदमै खुशी रहेको अभिनेत्री सृष्टिले बताइन् । ‘एकदमै खुशी छु । मेरो निर्देशक निर्देशक सुवर्ण दाईलाई एकदमै धन्यवाद भन्न चाहान्छु । कि मेरो लाइफमा राधा लिएर आइदिनुभएकोमा । राधाजस्तो कथा बनाइदिनुभएकोमा’, सृष्टिले भनिन् । उनले ‘राधा’ चलचित्रपश्चात आफूले धेरै कुरा सिकेको समेत बताइन् । 

राधामार्फत अभिनेता सौगातले निर्माणमा समेत हात हालेका छन् । चलचित्रमा उनीसँगै देवकी बिष्ट, विक्रम दास जोशीको समेत लगानी छ । प्रिमियरमा बोल्दै सौगातले आफूलाई मनपर्ने तर नदेखिरहेको विषयवस्तुलाई अगाडि सानुपर्छ भन्ने लागेर ‘राधा’ निर्माण गरेको बताए । 

निर्देशक सुवर्णले ‘राधा’ आफ्नो ७ वर्षदेखिको सोँच रहेको बताउँदै चलचित्र प्रदर्शनलाई लिएर एकदमै उत्साहित रहेको बताए । ‘राधा’ नारीप्रधान चलचित्र हो । एक विवाहित महिलाले घरमा श्रीमान नहुँदा गर्ने संघर्षको कथा चलचित्रले पेश गर्छ ।


तस्वीरहरूः विश्वास खनाल
 

salt training

कमेन्ट गर्नुहोस्