०२ असार २०८३, मंगलबार

फेरिँदै तीज मनाउने प्रवृत्ति : रमाउने शैली एकातिर, गीतको भाव अर्कैतिर !

भदौ १४, २०७९
फेरिँदै तीज मनाउने प्रवृत्ति : रमाउने शैली एकातिर, गीतको भाव अर्कैतिर !
प्रतिकात्मक तस्वीर

बजारका चोक, खुल्ला चौर, गाउँका चौतारी, बगैचा, घरका आँगनमा नाचिने गाउने तीज हिजोआज भने होटल तथा रेष्टुरेन्टमा रौनकता बढेको छ । दैनिक समूहमा दरखान जानेको रमझम छ ।

तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घरआँगन अहिले सुनसान जस्तै बनेका छन् । 

पार्टी प्यालेस, रेष्टुरेन्ट, होटल व्यावसायीलाई दर खुवाउन तीजका बेला भ्याइँनभ्याइँ छ । नयाँ पहिरनमा सजिएर आमा समूह, महिला समूह तथा विभिन्न समूहमार्फत दरखाने र रमाउनेको जमात बढ्दो छ । यस परिवेशले शहर बजारमा मात्रै होइन, ग्रामीण भेगमा पनि छोइसकेको छ ।

स्थानीय सरस्वती सोमले विगतका वर्षमा तीजका बेला गाउँमै महिला जम्मा भएर खाने गरेको दर यसपटक भने पार्टी प्यालेसमा समूहमा मनाएको बताइन् । ‘चर्को घाममा खाना पकाउन झन्झट गर्नु परेन, होटलमा तयारी अवस्थामा रहेका खानेकुरा खाने, समय अनुसार आएको सुखसुविधा उपभोग गर्नुपर्‍यो, साथीहरूसँग मज्जाले नाच्न गाउन पाइयो,’ उनले भनिन् ।

गाउँका चौतारी, प्रतिक्षालय र आमा तथा महिला समूहका भवनमा दरका परिकार तयार पारेर रमाइलोसँगै एकआपसमा शुभकामना आदानप्रदान गर्दै समूहमा तीज मनाइन्थ्यो । स्थानीय सीता देवकोटाले ठूला शहर बजारमा मात्र होइन, साना शहर बजारका होटल, रेष्टुरेन्टमा दरखानेको भीड देखिन्छ । पर्व मनाउने क्रममा पछिल्लो समय अरुको देखावटी प्रवृत्ति बढेको बताइन् ।

उनले भनिन्, ‘बजारका ठूला र महंगा होटल भरिभराउँ भएका छन्, पहिला तीजका गीत गुञ्जने चौतारी, पौवा, बगैचा यतिबेला सुनसानमय बनेका छन्, गाउँमा पकाएर खाने अल्छी प्रवृत्ति र अर्काको देखासिकीले गर्दा चाडपर्व भड्किलो बन्दै गयो ।’ 

पार्टी प्यालेसमा गएर तीजमा महिलाले दुःख र वेदनाका गीतमा नृत्य प्रस्तुत गर्दा ठाउँ र परिवेश अनुसार सुहाउँदो नभएको अहिले धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । विशेषगरी गायिका विष्णु माझीको चरी जेलैमा बोलको गीतले निकै चर्चा पाएको छ । 

सामाजिक सञ्जालमा होटल तथा रेष्टुरेन्टमा महंगा लत्तापडा, गरगहनामा सजिएर दर खादै महिलाहरूले ‘जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुदै रुदै बेसी मेलैमा’ बोलको गीतमा नृत्य गर्दा गीतको मर्म अनुसार उचित नभएको धेरैको टिप्पणी छ । गाउँकै चौतारी, बगैचाको शीतल छाहारीमा महिला जम्मा भएर पकाउने, खाने, गाउँने नाच्ने गर्दा छुट्टै आनन्द आउने गरेको अर्का स्थानीय कुन्तादेवी गैरेले बताइन् ।

‘समूहमा साथीहरू मिलेर पकाउने, खाने गर्दा माइती जान नपाएपनि मन भुलाउँछ, एकआपसमा आफ्ना दुःखसुख साथीलाई सुनाउन पाइयो, आजकल त होटलमा गएर खाने नाच्ने चलन बढ्यो, यो प्रवृत्तीले विकृति ल्यायो समाजमा,’ उनले भनिन् ।

२ वर्ष कोभिड–१९ को प्रभावले घरभित्रै मनाइएको तीज यसवर्ष कोरोनाको सहज परिस्थिति बनेपछि भने तीजको चहलपहल बढेको नमस्ते पाल्पा होटल तथा रेष्टुरेन्टका सञ्चालक कमल पाण्डेय बताए ।

‘समूहमा एकैथरका पोशाकमा पूराना गीत आफैंले गाएर नाच्ने गर्नुहुन्छ, केही आफ्नो इच्छाअनुसार युट्युव, मेमोरी कार्डमा नाचेर तीज मनाउनुभएको छ, पार्टी प्यालेस भएपनि महिला सामान्य तरिकाले गाउँघरमा जसरी मनाउनुहुन्थ्यो, यसरी नै दर खाने र साथीहरूसँग शुभकामना आदानप्रदान गर्नुहुन्छ, हामीले पनि न्युनतम शुल्क लिएर सेवा दिइरहेका छौं,’ उनले भने ।

शनिवार र बिदाका दिन २५० जनासम्म र अन्य दिन कम मात्रामा आउने गरेका उनको भनाइ छ । न्यूनतम ६०० देखि बढीमा १ हजार रुपैयाँ शुल्क कायम गरिएको जनाइएको छ । विभिन्न काम तथा पेशा व्यवसायमा आबद्ध रहेका महिलालाई सामूहिक रूपमा दर खाने कार्यक्रममा सहभागी हुने अवसर मिल्दैन । कार्यालय समय सकिएपछि, दिनभर व्यापार गरेर साँझपख होटलमा साथी, दिदीबहिनी, आफन्त जम्मा भएर नाच्ने गाउने एउटा अवसर मिलेको सागर श्रेष्ठ बताउँछन् ।

होटल तथा रेष्टुरेन्टमा दर खान जाँदैमा विकृति नै हो भनेर भन्न नमिल्ने र कामको व्यस्तताले गर्दा समय अनुसार चलनचल्तीमा आएका सुखसुविधा उपयोग गर्नुपर्ने उनको भनाइ छ । – सुशीला रेग्मी/रासस

salt training

कमेन्ट गर्नुहोस्