१६ असार २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

कुलमानदेखि स्वर्णिम वाग्लेसम्म– जो उत्रिँदैछन् मंसिर ४ को चुनावी ब्याटलमा

भदौ १९, २०७९
कुलमानदेखि स्वर्णिम वाग्लेसम्म– जो उत्रिँदैछन् मंसिर ४ को चुनावी ब्याटलमा

काठमाडौं १३ भदौमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, बालेनले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने पात्रको खोजी भइरहेको छ ।

आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बनाउने व्यक्तिका बारेका प्रचण्डले त्यसो भनेका थिए ।

पुराना नेताहरूलाई चुनावमा उम्मेदवार बनाउन जित्न सहज नरहेको बुझाइ राजनीतिक नेतृत्वमा परेको आभाष प्रचण्डको अभिव्यक्तिमा झल्किन्थ्यो । 

हुन त काठमाडौं उपत्यकामा माओवादी केन्द्रको उपस्थिति कमजोर छ । प्रचण्ड स्वयंले सार्वजनिकरूपमा यो तथ्य स्वीकार गरेका छन् ।

मत संख्याको हिसाबले कमजोर उपस्थिति रहेको क्षेत्रमा चुनावमा जित्नका लागि पनि उनले मतदाताको सेन्टिमेन्ट बटुल्न सक्ने पात्रको खोजी गरेका हुन सक्छन् । 

त्यसदिन प्रचण्डले भनेका थिए, ‘चुनावी रिजल्ट निकाल्न उम्मेदवार पनि नयाँ–नयाँ ल्याउनुपर्ने अवस्था छ । चलखेल गरेकाले जित्ने स्थिति त्यति देखिएन ।

निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो । बालेनले केले जित्यो, सेन्टिमेन्टले जित्यो । हामीले पनि बालेन भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

यसको अर्थ काठमाडौंमा उम्मेदवार बनाउन प्रचण्डले राजनीतिक भन्दा बाहिरको तर जनताको मन जित्न सक्ने उम्मेदवार खोजिरहेका छन् भन्ने प्रस्ट हुन्छ । 

प्रचण्डको यो अभिव्यक्ति सार्वजनिक भएपछि धेरैले माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउन लागेको चर्चा गरेका छन् ।

घिसिङ तिनै व्यक्ति हुन्, जसले नेपाललाई लोडसेडिङमुक्त गराएर अहिले भारतलाई बिजुली बेचिरहेका छन् । 

नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने बाटोमा लगेको भनेर जनताले कुलमानको प्रशंसा गर्छन् । 

पहिलो कार्यकालमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए ।

कार्यकाल सकेर अवकाश भएका घिसिङलाई पम्फा भुसाल ऊर्जा मन्त्री भएपछि फेरि प्राधिकरणको नेतृत्वमा फर्काइएको थियो । 

त्यसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि साथ थियो । अहिले उनै कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वबाट हटाएर माओवादी केन्द्रले चुनावी मैदानमा लैजान लागेको चर्चा हुने गरेको छ ।

यद्यपि, घिसिङले भने चुनावमा उम्मेदवार बन्न जानेबारे आफूले निर्णय गरिनसकेको बताउने गरेका छन् । 

माओवादी केन्द्रको पदाधिकारी तहका एक नेताका अनुसार घिसिङ आगामी चुनावमा काठमाडौं क्षेत्र नम्बर– ३ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्न सक्ने सम्भावना छ । 

‘उनी आफ्नो क्षमता देखाएर आफूलाई प्रमाणित गरिसकेका व्यक्ति हुन् । उनले चुनाव लड्न चाहेको खण्डमा पार्टीले उम्मेदवार बनाउन धेरै सोचिरहनुपर्ने विषय होइन’, ती नेताले भने । 

आगामी चुनावमा घिसिङ उम्मेदवार बने भने राजनीतिभन्दा बाहिरबाट सक्रिय राजनीतिमा आउने नयाँ पात्र बन्नेछन् । 

राजनीतिकरूपले विभिन्न पार्टीसँग जोडिएका तर, सक्रिय राजनीतिमा नरहेका व्यक्तिहरू यसपटकको चुनावबाट सक्रिय राजनीतिमा आउन चाहिरहेका छन् ।  

विकृत राजनीतिबाट दिक्क भएका केही व्यक्तिहरू नयाँ विकल्पकोरूपमा स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा आएका छन् ।

सञ्चार क्षेत्रमा काम गरिरहेका रवि लामिछानेले नयाँ पार्टी नै खोलेर चुनावी मैदानमा आएका छन् ।

सामाजिक अभियन्ताको रूपमा काम गरिरहेका व्यक्तिहरू सुमन सायमी, पुकार बम, पूर्व सञ्चारकर्मी हरिहरण लामिछाने चुनावी मैदानमा आउने बताइरहेका छन् । 

कलाकारिता पृष्ठभूमिबाट ख्याती कमाएका मधुसुधन पाठक ‘सीते बा’ पनि स्वतन्त्र अभियानमार्फत् चुनावी मैदानमा होमिएका छन् ।

काठमाडौंको क्षेत्र नम्बर– ५ बाट चुनाव जितेर सक्रिय राजनीतिमा आउने चाहना उनले व्यक्त गरिरहेका छन् । 

लेखक तथा विश्लेषक युग पाठक पनि यसपटक चुनावी मैदानमार्फत सक्रिय राजनीतिमा आउने गरी तयारी गरिरहेका छन् ।

उनले झापाको क्षेत्र नम्बर– ५ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । झापा क्षेत्र नम्बर– ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

अहिले राजनीतिलाई दक्षिणपन्थी धारमा लैजान ओलीको भूमिका रहेको र उनलाई त्यहाँ चुनावमा पराजित गर्नका लागि आफूले उम्मेदवारी दिएको पाठकले बताउने गरेका छन् ।

त्यतिमात्रै होइन, विश्व बैंक र त्यसअन्तर्गतका निकायमा लामो समय काम गरेका र अन्तर्राष्ट्रिय छवि बनाएका अर्थशास्त्र पृष्ठभूमिका व्यक्तिहरू पनि यसपटक चुनावी मैदानमार्फत सक्रिय राजनीतिमा आउन चाहिरहेका छन् । 

त्यसमध्येका एक हुन्, डा. स्वर्णिम वाग्ले । नेपाली कांग्रेससँग निकट रहेका उनी सुशील कोइराला प्रधानमन्त्री रहेका बेलामा योजना आयोगको सदस्य बने । 

योजना आयोगको सदस्य बन्नका लागि उनी विश्व बैंकको जागिर छाडेर आएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री रहेको बेला २०७४ साउनमा वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।

उनले आगामी चुनावमा उम्मेदवार बन्नका लागि चितवन कांग्रेसको क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिमा निवेदन दिएका थिए ।

उनलाई क्षेत्रीय समितिले उम्मेदवार बनाउन जिल्ला कार्यसमितिमा सिफारिश गरेको छ । वाग्लेले चितवनबाट चुनाव लड्ने पहिल्यैदेखिको रूचि भएको बताउने गरेका छन् । 

यसअघि चुनावमा प्रतिस्पर्धा गरेको अनुभव वाग्लेसँग छैन । योजना आयोगमा दुईपटकको राजनीतिक नियुक्तिबाहेक वाग्लेले अन्य निकायमा राजकीय भूमिकामा काम गरेका छैनन् । बरू अर्थशास्त्रीकोरूपमा विश्व बैंकको विभिन्न निकायमा रहेर काम गरेको अनुभव उनीसँग छ ।  

कुनैबेला वाग्लेका लगौंटी थिए, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल । तर, पौडेल योजना आयोगको उपाध्यक्ष बन्नेक्रममा वाग्ले र पौडेलबीचको सम्बन्धमा दरार आएको कांग्रेस वृत्तमा चर्चा छ । 

योजना आयोगको उपाध्यक्ष रहेका पौडेलले पनि चितवन– १ बाटै चुनाव लड्ने आकांक्षा राखेर निवेदन दिएका थिए । उनलाई पनि क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका रूपमा सिफारिश गरेको छ ।

शुरूमा चीनमा र पछि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि र स्रोत अर्थशास्त्रमा पौडेलले विद्यावारिधि गरेका छन् । अध्ययन सकेर नेपाल फर्किएपछि पौडेलले काठमाडौं विश्वविद्यालयमा केही समय अध्यापन गरेका थिए भने केही समय एमसीसीमा जागिरेको रूपमा समेत काम गरेका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा पौडेलको पहिलो राजनीतिक नियुक्ति हो । अब भने उनले चुनावी मैदानबाट पूर्णकालीन राजनीतिमा आउने इच्छा व्यक्त गरेका छन् ।

आगामी चुनावबाट पूर्णकालीन राजनीतिमा आउने रूचीसहित उम्मेदवार बन्नका लागि निवेदन दिएका अर्का व्यक्ति हुन्, राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल ।

यसअघि नेपाली कांग्रेसका विभिन्न समितिमा बसेर काम गरेका नेपाल सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार बनेका थिए । त्यसअघि उनी अर्थमन्त्रालयका आर्थिक सल्लाहकार पनि बनेका थिए ।

पाल्पामा जन्मिएका नेपाल शुरूमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिए । डा. नेपाल पाल्पा जिल्लामा नेपाल विद्यार्थी संघको संस्थापक सभापति समेत हुन् ।

उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट म्याक्रो इकोनोमिक्समा विद्यावारिधि गरेका छन् ।

नेपाली कांग्रेससँग निकट रहेर राजनीतिक नियुक्ति खाइरहेका नेपालले आगामी चुनावबाट सांसद बन्ने रूचिसहित उम्मेदवार सिफारिश गरिदिन निवेदन हालेका थिए ।

पाल्पा क्षेत्र नम्बर २ को कांग्रेस क्षेत्रीय कार्यसमितिले डा. नेपाललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिश गरेको छ । उनी अहिले गृहजिल्ला पाल्पा पुगेर स्थानीय स्तरमा राजनीतिक काम खटिरहेका छन् । 

स्थानीय समितिले उनीहरूको नाम सम्भावित उम्मेदवारका लागि सिफारिश गरेको भए पनि उनीहरूले टिकट पाउने वा नपाउने यकिन भइसकेको छैन ।

केन्द्रीय समितिको निर्णयका आधारमा उनीहरूले टिकट पाउने वा नपाउने निर्क्यौल हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्