
युनाइटेड सिमेन्ट्स प्रालिले धादिङको धुनीबेंसी नगरपालिका वडा नं. ९ को कार्यालयलाई कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण गरेको छ । युनाइटेड सिमेन्ट्सले बुधवार वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको हो ।
वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धुनीबेंसी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती, वडा न. ९ का अध्यक्ष माधवप्रसाद सिलवाल, भूतपूर्व वडाध्यक्ष साहिला राई तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
युनाइटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वडा कार्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतमा पनि शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रमा समाजलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको बताए । उनले उक्त वडा कार्यालयको रोहबरमा परिचालन हुनेगरी केही वर्ष पहिले एम्बुलेन्स हस्तान्तरण गरेको, स्वास्थ्य चौकी स्थापनाका निम्ति जग्गा उपलब्ध गराएको जानकारी गराए । उनले विभिन्न सामुदायिक विद्यालयहरूमा शैक्षिक सामग्री हस्तान्तरण गरेको बताए ।

वडाध्यक्ष माधव सिलवालले युनाइटेड सिमेन्ट्सको यो कार्यको प्रशंसा गर्दै उक्त सिलाई मेसिनले धेरै महिलालाई आत्मनिर्भर बनाइने बताए ।
ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिङमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले विगत ७ वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । युनाइटेड सिमेन्ट्सले बहन गर्नुपर्ने संस्थागत सामाजिक उतरदायित्व यथासक्दो बहन गरेको जानकारी दिँदै कम्पनीले आगामी दिनमा स्थानीयवासीको हितमा विभिन्न क्रियाकलाप गर्दै जाने प्रतिबद्धता जनाएको छ ।