
काभ्रेपलान्चोक जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको संक्रमण बढ्दै गएको छ । चार दिनअघि ४२ संक्रमित रहेको काभ्रेमा दोब्बर अर्थात ८० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
गत असार दोस्रोसाता पाँचखाल नगरपालिकामा पहिलोपटक देखिएको डेंगुको संक्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भइसकेको छ । ‘चार दिनको अवधिमा शतप्रतिशत संक्रमित बढेका छन्, यो गति केही हप्ता रहनसक्छ’, कार्यालय प्रमुख डा.पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार संक्रमितमध्ये महिला र पुरुषको संख्या बराबर नै छ । खानीखोला र महाभारत गाउँपालिकामा भने हालसम्म संक्रमण देखिएको छैन ।
समयमै उपचार पाउने संक्रमितलाई करिब पाँचदेखि सात दिनपछि निको हुने दर पनि बढिरहेकाले जिल्लाका ११ स्थानीय तहमा संक्रमण तीव्र रूपमा बढेको घटनाक्रमले देखाएको कार्यालय प्रमुख डा.सेढाईंले बताए । उनले भने, ‘वर्षा भइरहेकाले लामखुट्टे अझै रहन्छ, यसकारण स्थानीयस्तरमा विशेष सावधानी अपनाउन सचेतना गराइएको छ ।’ उनका अनुसार संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखामार्फत सम्भावित क्षेत्रमा रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियानमा रहेको जनाएको छ । यसैक्रममा सबै स्थानीय तहले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए । अभियानमा स्थानीयस्तरका विद्यार्थीलाईसमेत परिचालन गरिएको जनाइएको छ ।
अधिक संक्रमित भएको स्थान तथा नयाँ स्थानमा प्रयोगशालाद्वारा नै परीक्षण गर्दै आइएको छ । डेंगु रोगविरुद्धको खोप नभएका कारण ‘सर्च एण्ड डिस्ट्रोय’नै प्रमुख उपाय रहेको डा सेढाईंले बताए । उनका अनुसार काभ्रे डेंगु रोगको निकै जोखिमयुक्त जिल्ला हो । यसकारण डेंगुको संक्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले स्थानीयस्तरका ‘¥यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिरहेका हुन् ।
तीन वर्षपछि पाँचखालमा पहिलो डेंगुको संक्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको थियो । जिल्लामा यसअघि विसं २०७६ भदौमा छ जनामा डेंगु संक्रमण देखिएको थियो ।
लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।