
दशैं नजिकिएसँगै सूर्यविनायक नगरपालिकाले मंगलवारदेखि नगर क्षेत्रभित्रका खाद्य पसल, फलफूल पसल, मासु, किराना पसलको अनुगमन अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको नेतृत्वमा मंगलवारदेखि शुरु भएको बजार अनुगमनको पहिलो दिन करिब रु १६ हजार तीन सय ३२ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । अनुगमनमा सूर्यविनायक–८ को सबल भक्तपुर प्रालिबाट म्याद नाघेको नौ हजार आठ सय ६५ मूल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ ।
अनुगमन टोलीले सूनपा–६ स्थित सूर्यविनायक मिनी मार्टमा रु पाँच हजार चार सय ९५ बराबरको अखाद्य सामान बरामद गरी नष्ट गरेको, सूनपा–८ स्थित ब्रदर्श फ्रुड एण्ड जुस सेन्टर, सूनपा–८ कै जय मिट सप, सूनपा–६ को अर्पण मिट सप, सूनपा–कै बिजु न्हुच्छे फ्रुट एण्ड जुसमा अनुगमन गरेको छ ।
उपप्रमुख भट्टराईले चाडबाड नजिकिएसँगै बजारमा अनावश्यकरुपमा महँगी वृद्धि गर्ने, एउटै सामानको पसलैपिच्छे मूल्य वृद्धि गरी उपभोक्तालाई मार पार्ने, म्याद गुज्रेका अखाद्य वस्तु बिक्री गर्ने, मूल्य सूची नराख्ने, ढक तराजुमै ठगी गर्ने अवस्था रोक्न बजार अनुगमन शुरु गरेको बताइन् ।
अनुगमनको क्रममा अधिकांश पसलमा फर्म दर्ता, नवीकरण एवं सूचीकरण नगरेको, मूल्यसूची नराखेको, किराना पसलमै मदिरा बिक्री गरिरहेको, म्याद नाघेको खाद्य सामानलाई छुट्टै नराखी बिक्री कक्षमै राखेका, पाइएको, अनुमति नलिई ढक तराजुको प्रयोग गरेको, मासु पसल फोहोर रहेको, फ्रिज अत्यन्तै फोहोर रहेको, प्याकेजिङ गरिएका सामानमा उत्पादन र उपभोग्य मिति नराखेको, तत्काल नियम सङ्गत व्यवस्था गर्न निर्देशन दिएको सनपा अनुगमन समितिका सदस्य सचिव सुरज पौडेलले जानकारी दिए । रासस