थप वातावरणमैत्री सञ्चालनतर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ । कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ । जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ ।
विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पु¥याउन विद्युतीय बाइकको प्रयोग गरिने छ ।
यस नयाँ पहलमार्फत, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने ‘क्लिन एण्ड ग्रिन’ बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ । साथै, कम्पनीले दुई र चार पांग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ ।
दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, ‘यो दराजमा दिगो तथा वातावरण मैत्री सञ्चालन तिरको थप एक कदम हो । हाम्रा डेलिभरी सवारी साधनहरूमा १० वटा विद्युतीय स्कुटरहरू थपिएका छन् ।’
उनले दराजले सधैं वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्न कोसिस गरिरहेको जानकारी दिइन् । ‘हामी हाम्रो प्याकेजिङ्गको लगभग ८० प्रतिशतको लागि पुनः प्रयोग गरिएको कागज प्रयोग गर्दछौँ र पूर्ण रूपमा कागजविहीन जाने प्रयास गर्दैछौँ । हामीले हाम्रो थसिखेल हबमा रेन वाटर हार्वेस्टिङ प्रणाली पनि लागू गरिरहेका छौँ । हामीले नागार्जुनको सामुदायिक वनमा ४ सय बढी रूखहरू पनि रोपेका छौँ’, उनले भनिन् ।
सेप्टेम्बर २३ मा दराजको थसिखेल हबमा आयोजित कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीको गोपी कृष्ण, सोल्टीमोड र थसिखेल हबका डेलिभरी हिरोहरूलाई विद्युतीय बाइकको साँचो हस्तान्तरण गरिन् ।