२५ असार २०८३, बिहीबार

जीओ अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रूपैयाँ ईएमआईमा एमजी कमेट ईभी किन्न सकिने

असार २५, २०८३
काठमाडौं
जीओ अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रूपैयाँ ईएमआईमा एमजी कमेट ईभी किन्न सकिने

गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ अटोमोबाइल्स प्रालिले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा स्मार्ट विद्युतीय कार एमजी कमेट ईभी खरिदलाई थप सहज बनाउने उद्देश्यले नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार अब एमजी कमेट ईभी दैनिक ५२० रूपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रूपैयाँको किस्तामा आफ्नै बनाउन सकिनेछ । यो रकम दैनिक ट्याक्सी बुकिङ वा व्यक्तिगत चालक राख्ने खर्चभन्दा पनि कम पर्ने कम्पनीको दाबी छ ।

जीओ अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारीसाधन खरिदलाई ठूलो आर्थिक निर्णयका रूपमा होइन, सहज जीवनशैलीको स्वाभाविक रोजाइका रूपमा स्थापित गर्ने उद्देश्यले यो योजना ल्याइएको बताएका छन् । 

उनले भने, ‘विद्युतीय सवारी खरिद गर्नु ठूलो आर्थिक बोझ जस्तो महसुस हुनु हुँदैन । एमजी कमेट ईभी अब दैनिक ५२० रूपैयाँको किस्तामा उपलब्ध भएपछि ग्राहकको सबैभन्दा ठूलो अन्योल हट्नेछ । नेपालका साँघुरा सडक, शहरी जीवनशैली र इन्धन खर्च बचत गर्न चाहने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर यो गाडी तयार गरिएको हो । यसले शैली र आराममा कुनै सम्झौता नगरी स्मार्ट र दिगो यात्राको अनुभव प्रदान गर्छ ।’

शुरूआती मूल्य १८ लाख ७५ हजार रूपैयाँबाट उपलब्ध एमजी कमेट ईभी विशेषगरी शहरी सडकलाई लक्षित गरी डिजाइन गरिएको कम्प्याक्ट विद्युतीय ह्याचब्याक हो । चार जनासम्म सहज रूपमा यात्रा गर्न मिल्ने यसको केबिन दैनिक आवतजावत तथा शहरभित्रका नियमित यात्राका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

एमजीको अत्याधुनिक विद्युतीय प्लेटफर्ममा आधारित यस गाडीमा १७.३ किलोवाट आवर क्षमताको ब्याट्री र पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । 

यसले एकपटक पूर्ण चार्ज गर्दा एआरएआई प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ, जुन दैनिक आवतजावत, व्यक्तिगत कामकाज तथा सप्ताहान्तको शहरी यात्राका लागि पर्याप्त मानिन्छ ।

नेपालका शहरहरूमा बढ्दो सवारी चाप र इन्धनको बढ्दो मूल्यबीच एमजी कमेट ईभीको मुख्य विशेषता यसको कम्प्याक्ट आकार र किफायती सञ्चालन खर्च रहेको कम्पनीको दाबी छ । 

दैनिक ५२० रूपैयाँ वा मासिक १५ हजार ५३५ रूपैयाँको किस्तामा उपलब्ध हुने यो गाडी साँघुरा सडकका लागि उपयुक्त हुनुका साथै दैनिक ट्याक्सी प्रयोग गर्नुभन्दा पनि सस्तो विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ ।

जीओ अटोमोबाइल्सका अनुसार नयाँ दैनिक ईएमआई योजनामार्फत नेपालमा विद्युतीय सवारी खरिदको आर्थिक अवरोध घटाउँदै ग्राहकलाई मासिक बजेटमा सहज रूपमा विद्युतीय सवारी अपनाउने अवसर प्रदान गरिएको छ ।

सन् १९३० मा स्थापित प्रतिष्ठित गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ अटोमोबाइल्स प्रालि नेपालका अग्रणी अटोमोबाइल आयातकर्ता तथा वितरकमध्ये एक हो । 

कम्पनीले विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्डहरूको आधिकारिक प्रतिनिधित्व गर्दै नेपाली ग्राहकलाई गुणस्तरीय, आधुनिक तथा दिगो यातायात समाधान उपलब्ध गराउँदै आएको छ । 

देशव्यापी बिक्री तथा सेवा सञ्जाल, अनुभवी जनशक्ति र ग्राहक केन्द्रित सेवा मार्फत कम्पनीले नेपालको अटोमोबाइल क्षेत्रमा आफ्नो सशक्त उपस्थिति कायम गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्