०७ साउन २०८३, बिहीबार
दशैं बजार

सुनौलीमा दशैं सपिङ– नेपाली ग्राहकले धानिदिएका छन् सीमापारिका बजार !

असोज १२, २०७९
सुनौलीमा दशैं सपिङ– नेपाली ग्राहकले धानिदिएका छन् सीमापारिका बजार !

बेलहिया नाका पारि भारतीय बजार सुनौलीबाट बुटवल–११ प्रगतिनगरकी उजेली थापाले मंगलवार २ वटा ठूला झोला गाडीमा राखेर सामान ल्याइन् । उनको झोलामा ५ किलो चिनी, चिया, साबुन, दशैंका लागि लत्ताकपडा (कुर्ती, साडी, तन्ना) र बिस्कुट थिए । 

नेपाल–भारत सीमा नाका बेलहियामा प्रहरीले झोला चेकजाँच गरेपछि नेपाल छिर्नका लागि उजेलीले स्वीकृति पाइन् । सुनौली नाका ७ दशकभन्दा पुरानो नेपालीको चल्तीको बजार हो ।

उनी भन्छिन्, ‘नेपालमा भन्दा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र मोटरपार्टसका सामान धेरै सस्तो पर्छ । बेला–बेला यहीँ (सुनौली) आएर किनमेल गर्छु । दशैंमा त प्रत्येक वर्ष जस्तै आउँछु ।’ उनले सुनौलीमा किनमेल गर्न थालेको ५ वर्षजति भयो ।

तिलोत्तमाको कान्छीबजारका रुपेश ठाडामगरको पनि ठूलो किनमेल प्रायः सुनौलीमै हुने गरेको छ । भारतीय बजारमा उपभोग्य वस्तुको मूल्य अन्तरले रुपेश पनि पारि तानिएका हुन् । सुनौलीमा भेटिएका उनी भन्छन्, ‘२–४ पैसा भए पनि नेपालमा भन्दा सस्तो छ । बाइकमा खुर्रर आयो, सामान किन्यो, गयो । फाइदै हुन्छ नि !’

उनले मंगलवार सुनौली पुगेर आफ्नो मोटरसाइकल सर्भिसिङ गरे । चिनी, फलफूलदेखि प्याजसम्म पारिबाटै मोटरसाइकलमा हालेर घरमा आए । उनलाई पनि २ वर्ष अगाडि १ जना साथीले सुनौलीमा सस्तो पाइन्छ भनेर लगेपछि त्यहीँ किनमेल गर्न जाने बानी परेको छ । 

सुनौलीमा अहिले चिनी नेपाली ६५ रुपैयाँ पर्छ भने नेपालको बुटवल–भैरहवामा ८५–९० रुपैयाँसम्म पर्छ । सुनौलीमा मंगलवार उपभोक्ताले १०० रुपैयाँमा ३ किलोग्राम प्याज किनेका थिए भने लसुन ५० रुपैयाँ किलो थियो । 

दशैंको किनमेल गर्न मंगलवार बुटवलकी सीता घिमिरे पनि सुनौलीमा भेटिइन् । ‘बुटवलभन्दा सुनौलीतिर लुगाकपडा सस्तो हुन्छ,’ सीताले भनिन्, ‘त्यसैले म त यतै आएर किनमेल गर्छु । हामी २–४ जना साथी मिलेर किनमेलका लागि यहाँ आउँछौं ।’

नेपालीहरू आफूलाई चाहिने खाद्यान्न र अन्य सामग्री किनमेल गर्न सुनौली जाने परम्परा नै बसेको छ । परिवारको घरायसी आवश्यकताका लागि किनेको सामानका लागि भैरहवा नाकामा भन्सार तिर्नु पनि पर्दैन । 

बुटवल र भैरहवामा दशैंमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्यान्नदेखि सबै सामग्री पाइने दशैं सस्तो बजार सञ्चालन भइरहेका छन् तर नेपालका दशैं बजार सुनसान छन् भने पारिको बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।

सुनौली नेपालका ग्रामीण एवं शहरका सर्वसाधारण उपभोक्ताको मुख्य किनमेल गन्तव्य बन्न पुग्दा नेपाली व्यापारी चिन्तित छन् । नेपालीहरू दैनिक उपभोग्य सामान किन्न सुनौली पुग्छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मराज न्यौपानेका अनुसार चहलपहल र किनमेलमा भैरहवा र बेलहियाको सुनौलीसँग तुलना नै हुँदैन ।

सस्तोको नाममा नेपाली उपभोक्ता पारि गएर ठगिएको उनी दाबी गर्छन् । ‘हामी नेपालीलाई सुनौलीको चिनी मन पर्छ,’ न्यौपानेले लोकान्तरसँग भने, ‘चिनी केही सस्तो दिन्छन्, अरु वस्तुमा उनीहरू धेरै ‘मार्जिन’ राख्छन् । जसले गर्दा उपभोक्ता ठगिएका छन् । हामीले नेपाली बजारमा किनमेल गर्ने बानीको विकास गराउने प्रयास स्वरूप सस्तो बजार सञ्चालन गरेका छौं । नेपाली बजारमै किनमेल गर्नुपर्छ भन्ने सचेतना हामी पटक–पटक गराउँदै आएका छौं ।’

सीमावर्ती बजारले नेपाली व्यावसायी धरासायी बनेका अध्यक्ष न्यौपानेले बताएका छन् ।

पारि सुनौली बजारमा भारतबाट आउने नून, खाने तेल, मट्टितेल, चिनी आदि लिन देशका विभिन्न ठाउँबाट मानिसहरू पुग्थे । सुनौलीभन्दा ८ किलोमिटर अगाडि रहेको नौतुना बजारसम्म रेलले खाद्यान्नदेखि विभिन्न वस्तुहरू ल्याउँथे । पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची, पर्वत, बागलुङसम्मका अधिकांश व्यापारीहरू सामान किन्न भरिया लिएर सुनौली पुग्ने गरेको इतिहास थियो । 

अहिलेको सुनौलीको व्यापार पहिलेभन्दा फस्टाउँदो छ । नेपाली बजार भैरहवा, बुटवलका उपभोक्तालाई सुनौली गएर किने सस्तोमा पाइन्छ भन्ने परम्परा नै बसेको छ । ‘सुनौलीको व्यापार धेरै उत्साहजनक छ,’ पारिका व्यापारी सैदुन रामानले भने, ‘हाम्रा ९५% उपभोक्ता नेपाली छन् । नेपाली उपभोक्ता नआए सुनौली बजार बन्द नै हुन्छ । नेपाली उपभोक्ताले सुनौलीको बजार धानेका छन् ।’

नेपालीहरू अहिले पनि आपतको अवस्थामा सुनौली नाका सम्झन्छन् । भारतले २०७२ सालमा लगाएको अघोषित नाकाबन्दीका बेला साविक लुम्बिनी अञ्चलदेखि बागलुङ, पर्वत आसपासका धेरै जिल्लाका मान्छेले सुनौली नाकालाई नै इन्धनको सहारा बनाएका थिए । नेपालीहरूले सुनौली हुँदै नौतुनासम्म पुगेर इन्धनको जोहो गरेका थिए ।

सीमा-पार व्यापार राष्ट्रिय समस्याको रूपमा रहेको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जव कसजूले सरकारले सीमा क्षेत्रका समस्या भएका बजारबारे भन्सार, राजस्व कार्यालय र सरोकारवालासँग समन्वय गरेर उपभोक्तालाई सचेतना गराउनुपर्ने बताए । कोरोना महामारीले पारेको आर्थिक मन्दीपछि सरकारले स्वदेशी व्यवसायीलाई प्रोत्साहन गर्न नसकेको कसजू बताउँछन् ।

सुनौलीमा मात्रै अहिले दैनिक ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । राज्यले छोटी भन्सार बन्द गरी तराईका मुख्य ५ वटा नाका मात्र सञ्चालन गर्न सके सीमा-पार किनमेल रोक्न सकिने उद्योगी÷व्यवसायी बताउँछन् । न्यौपानेले भने, ‘सुनौली, वीरगञ्ज, नेपालगञ्ज, गड्डाचौकी र विराटनगरबाहेक अन्य नाकामा भन्सार नराखी पूर्ण रूपमा बन्द गर्न सकेमा बजार क्षेत्रका उपभोक्ता भारत जाने थिएनन् ।’ 

कमेन्ट गर्नुहोस्