
नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त ठमेल रेमिट प्रालि, नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल) को नयाँ प्राविधिक सदस्यको रूपमा जोडिएको छ । अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ। एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (यूएसए)बाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा प्राप्त सकिनेछ ।
नेशनल पेमेन्ट स्वीचसँगको सहकार्यबाट उत्साहित ठमेल रेमिटका सह–संस्थापक बाल के जोशीले भने, ‘यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैर–कार्डमा आधारित, बैंक–टू–बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बनाउँछ । सामान्यतया, यस प्रकारको रियल टाइम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध छन् । अमेरिकामा भएका नेपालीहरूलाई अब अझै छिटो र चुस्त रूपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्नेछौँ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
संयुक्त राज्य अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भए पनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको यो पहिलो पटक हो । यो आवद्धता नेपालमा डिजिटल रेमिट्यान्सको लागि एउटा महत्वपूर्ण कदम हो । एक रेमिटेन्स प्रदायकका रूपमा यस कार्य गर्न सफल भएकोमा ठमेल रेमिटले गौरव बोध भएको बताएको छ ।
अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएसअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गरेर रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरू गर्न सक्ने छ । यसअन्तर्गत ठमेल रेमिटले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरूमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरू आफ्ना ग्राहकका बैंक खाताहरूबीच सोझै गर्न सक्ने छ । साथै, यस सहकार्यले ठमेल रेमिटलाई प्रत्यक्ष बैंक खातामा आधारित रेमिट्यान्सका लागि ५९ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको फराकिलो नेटवर्कमा पनि पहुँच प्रदान गरेको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई , नेशनल पेमेन्ट स्वीचको अंगको रुपमा रहेको छ । यसमार्फत रियल टाइम भुक्तानी तथा नन–रियल टाइम भुक्तानीका विभिन्न भुक्तानी उपकरणमार्फत गरिने व्यवस्था रहेको छ । यसमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरू र ७३ भन्दा बढी गैर—बैंकिङ संस्थाहरु अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।
हाल १३ वटा रेमिटेन्स कम्पनीहरूले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकहरू मार्फत एनसीएचएलका भुक्तानी प्रणालीहरुको प्रयोग गरी रेमिटेन्स सम्बन्धी कारोबारहरु गर्दै आएका छन् ।
त्यस्तै, सन् २०१३ मा संयुक्त राज्य अमेरिकाबाट नेपाल पैसा हस्तान्तरणमा केन्द्रित रहेको ठमेल रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरूमध्ये एक हो । स्थापनाको नौ वर्षको अवधिमा ठमेल रेमिट अमेरिकाबाट नेपाल पैसा पठाउन सबैभन्दा सस्तो र प्रभावकारी माध्यमका रूपमा उदाएको छ । कम्पनीले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम् प्रविधिहरूको प्रयोग गर्दै आएको छ ।
ठमेल रेमिट अमेरिकामा बसोबास गर्ने नेपालीहरूले सबैभन्दा रुचाएको रेमिटेन्स माध्यम हो । हालसम्म ठमेल रेमिटमार्फत ५० हजारभन्दा बढी नेपालीहरूले नेपालमा पैसा पठाइसकेका छन् ।