०३ असार २०८३, बुधबार
दशैंकाे चहलपहल

दशैं मनाउन मूलथलो फर्कनेको नाकामा घुँइचो [भिडियो कथा]

असोज १५, २०७९
दशैं मनाउन मूलथलो फर्कनेको नाकामा घुँइचो [भिडियो कथा]

नेपालीहरूको महान चाड दशैं शुरू भएसँगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरूमा सवारी साधनको चाप बढेको छ । शनिवार काठमाडौंमा प्रमुख नाकाहरूमा लामो समयसम्म सवारी साधन जाममा परेका थिए । 

काठमाडौंबाट दैनिक लाखौँको संख्यामा मानिसहरू बाहिरिरहेका छन् । कोरोना महामारीका कारण लगातार दुई वर्ष राम्रोसँग दशैं मनाउन नपाएका नेपालीहरू यसवर्षको दशैं हर्षोल्लासका साथ मनाउने तयारीमा छन् । कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेकाले बाहिरी जिल्लाबाट काठमाडौं आएकाहरू दशैं मनाउन फर्किरहेका छन् । 

असोज १० गते सोमवारदेखि शुरु भएको दशैं मनाउन उल्लेख्य मात्रामा सर्वसाधारण बाहिरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । दशैंको सार्वजनिक बिदा शुरू भएसँगै काठमाडौं उपत्यका छोड्नेको संख्या अझै बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने नाकाहरू कोटेश्वर, नागढुंगा, कलंकीलगायतका स्थानमा सर्वसाधारणको भीड छ । दशैंमा देशका विभिन्न शहरहरूबाट गाउँ फर्किनेको लर्को नै लागेको देख्न सकिन्छ ।

शनिवार बिहान रामेछापका प्रजन लामा घर जानको लागि कोटेश्वरमा बस कुरेर बसिरहेका थिए । उनले बसको टिकट लिइसकेका थिए । यद्यपि, भनिएको समयमा बस आइनपुगेकाले उनी कुरेर बसिरहेका थिए । उनी अघिल्लो वर्षहरूमा निजी सवारीसाधनबाट घर जाने गरेका थिए । यसवर्ष निजी सवारी नभएपछि सार्वजनिक बसमा जान लागेको उनले लोकान्तरसँगको कुराकानीमा बताए । ‘सार्वजनिक सवारी साधनमा यात्रा गर्नु कष्टकर हुने रहेछ’, उनले दिक्दारी प्रदर्शन गर्दै भने, ‘ जस्तो कष्टकर भए पनि वर्ष दिनको चाडमा आफूभन्दा ठूलाको आशिर्वाद लिन घर जानै पर्‍यो ।’

शनिवार नै चरिकोटस्थित घर जान लागेका राजेन्द्र शाहीले अग्रिम बसको टिकट बुकिङ गरेका थिए । उनी परिवारसहित दशैं मनाउन घर जाने तयारीमा थिए । आफ्ना दुई छोरासँगै दशैंमा गाउँ जान हिँडेका उनी पनि शनिवार बिहान कोटेश्वरमै भेटिए । ‘सबैजना आफन्त, साथी भाई, इष्टमित्र एकै ठाउँमा जम्मा भएर रमाइलो गर्नको लागि दशैंमा गाउँ जान लागेको हो’, शाहीले योजना आफ्नो दशैं योजना सुनाए । 

दशैंको छैठौं दिनसम्म नयाँ बसपार्क, गौशाला, कोटेश्वरलगायतका स्थानमा घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।


salt training

कमेन्ट गर्नुहोस्