३० जेठ २०८३, शनिबार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

दशैंको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दशैंका अवसरमा आजदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । 

सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आममानिस पर्व मनाउन व्यस्त भएका छन् । बिदा भएपछि बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । सामान्यत शनिबार पनि मन्दिरमा भीड लाग्ने गरेकामा आज दशैंको फूलपाती भएकाले भक्तजनको लर्को लागेको हो ।

शक्तिपीठ र देवी मन्दिर वरिपरिका सडकमा सवारीको पनि चाप देखिन्छ । ती स्थानमा पार्किङ गरिएका सवारीको पनि लाम भेटिन्छ । अन्यत्र भने सडक खुला छ । अघिपछि सडक जाममा पर्ने यात्रु अहिले भने खुला वातावरणमा यात्रा गर्न पाउने भएका छन् । सवारी साधन कम भएपछि राजधानीको वातावरणमा पनि धुवाँ धुलोको मात्रा कम भएको छ ।

राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखीलगायत मन्दिरमा भक्तजनको भीड छ ।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । 

नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । विगतका दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजाआराधना गर्न आह्वान गरिएको थियो । यस वर्ष भने कोरोनाको जोखिम कम भए पनि डेंगुको त्रास बढेको छ । यस वर्ष डेंगुबाट सुरक्षित भएर दशैं मनाउन प्रशासनले आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्