२७ असार २०८३, शनिबार
दशैंमा व्यस्तता

नयाँ पुस्ताका यी कलाकार : कहाँ–कसरी मनाउँदैछन् दशैं ?

टिकाको अघिपछि सांगीतिक कार्यक्रममा, भन्छन् – बाल्यकालकै दशैं प्यारो
असोज १७, २०७९
नयाँ पुस्ताका यी कलाकार : कहाँ–कसरी मनाउँदैछन् दशैं ?

दशैंको माहोलले प्रायलाई छोइसकेको छ । सर्वसाधारणमात्र होइन्, कलाकारहरू पनि दशैंको माहोलमा समाहित भईसकेका छन् । 

कोरोनाका कारण पछिल्ला तीन वर्षको दशैंमा स्टेज कार्यक्रमका गतिविधिहरू न्यून थिए ।

यसवर्षको दशैंमा भने धेरै कलाकारहरू सांगीतिक कार्यक्रममा व्यस्त देखिएका छन्, विशेषगरी गायक–गायिकाहरू । 

नयाँ पुस्ताका कलाकारहरू पनि यतिबेला दशैं विशेष सांगीतिक कार्यक्रममा व्यस्त छन् ।

लोकान्तरले पछिल्लो पुस्ताका केही चर्चित कलाकारहरूको दशैं योजना र अनुभव प्रस्तुत गरेको छ ।

टिकाको दिन विदेशमा हुनेछु : रचना रिमाल

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालले असोज १२ गतेदेखि १६ गतेसम्म निरन्तर स्वदेशमै दशैं विशेष सांगीतिक कार्यक्रमहरूमा प्रस्तुति दिइन् । 

उनी दशैंको टिकाको दिन भने विदेशमा हुनेछिन् । युगाण्डामा टिकाकै दिन आफ्नो सांगीतिक प्रस्तुति रहेको रचनाले बताइन् । १७ गते युगाण्डा उड्ने र त्यहाँबाट फर्केपछि २२ गते स्याङ्जामा सांगीतिक प्रस्तती दिएर मात्रै घर जाने उनले बताइन् । ‘गतवर्ष हाम्रो टिका थिएन, यसपाली घर जान्छु भनेर बसेकी थिएँ । तर, कार्यक्रमका लागि धेरै रिक्वेस्ट आयो,’ उनले लोकान्तरसँग भनिन्,‘टिकाकै दिन अन्य कलाकारहरूले पनि विदेशमा सांगीतिक प्रस्तुति दिनुहुँदोरहेछ । त्यसपछि ओके गरेँ ।’ स्याङ्जाको कार्यक्रम सकेर उनी २३ गतेमात्रै घर (झापा) जानेछिन् ।

दशैंमा पहिलोपटक विदेशमा हुने भएपछि यतिबेला फरक अनूभूति भइरहेको रचना बताउँछिन् । रचनालाई एकदमै बढी मनपर्ने पर्व हो, दशैं । उनले भनिन्, ‘दशैं एकदमै मन पर्छ, एकदमै रमाइलो लाग्छ । तर, कार्यक्रमहरू हुँदा यसवर्ष दशैंमा विदेश हुने भएँ ।’ 

दशैं भन्नासाथ उनको स्मृतिमा आउँछ – लहलह झुलेका धानका बाला, नयाँ लुगा, टिका–जमरा, पिङ आदि । 

उनको बाल्यकालको र अहिलेको दशैंको अनूभूतिहरू फरक छन् ।

‘नयाँ लुगा किनेपछि घर–घरमा देखाउँदै हिँड्थेँ । आफ्नो गाउँमा पिङ नबनाए अर्को गाउँमा पुगेर भए पनि खेल्थेँ,’ उनले भनिन्, ‘बाल्यकालको जस्तो रमाइलो अहिले हुँदैन ।’ 

लामो समयदेखि भेट नभएका आफन्त, साथीहरू भेट हुने हुँदा पनि दशैं विशेष लाग्ने रचनाले बताइन् । 

बचपनदेखि संगै पढेका, खेलेका साथीहरूसँग भेटन पाइन्छ : प्रकाश दुतराज, गायक

मौलिक सिर्जनामार्फत स्रोता/दर्शकको मन जितिरहेका गायक एवं सर्जक प्रकाश दुतराज गृहजिल्ला (म्याग्दी)मा परिवारसँग दशैं मनाउनेछन् ।

टिकाको अघि केही दशैं विशेष सांगीतिक कार्यक्रमहरूमा प्रस्तुति दिएर उनी घर पुग्नेछन् ।

‘हरेक वर्ष दशैंमा घर पुगेकै हुन्छु । यसवर्ष पनि आसपासका केही कार्यक्रमहरू सकेर घर जानेछु’ उनले भने, ‘परिवारका साथ रमाइलो गरेर दशैं मनाउनेछु ।’ 

रचनालाई जस्तै प्रकाशलाई पनि उत्तिकै प्रिय लाग्छ, दशैं । यो पक्ष, त्यो पक्षभन्दा पनि उनी दशैंले छुट्टै ‘भाइब्स’ लिएर आउने बताउँछन् ।

बाल्यकालका साथीभाईहरूसँग भेटघाट हुने अवसर पनि दशैंले जुराइदिने भएकाले आफूलाई विशेष मनपर्ने प्रकाशले बताए । 

‘बच्पनदेखि संगै पढेका, खेलेका साथीहरू कोही विदेश गएका छन् । कोही अध्ययन, पेशा–व्यवसायका कारण गाउँदेखि बाहिर आएका छन् । जो जहाँ भएपनि दशैंमा घर पुगिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘परिवार, आफन्तहरूलाई जमघट गराउने माहोल पनि दशैंले जुराएको हुन्छ ।’ 

जब पारिलो घाम लागेको देख्छन्, मनमा उमंगको झंकार पैदा हुन्छ । प्रकाशको मनले आफै भन्छ – ‘ए दशैं आयो ।’ 

उनी वातावरणले नै दशैंको उमंग लिएर आउने बताउँछन् । प्रकाशलाई पनि अहिलेभन्दा बाल्यकालकै दशैं प्रिय र अविस्मरणीय लाग्छ । 

यसपटक गाउँ मिस भईरहेको छ : देबेन्द्र बब्लु, गायक

फरक–फरक सिर्जनाहरूमार्फत स्रोता/दर्शकको मन जितिरहेका गायक एवं सर्जक देबेन्द्र बब्लुले यसपटकको दशैं काठमाडौंमा मनाउँदैछन् । 

काठमाडौंमा उनको पहिलो दशैं हुनेछ । 

‘अहिले सबै परिवार काठमाडौंमा हुनुहुन्छ । सबै गाउँ जानुभन्दा यतै मनाऔं भन्ने कुरा भयो । त्यसैले यसवर्षको दशैं काठमाडौंमा मनाउँदैछु’ देबेन्द्रले भने । 

उनी यतिबेला भने दशैंविशेष सांगीतिक कार्यक्रमको शिलशिलामा काठमाडौंबाहिर छन् । 

१७ गते काठमाडौं फर्किएर टिकाको तयारीमा लाग्ने उनको योजना छ । 

देबेन्द्रलाई दशैं भन्नेवित्तिकै एक किसिमको आनन्द महशुस हुन्छ, छुट्टि मनाएजस्तो महशुस हुन्छ । 

दशैं आउनुसाथ उनलाई सधै गाउँ मिस हुन्छ । त्यहाँको रमाईलो मिस हुन्छ । 

उनी भन्छन्, ‘टाढाटाढा पुगेका छरछिमेकी, आफन्तीहरू धेरै समयपछि गाउँ फर्किन्छन् । रंगीचंगी फूलहरू फुल्न थाल्छन् । पिङ राखिन्छ । दशैंको सबैभन्दा मनपर्ने कुरा मौसम पनि हो । गर्मी सकिएर जाडो हल्काहल्का शुरू भएको हुन्छ । मौसम नै ह्याप्पी वाला लाग्छ । छुट्टै स्वर्गीय माहोल लाग्छ ।’ 

काठमाडौंमा दशैं मनाउने तयारी हुँदै गर्दा यतिबेला गाउँको ‘भाइब्स’ भने एकदमै धेरै मिस भइरहेको उनले बताए । 

दशैं आउनासाथ देबेन्द्रलाई पनि बाल्यकालको पलहरू दिमागमा आउँछन् । 

अहिले अम्बाको सिजन मानिन्छ । त्यस्तै, दशैं–तिहारलाई भनेर काँक्रो पहेँलो बनाएर राख्ने गरिन्छ । 

‘रातिमा साथीहरूसँग अम्बा चोर्न गइन्थ्यो । पहेँलो बनाएर राखेको काँक्रो चोरिन्थ्यो,’ उनले सम्झिए । 

बाबियो चोरेर पिङ राखिएको क्षणहरू समेत देबेन्द्र सम्झन्छन् । 

दशैंको टिकाको दिन घर जानेछु : एलिना चौहान, गायिका

अहिले रुचाइएकी गायिका एलिना चौहान पनि परिवारका साथ दशैं मनाउँदैछिन् । टिकाको दिनभन्दा अघिपछि भने उनी सांगीतिक कार्यक्रमहरूमा व्यस्त हुनेछिन् । 

दशैंको टिकाको दिन मात्रै उनी घर (झापा, बिर्तामोड) पुग्नेछिन् ।

‘गोर्खा, सर्लाही, सिमरा लगायतका स्थानमा कार्यक्रम सकेर दशैंको टिकाको दिन घर जानेछु’ एलिनाले भनिन् । 

एलिनाको अनुभवले पनि भन्छ,‘बाल्यकालको दशैं र अहिलेको दशैंको अनुभूति धेरै फरक हुँदोरहेछ । सानो हुँदा पिङ खेल्ने, नयाँ लुगा लगाउने, टिका लगाउने, मामाघर जाने, दक्षिणा पाउने लगायतका कुराले छुट्टै उमंग हुन्थ्यो,’ उनले भनिन्,‘आफू कमाउने भएपछि घरमा हेर्नुपर्ने, भाई–बहिनीलाई यस्तो किनिदिनुपर्ने, पाहुनाहरूलाई यस्तो गर्नुपर्ने भन्नेमा ध्यान हुँदोरहेछ । खुशीभन्दा पनि जिम्मेवारी थपिएको महशुस हुँदोरहेछ ।’ 

थुप्रै हिट गीत दिएकी एलिना विविध कारणले बाल्यकालको दशैं अविस्मरणीय हुने गरेको बताउँछिन् । उनलाई पहिले पिङहरू देखेर दशैं आएको आभाष हुन्थ्यो ।

‘काठमाडौंमा चाहिँ मानिसहरू झोला बोकेर घर हिँडिरहेको देखेर, भित्री सडकहरू खाली देखेर दशैं आएजस्तो हुन्छ,’ उनले भनिन् ।  

बाल्यकालको दशैंको मज्जा अहिले कहाँ पाउनु ? ः अर्जुन सापकोटा, गायक

पछिल्लो पुस्तामा रुचाइएका लोक गायक हुन् अर्जुन सापकोटा । यतिबेला दशैं विशेष सांगीतिक कार्यक्रमका लागि कतार पुगेका अर्जुन अष्टमीका दिन नेपाल फर्किनेछन् । र, घर (नवलपरासी, मध्यविन्दु नगरपालिका) पुगेर परिवारका साथ दशैं मनाउनेछन् ।

उनले बुबाआमा, हजुरबुबा–हजुरआमा लगायत आफूभन्दा ठूलासँग आशिर्वाद लिने र आफूभन्दा साना भाइबहिनीहरूलाई टिका लगाएर आफूले जानेको आशिर्वाद दिने बताए । 

टीका लगाउने, साथीभाइसँग भेटघाट गर्ने, टिकाको दिनपछि स्वदेशभित्र स्याङजा लगायतका केही स्थानमा सांगीतिक कार्यक्रमहरूमा पुगेर प्रस्तुति समेत दिने अर्जुनले बताए । 

उनलाई पनि निकै सम्झनामा आउँछ, बाल्यकालीन दशैंको पल ।

‘अलिकति नाताले मात्रै पनि छुन्छ भन्नेवित्तिकै टाढाटाढासम्म हिँडेर टिका लगाउन पुगिन्थ्यो । कस्ले धेरै पैसा पायो भन्ने कुरालाई लिएर छुट्टै रमाइलो हुन्थ्यो,’ उनी भन्छन् । 

दशैंको अवसर पारेर गाउँघरमा भएका सांगीतिक कार्यक्रममा गीत गाउन पाइन्छ कि भनेर पुग्ने गरेको समेत अर्जुन सम्झन्छन् । 

‘अहिलेको दशैंले पनि उमंग नल्याउने होइन,’ उनले भने, ‘उमेर बढ्यो । व्यवहारिक भइयो । तर, बाल्यकालको दशैंमा सानोसानो कुरामा खुशी मिल्थ्यो । सोही कारण होला, बाल्यकालको दशैं नै प्यारो लाग्छ ।’ 

पिङ खेल्न छुटाउँदिन : गीता ढुंगाना, मोडल

‘ओए काजल’ बोलको गीतमा अभिनय गरेर चर्चामा आएकी गीता ढुंगाना अहिलेकी चर्चित मोडल हुन् । 

उनी चितवन पदमपुरस्थित घरमा परिवारका साथ दशैं मनाउँदैछिन् । दशैंका लागि केही विशेष योजना भने बुनेकी छैनन् उनले । 

‘योजना कहिल्यै बनाउँदिन । परिवार, आफन्तसँग टिका लगाउने, साथीहरूसँग भेट्ने । नाचगान गरेर रमाइलो गर्ने त्यही हो,’ गीताले भनिन् । 

उनलाई दशैंमा सबैभन्दा रमाइलो लाग्ने पाटो हो, टिका लगाएर पाउने आशीर्वाद र दक्षिणा ।

आफू कमाउने भएपछि पनि दक्षिणालाई लिएर रमाईलो लाग्ने गरेको गीताले बताइन् ।

‘आफू कमाउने भएपनि टिका लगाएर यति पाएँ, उति पाएँ भनेर भाइबैनीहरूसँग सुनाउन खुबै मज्जा आउँछ,’ उनले भनिन् । 

दशैंमा गीताले नछुटाउने भनेको पिङ खेल्न पनि हो । 

अहिले पनि उनी आफ्नो टोलमा नभए अन्य टोलमा पुगेर भएपनि पिङ खेल्ने गरेको बताउँछिन् । 

यसवर्ष पनि पिङ खेल्न नछुटाउने उनले बताइन् । चितवनमा हुँदा पिङ, चङ्गाहरू उडाएको देखेर दशैंको ‘भाइब्स’ आउने गरेपनि काठमाडौंमा सुनसान देख्दा दशैं आएको लाग्ने उनले बताइन् । 

गीतालाई पनि उही बाल्यकालकै दशैं अविस्मरणीय लाग्छ । उनले भनिन्,‘सानो हुँदा दशैं कहिले आउला जस्तो हुन्थ्यो । दशैं आउने वित्तिकै नयाँ लुगा लगाउन पाइन्छ भन्ने हुन्थ्यो । दक्षिणा पाइन्छ भनेर उत्तिकै धेरै खुशी भइन्थ्यो ।’ 

दशैंमा स्कूल बिदा लामो हुने तर होमवर्क हुँदा भने तनाव हुने गरेको गीताले सम्झिइन् ।

salt training

कमेन्ट गर्नुहोस्