
दशैं भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर, मासु नखाने शाकाहारीले कसरी दशैं मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ ।
नेपालीको महान् पर्व बडादशैंमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन् । पनिर, च्याउका विभिन्न प्रजाति, फलफूल, गुँदपाकजस्ता परिकार खाएर शाकाहारीले दशैं मनाउँछन् । बजारमा भने शाकाहारीका लागि यी सामग्री पाउन नै मुस्किल हुने र पाए पनि ताजा नपाउने गरेको उपभोक्ताको गुनासो छ ।
बागबजारस्थित तरकारी बजारमा शाकाहारी दशैंको सामान लिन आएकी डिल्लीबजारकी रमा सत्याल दशैंकाे समयमा च्याउ, काउलीजस्ता तरकारी ताजा नपाउने गरेको अनुभव सुनाउछिन् । खसीबजारसँगैको यो तरकारी बजारमा दुई चार दिनअघि नै ल्याएका तरकारी पाइएको उनले सुनाइन् । बजारमा काउली कालो कालोमात्र भेटिएको छ ।
विगत १० वर्षदेखि यहाँ तरकारी व्यवसाय गरी आएका काभे्रपलाञ्चोकका मंगलबहादुर तामाङ अन्य समयको तुलनामा दशैंमा तरकारी किन्न कम मानिस आउने भएकाले पनि ताजा तरकारी ल्याउन नसकिएको स्वीकार गर्छन् । यो समयमा कालिमाटी, बल्खुजस्ता थोक तरकारी बिक्रीस्थलमै ताजा तरकारी नपाइने गरेको पनि उनले बताए ।
दशैंमा सबैले मासु खान्छन् तरकारी किन्न आउँदैनन् भनेर ताजा तरकारी नआएको हुनसक्ने असनको तरकारी बजारमा भेटिएका दुर्गादत्त पन्तले बताए । मांसाहारीको संख्या धेरै भए पनि शाकाहारीले तरकारी पनि माग गर्छन् भन्नेमा ध्यान जान नसकेको उनले अनुभव सुनाए । दशैंका बेला कालीमाटीकै तरकारी बजार पनि सुनसान हुने गरेको छ ।
बाहिरबाट तरकारी बिक्री गर्नेहरु पनि दशैं मान्न व्यस्त हुने भएकाले समेत यो बेला ताजा तरकारी नपाइएको उपभोक्ता बताउँछन् । तरकारी व्यवसायी यो बेला कमैले मात्र पसल खोलेका हुन्छन् । धेरै जना भने दशैं मनाउनमै व्यस्त हुने गरेका छन् । बजारमा खसी, बोकाको अनुगमन भए पनि यो बेला तरकारी बजारको भने अनुगमन नगरिँदा पनि तरकारीको भाउ बढ्ने गरेको छ ।
मासुको भाउ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकेको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो रु ७३० तोेकेकाले त्यही हाराहारीमा बजारमा बिक्री भएको छ । तर, तरकारीको भने कालिमाटी बजारले पनि दशैंमा बजारलाई आफूखुसी छोडेको हो कि भन्ने उपभोक्ताको गुनासो छ ।
बजारमा पनिरको भाउ पनि विगतका दशैंमा भन्दा बढेको उपभोक्ताको भनाइ छ । गत वर्ष दशैंमा रु. ७५० कममै प्रतिकिलोग्राम पनिर पाएका उपभोक्ताले यस वर्ष भने गत वर्षभन्दा रु १५० सम्म बढी तिरेको सुनाए । यो वर्ष बजारमा पनिरको भाउ रु ८५० देखि रु ९०० सम्म छ । च्याउको प्रजातिको मूल्य पनि बढेको छ ।
मिठाइको भाउ पनि विगत वर्षको भन्दा बढेको छ । बजारमा ताजा मिठाइ पनि दशैंमा पाउन नसकिएको चावहिलका स्थानीयवासी राजेन्द्र नेपालले बताए । दशैंमा शाकाहारीले बजारबाट मिठाइ किनेर ल्याउँदा ताजा पाउन नसकिएको उनले सुनाए । बजार व्यवस्थापन एवं अनुगमनमा स्थानीय सरकारको ध्यान नजाँदा उपभोक्ता यस्तो मर्का सहन बाध्य हुनुपरेको हो ।