
राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतार स्वरूप मंगलवार महानवमीको दिन नव कन्याको पूजा गरेकी छन् ।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरूप मानेर पूजा गरेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले ९ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन् । ती कन्यालाई बाल मन्दिरबाट लगिएको हो ।
दशैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन् ।
उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्य समेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन् ।