३० जेठ २०८३, शनिबार

गाउँगाउँमा दशैंको उल्लास

गाउँगाउँमा दशैंको उल्लास
प्रतिकात्मक तस्वीर

रोजगारीको कारण गाउँ छोडेर शहर पसेकाहरू चाडपर्व मनाउन फर्केपछि गाउँगाउँमा दशैंको उल्लास छाएको छ ।

यतिबेला शहर सुनसान छन् भने गाउँमा दशैंको रौनकता छाएको छ । 

चाडपर्वमा बिदा पाउने भएपछि दशैंमा घर फर्किनेको संख्या उल्लेख्य छ । शहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदुर लगायत दशैंमा घर फर्किन्छन् ।

राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदा समेत यसै समयमा दिने भएकाले पनि दशैंमा गाउँ फर्किनको संख्या उल्लेख्य हुन्छ । दशैंमा मान्यजनबाट टीका जमरा ग्रहण गरी आशिर्वाद लिन गाउँ फर्किने गरेको सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक उमाकान्त जोशीले बताए ।

‘दशैंको बेला शहर सुनसान छन्, गाउँमा रमाइलो छ,’ उनले भने, ‘अरु बेलाभन्दा दशैंमा घर फर्किनु अनिर्वाय जस्तै भइसकेको छ, यो बेला गाउँमा उल्लास छाउँछ ।’ तराईमा बसोबास गर्ने अधिकांश व्यक्ति पहाड उक्लिने गरेका छन् ।

‘पहाडबाट तराईमा बसाइ सर्नेहरू कूल पुजा गर्न हरेक वर्ष दशैंमा जन्मथलो फर्किन्छन्,’ जोशीले भने, ‘यसले पनि दशैंको बेला शहर सुनसान हुन्छन् ।’

कतै खेलकुद प्रतियोगिता त कतै गीतसंगीतले गाउँ गुञ्जायमान छन् । रोजगारी र पढ्न गएकाहरू फर्किए पछि गाउँको माहोल रमाइलो बनेको छ । कतिपय गाउँमा मठ मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने चलन छ ।

‘एकै पटक भेला हुँदा गाउँमा रौनकता छाएको छ,’ कञ्चनपुरको सुडाका गोपाल मिश्रले भने । घटस्थापनादेखि दशैंसम्म गाउँका मन्दिरमा हुने पूजा र जात्राले रौनक बेग्लै हुने उनी बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्