२६ जेठ २०८३, मंगलबार
दशैं बजार

महंगियो दशैं : तथ्यांकमा ८% मात्रै मूल्यवृद्धि, बजारमा छोई नसक्नु

असोज १८, २०७९
महंगियो दशैं : तथ्यांकमा ८% मात्रै मूल्यवृद्धि, बजारमा छोई नसक्नु

आमसर्वसाधारणले अनुभव गर्ने गरी हरेक वर्ष महंगी बढ्दै गएको छ । सर्वसाधारणले जोहो गरेर पुर्‍याउनुपर्ने, व्यवस्थापन मिलाउनुपर्ने दशैंतिहार सहितका चाडमा महंगीले आकाश छुने गरेको छ ।

नेपालको आन्तरिक उत्पादनले नघान्ने हुँदा बर्सेनि अत्यावश्यक उपभोग्य सामग्री, खाद्यान्न, लत्ता, कपडा, भाडावर्तनदेखि विलासिताका वस्तुसम्मको आयात बढिरहेको छ । बर्सेनि बढ्दै गएको आयातले बजारमा महंगी समेत बढाइरहेको छ । 

आन्तरिक उत्पादनले नधानेका कारण कृषि प्रधान देशमा चामल आयात मात्रै वार्षिक ५० अर्ब रुपैयाँको हुन्छ । तरकारी आयात ३६ अर्बको, मासु आयात १ अर्ब ८२ करोड रुपैयाँको भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

नेपालले गत वर्ष १९ खर्ब २० अर्बको सामान विभिन्न देशबाट नेपाल भित्र्याएको छ । नेपाल भित्र्याउँदा तिर्नुपरेको भन्सार शुल्क, व्यवसायीले लिने अस्वाभाविक नाफा, बढेको लागत, ढुवानी भाडा र अन्य खर्चका कारण बजार भाउ भने छोई नसक्नु छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत साउनमा महंगीको दर ८.२६ प्रतिशत मात्रै छ । यस्तो महंगीको दर गत वर्षको साउनमा ४.३५ प्रतिशत मात्रै रहेको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा भने यस्तो महंगीको दर जम्मा ६.३२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

बजारमा भने हरेक वस्तुको बजार भाउ पोहोरभन्दा यो वर्ष बढेर आएको आमजनताले महसूस गर्ने खालको छ । बजारमा हरेक सामानको भाउ गत वर्षको तुलनामा यो वर्षको दशैंमा बढेकाले खर्च कटौती गर्दै दशैं मनाउनुपरेको भोटाहिटीमा भेटिएकी झापाकी सुस्मिता बुढाथोकीले बताइन् ।

दशैं शुरू भएको ५औं दिन बच्चालाई किनमेल गर्न निस्किएकी थिइन् बुढाथोकी । उनी ३ हजार रुपैयाँ लिएर छोरीलाई दशैंको किनमेल गर्न हिँडेकी भए पनि अपेक्षा गरेभन्दा बढी मूल्यका कारण खरिद गर्न चाहेको सामान नै कटौती गरेकी छन् ।

उनले भनिन्, ‘बजार त छोई नसक्नु भएछ । जे सामान हेर्‍यो, त्यहीँ महंगो लाग्ने । आफूसँग थोरै पैसा भएको हो कि बजार भाउँ नै आकाशिएको हो भन्नेबारेमा तिरिमिरी भइरहेको छु ।’

गत वर्षको तुलनामा यो वर्ष सवारी भाडा दोब्बर भएको छ । हवाई भाडा सामान्य दिनको तुलनामा चाडवाडमा दोब्बरभन्दा बढीको मात्रै पाइन्छ । बजारमा लत्ताकपडा, भाडावर्तन, खाद्यान्न किन्न जाँदा उपभोक्ता महंगीले जिब्रो टोक्दै हिँडेको अवस्था देखिन्छ ।

बजारमा पाइने सबैजसो सामानमा व्यवसायीले चाडवाडको मौका पारेर धेरै नाफा लिने उद्देश्यले भाउ बढाएका पनि हुन्छन् । अर्कोतर्फ अनुगमन गर्ने निकायको कमजोरीको फाइदा बजारमा व्यवसायीले उठाइरहेको देखिन्छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्यक्ष नरेश कटुवाल भने व्यवसायीका कारणले ५ प्रतिशत पनि महंगी नबढेको दाबी गर्छन् । उनले भने, ‘बैंकको व्याज बढेको, घरभाडा बढेको, ढुवानी व्यवसायीले भाडा बढाएका, नाका बन्द भएको हुँदा खासा आइपुगेको सामान फेरि पानीजहाजबाट ल्याउनुपरेका कारण लागत बढेको छ ।’

‘राष्ट्र बैंकले कोठाभित्र बसेर बनाएको महंगीको दरभन्दा बढी बजारमा अरु नै कारणले बढेको छ भनेर हेरिदिने निकाय नै भएन,’ कटुवालले भने ।

कटुवालले आफ्नो तर्क दिँदै भने, ‘एकातर्फ बैंकले नै १५ प्रतिशतमाथि ब्याज लिएको छ भने अर्कातर्फ सहकारीबाट ऋण लिएर काम गर्नेको लागत बैंकको भन्दा दोब्बरसम्म परिरहेको छ ।’ बजारमा भाउ के कारणले बढेको छ भनेर सरकारले कहिल्यै नहेर्ने, नीति नियमको कमजोरी देखाएर सरकारी निकाय नै लाभ असुल्न लाग्ने अनि व्यवसायीले मूल्य बढी लिए भन्ने गरिनु नै गलत भएको तर्क कटुवालको छ ।

बजारमा लागत बढेका कारण भएको मूल्यवृद्धि र सरकारले कर असुल्न लिएको नीतिको दोष समेत व्यवसायीलाई दिइएको मात्रै हो, बढी फाइदा लिएर उपभोक्ता ठगी भने नगरेको दाबी कटुवालले गरे ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठ बजारमा कुनै पनि वस्तुको भाउ बढ्ने र घट्ने क्रम चलिरहने बताउँछन् । श्रेष्ठले भने, ‘मौसम अनुसार सामानको भाउ बढ्ने र घट्ने भए पनि औसतमा महंगी दर भने ८.२६ प्रतिशतभित्रै रहेको छ । यस्तो महंगी दर कुनै महिना बढ्ने र कुनै महिना घट्ने गरेको छ । औसतमा वार्षिक मूल्यवृद्धि दर भने ६ प्रतिशतको हाराहारीमा छ ।’

श्रेष्ठले भने, ‘सिजनमा तरकारीको भाउ घट्छ भने अफ सिजनमा बढेको हुन्छ । यसले गर्दा कुनै महिना बढेको मूल्य घट्ने भए पनि औषत कति भयो भनेर हेर्नुपर्ने हुन्छ ।’ राष्ट्र बैंकले विभिन्न वस्तुको एउटा दरलाई आधार बनाएर मासिक रूपमा महंगी दर निकाल्ने गरेको श्रेष्ठले बताए ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा विश्वभर मुद्रास्फीति भइरहेको र विश्व अर्थतन्त्र मन्दीमा गएको हुँदा त्यसको प्रभाव नेपालमा परेको तर्क गर्छन् । यूरोपमा १४–१५ प्रतिशत महंगी हुँदा नेपालमा ६–७ प्रतिशत मात्रै हुनुलाई भने नियन्त्रणभित्रै महंगी रहेको भनेर बुझ्नुपर्ने तर्क थापाले गरेका छन् ।

अन्य समयको तुलनामा चाडवाडमा माग बढ्ने, तलबमा काम गर्नेले थप खर्च पाउने, तलब नपाउनेले पनि दशैंका लागि भनेर जोहो गर्ने गरेका छन् । सबैतर्फबाट एकैपटक माग आउँदा आपूर्ति धान्न सामान्य मूल्यवृद्धि हुनु त सामान्य भएको तर्क थापाले दिए । 

थापाका अनुसार यातायातको मूल्य २० प्रतिशत बढेको हुनसक्छ भने अर्को कुनै वस्तुको ५ प्रतिशतभन्दा कम नै मूल्य बढेको पनि छ । केन्द्रीय बैंकले ४९६ वस्तुको मूल्यलाई एउटै डालोमा राखेर औसत मूल्य निकाल्ने गरेको छ । अहिले देखिएको एकल अंकको मूल्यवृद्धि औसत मात्रै भएको हुँदा बजारको एउटा उत्पादनलाई लिएर सबैको भाउ अचाक्ली बढ्यो भनेर भन्न नमिल्ने बुझाइ थापाको छ । 

नेपालमा आयात गर्नुपर्ने, इन्धन, आन्तरिक उत्पादन नहुने र युक्रेनदेखि आउने घ्यूतेल सहितको मूल्य बढ्नुलाई चाहिँ अन्तर्राष्ट्रिय कारण मानिन्छ । सरकारको कारणभन्दा अन्य कारणले बढ्ने भाउका कारण भने बजारमा अपेक्षाभन्दा बढी महंगी भएको हुनसक्ने बुझाइ थापाको छ । 

salt training

कमेन्ट गर्नुहोस्