३० जेठ २०८३, शनिबार

थारु समुदायमा दशैंको छुट्टै रौनक

थारु समुदायमा दशैंको छुट्टै रौनक
फाइल फोटो

पश्चिम नेपालका थारु गाउँमा दशैंको छुट्टै रौनक छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवा लगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ । 

कोरोनाको संक्रमण घटेसँगै विदेश गएका यसपटकको दशैं मनाउन स्वदेश फर्केका छन् ।

विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दशैं मनाइरहेको बाँके राप्तीसोनारी–९ का रामदास चौधरीले बताए ।

‘यस पटकको दशैं निकै रमाइलो गरी मनाइँदैछ,’ उनले भने, ‘विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौं, निकै रमाइलो छ ।’ 

उनका अनुसार दशैंका बेला थारु बस्तीमा नाचगान परम्परागत रूपमा चल्दै आएको छ । ‘महिला, पुरुष, युवायुवती सबैको सामूहिकरूपमा नाचगानमा सहभागिता रहेको छ, यसबेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन्,’ उनले भने ।

मंगलवार नवमीको दिन थारु समुदायले मुर्गा पुजनका रूपमा मनाएका छन् । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ती बालेर मुर्गा पुजेका छन् । मुर्गा पुज्नुअघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी (घरमै बनेको मदिरा), पानी राख्नुपर्ने शम्भु थारुले बताए ।

उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, बेवरी, आदि चढाइएको हुन्छ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाई जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यसपछि मात्रै मुर्गा पुज्ने क्रम शुरू हुन्छ ।

‘२ वटा कुखुराको भाले २ अलग–अलग देवतालाई बलि चढाउनुपर्छ,’ स्थानीय सीताशरण थारुले भने, ‘बलि चढाएपछि धुप, बेवरी, जमरा चढाई दूध, पानी, घरैया दारुको धार चढाई मुर्गा पुज्ने क्रम सकिन्छ ।’ मुर्गा पुज्ने कार्य सकिएपछि घरका सबैसँगै सबेर सामूहिकरूपमा भोजन ग्रहण गर्दछन् । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विसर्जन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्दछन् । यसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ ।

सामूहिकरूपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पुर्‍याउने उनको भनाइ छ । दशैंका बेला नाच १०–१५ दिनसम्म आयोजना गरिन्छ । अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दशैंका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन छ ।
    
दशैंका बेला थारु समुदायका घरमा ढिक्री, सँुगुर, कुखुरा, खसी, बोकाको मासु, घोंघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारु (मदिरा) सँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ ।

थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दशैं पर्व मनाउने गर्छन् । अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ । नवमीको दिनदेखि दशैंसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ ।

नृत्य गर्न अगाडि गुरुवाले पूजापाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने गरेको अर्का स्थानीय प्रतापशील थारुले बताए । उनका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँघरु लगायतको प्रयोग बढी हुने गर्छ । 

दशैंका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका मुखिया (बडघर) बाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा अरु समुदायको जस्तो दशैंदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने छैन । थारु समुदायले दशैंको दिनमा मात्रै टीका थाप्ने गरेका छन् ।

पहिला चामलको पिठोको सेतो टीका दशैंका अवसरमा थारु समुदायले लगाउने गरेका थिए । हाल सेतो टीकासँगै रातो टीका समेत लगाउने चलन छ ।

salt training

कमेन्ट गर्नुहोस्