![क्रिकेटर सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/sandeep_1_1_2kwU5ckdbZ.jpg)
क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भनिएपनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो ।
दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।
गत भदौ २१ गते एक बालिकाले उनी विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।
आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए ।
उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।




