२४ असार २०८३, बुधबार

सत्तारुढ गठबन्धन : प्रतिनिधि सभातर्फको क्षेत्र बाँडफाँट अन्तिम चरणमा, प्रदेशको शनिवार सकिने

सत्तारुढ गठबन्धन : प्रतिनिधि सभातर्फको क्षेत्र बाँडफाँट अन्तिम चरणमा, प्रदेशको शनिवार सकिने
फाइल तस्वीर

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनतर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधि सभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी (जसपा) बाहिरिएको छ । जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेको पाँच दलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए । शीर्ष नेताको शुक्रवारको बैठकमा पनि कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विषयमा छलफल भएको उनले बताए । 

प्रतिनिधि सभातर्फको करिब अन्तिम भएकाले प्रदेश सभाका विषयमा छलफल भइरहेको छ । प्रदेशसभाको बाँकी छलफल शनिवार गर्ने निष्कर्षकासाथ शुक्रवारको बैठक सकिएको पुरीले जानकारी दिए । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै शुक्रवार अन्तिम रूप दिन नेताहरू निर्णायक वार्तामा जुटेका थिए ।  

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज २३ गते आइतवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब एक दिनमात्र बाँकी रहेकाले पनि शनिवार बिहानै सहमतिलाई अन्तिम रूप दिने तयारी गरिएको छ ।  

जसपा बैठकबाट बाहिरिएपछि दुई ठूला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि छलफल गरिरहेका छन् । लोसपा पनि भोलिको गठबन्धन बैठकमा सहभागी हुनसक्ने जनाइएको छ । 

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्