
मुलुकभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४.६२ अंकले उकालो लागेर १८९८.३८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.७८ अंकले उकालो लागेर ३७२.२१ मा पुगेको छ । कूल २ सय २४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर रु ८३ करोड ६८ लाख ७३ हजार १४० मूल्यमा कारोबार भयो ।
नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
आइतवारको कारोबारपछि कूल पूँजीकरण रु २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार २२२ बराबर कामय भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ६९ लाख ८१ हजार ७४४ बराबरको कारोबार भएको छ ।
नबिल बैंक रु ३ करोड ५१ लाख ९८ हजार ४२९, हिमालयन डिस्टिलरी रु २ करोड ३१ लाख ४४ हजार ५७१, अपि पावर कम्पनी रु १ करोड ८९ लाख १७ हजार २६९ र शिवम् सिमेन्टको रु १ करोड ७७ लाख ८४ हजार २५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक ९.९५, उपकार लघुवित्त ९.८४, गुह्यश्वरी मर्चेन्ट बैंक ८.७०, मितेरी डेभलपमेन्ट बैंक ८.२३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९७ प्रतिशतले कमाएका छन् ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक ४.४८, आरबीबी म्युचुअल फण्ड १.९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, सिटिजन म्युचुअल फण्ड १.८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले १.८० प्रतिशतले गुमाएका छन् ।