२३ असार २०८३, मंगलबार

चितवनका २३० जनामा स्क्रब टाइफस

चितवनका २३० जनामा स्क्रब टाइफस

जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये २ सय ३० जनामा स्क्रबटाइफस रोगको संक्रमण देखिएको छ । १ हजार ८७३ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार संक्रमितमध्ये १०८ जना चितवनका रहेका छन् । यस जिल्लामा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ५५ जना संक्रमित भेटिएको केसीले जानकारी दिए । अन्य जिल्ला बाहिरका रहेका छन् । 

गत आर्थिक वर्षमा ३ हजार २८६ जनाको परीक्षणका क्रममा २८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको कार्यालयले जनाएको छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिबिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्ष्यण देखिने गर्दछ ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजंगमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताए । 

यस्तै जिल्लाको विभिन्न अस्पतालमा उपचारका क्रममा आएका बिरामीमध्ये १ हजार १५५ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । जसमध्ये ७९९ जना चितवनका रहेका छन् । १७७ जनाको ठेगाना पहिचान नभएको र २९९ जना जिल्ला बाहिरका रहेका छन् । डेंगुका कारण चितवनमा २ जनाको मृत्यु भएको छ । साउन यता ५ हजार ६५५ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु देखिएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्