२८ जेठ २०८३, बिहीबार
उदाहरणीय जोडी

कलंकी-बालकोट रुटमा कर्मशील जोडीको पौरख: हुइँकिन्छ श्रीमान्–श्रीमती एक्सप्रेस [भिडियो]

असोज २७, २०७९

थापाथलीको ट्राफिक जाममा रोकिएका बेला कलंकी जाने शुभकामना यातायातको एउटा मिनी बसमा मेरो नजर पर्‍यो । एकजना महिला ढोकामा उभिएर सानो आवाजमा त्रिपुरेश्वर, कालिमाटी, कलंकी भनेर यात्रु बोलाउँदै थिइन् ।

त्यो दृश्यले मेरो ध्यान खिच्यो । उनलाई भेटेर केही जिज्ञासा राख्ने उत्सुकता जाग्यो । अनि पछ्याउँदै बससम्म पुगें । र, सोधें के तपाईं यो बसको कन्डक्टर हो ? मुन्टो हल्लाउँदै भनिन्- हो ।

अनि फेरि सोधें– 'चालक नि !' उनले भनिन्, 'मेरो श्रीमान' । मलाई झन् गज्जब लग्यो । त्यसपछि सोही बसमा चढेर कलंकीसम्म र कलंकी हुँदै फेरि बालकोटसम्म पुगेर दृश्यावलोकन गरें ।

सो क्रममा श्रीमान्, श्रीमती दुवै जनासँग छोटो कुराकानी गर्ने अवसर पनि जुर्‍यो । श्रीमानको नाम वीरबहादुर वाइवा तामाङ, श्रीमती पार्वती तामाङ, घर धादिङ ।

५ वर्षदेखि उनीहरू मिलेर गाडी हाँकिरहेका छन् ।

२० वर्ष अगाडि गाउँबाट काठमाडौं छिरेको यो जोडीका २ सन्तान छन्- एक छोरा, एक छोरी । 'बच्चाहरू काखे हुँदा काठमाडौं आएका हामी शुरूबाटै यही पेशामा लाग्यौं,' वीरबहादुरले भने ।

पार्वतीले शुरूमा ट्याम्पो चलाउँथिन् । 'मलाई भित्रैदेखि इच्छा लागेर सिकेकी हुँ । बुढाले नै सिकाएको हो । अब त यो लाइनमा हिँड्दा हिँड्दै बुढी भइसकें,' पार्वतीले भनिन् ।

सफा टेम्पो बेचेर मिनीबस

अलग–अलग बसेर सवारी चलाउनुभन्दा दुवैजना संगै बसेर आफ्नै सवारी चलाउँदा अझ राम्रो हुने सोचेर टेम्पो बेचेको उनीहरूले बताए ।

त्यसपछि टेम्पो बेचेको थोरै रकम र सहकारीबाट थप ऋण लिएर किस्तामा मिनी बस किनेर बालकोट-कलंकी रुटमा चलाउन थालेका थिए ।

'जम्मा १४ लाखमा सेकेन्ड ह्यान्ड किनेको, यो बस अहिले भर्खर बल्लबल्ल किस्ता चुक्ता भयो,' श्रीमान् वीरबहादुरले भने।

दुवैजना गाडी लाइनकै भएकाले उनीहरूलाई काम गर्न सहज भएको वीरबहादुरले बताए।

'अर्को खलासी राखेको भए यति छिटो किस्ता नै तिर्न सकिँदैन थ्यो,' उनले भने ।

कुनै महिना त उनीहरूले १ लाख रकमसम्म बचत गरेको उनीहरूले बताए । अहिले तेलको मूल्य बढेकाले आम्दानी केही कम भएको उनको भनाइ छ ।

के भन्छन् यात्रु ?

कौशलटारकी रश्मी बजगाईं २-३ वर्षदेखि निरन्तर उनीहरूकै बसमा चढ्छिन् ।

कारण सोध्दा उनले भनिन्, 'दिदीको बोलीवचन एकदमै राम्रो लाग्छ । पुरुषमा रुखो बोली हुन्छ । मलाई उहाँको गाडीमा चढ्दा सहज अनुभव हुन्छ । महिला भएर यति धेरै मेहनत गर्नुहुन्छ, मलाई भित्रैबाट उहाँप्रति सम्मान लाग्छ ।'

कलंकीबाट चढेका यात्रु जीवन खनाल पनि प्रायजसो यही बसमा चढ्दा रहेछन् ।

'मसँग कहिलेकाहीँ चेञ्ज नहुँदा वा ५/१० रुपैयाँ नपुग्दा पनि उहाँले केही भन्नुहुन्न । म अर्को दिन ल्याएर दिन्छु,' खनालले भने, 'तर, पुरुष कन्डक्टरलाई पैसा पुग्दैन भन्दा नराम्रो शब्द प्रयोग गरेर मुखै छाड्छन्, सहनै सकिँदैन ।'

उनले पार्वतीलाई ट्याक्सी चलाउन सुझाव दिए ।

'उहाँ बहिनीलाई म ट्याक्सी चलाउन सल्लाह दिन्छु, किनकी पुरुष ट्याक्सी चालकले यात्रुलाई ठग्ने गरेका छन्,' उनले भने ।

कौशलटारकै राजु रोकाले पनि उनीहरूको प्रशंसा गरे । 'श्रीमान् श्रीमती निकै मिलेर गाडी चलाएको देखिन्छ । उहाँहरूको निकै राम्रो तालमेल र प्रेम छ,' रोकाले भने ।

salt training

कमेन्ट गर्नुहोस्