
अमेरिकामा उपभोक्ता महँगी (मुद्रास्फीति)को दर विगत तीन वर्षयताकै सबैभन्दा तीव्र गतिमा बढेको छ। अमेरिकी श्रम तथ्यांक ब्यूरोले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मे महिनामा उपभोक्ता मूल्यहरू वार्षिक रूपमा ४.२ प्रतिशतले बढेका छन् । यसअघि अप्रिल महिनामा यो वृद्धिदर ३.८ प्रतिशत रहेको थियो ।
यसरी मुद्रास्फीतिको तथ्यांक ऐतिहासिक रूपमा उच्च बिन्दुमा पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको एउटा अभिव्यक्तिले नयाँ बहस र तरङ्ग सिर्जना गरिदिएको छ । महँगीको नयाँ तथ्याङ्क जारी भएलगत्तै ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले भने, 'मलाई यो मन पर्यो। तथ्यांकहरू उत्कृष्ट थिए। तपाईंलाई थाहा छ मलाई सबैभन्दा बढी के मन पर्छ? मलाई मुद्रास्फीति मन पर्छ।'
उनले 'न्यूयोर्क पोस्ट'लाई प्रतिक्रिया दिँदै इरानसँगको युद्ध जारी रहेकै समयमा पनि यो मुद्रास्फीति अपेक्षा गरिएभन्दा कम रहेकाले आफूले त्यसो भनेको प्रस्ट पारेका छन्। ट्रम्पले इरानसँगको द्वन्द्व समाप्त भएपछि बजार पुरानै लयमा फर्किने दाबी गरे । 'तेलको मूल्यमा तीव्र गिरावट आउनेछ र इरानसँगको द्वन्द्व समाप्त भएपछि मुद्रास्फीति पनि घट्नेछ,' उनले भने ।