बालेनजी नमस्कार !
भगवान् भन्यो भनेर नरिसाउनुहोला । दुःखी–गरीबका लागि भगवान् बनेर आउनुभएको थियो । तपाईंको तुलना राजा वीरेन्द्रसँग भइरहेको थियो । यसकारण भगवान् भन्न पुगे । वास्तवमा तपाईं मेयर नै हो ।
मेयर हुनुभन्दा अगाडि इन्जिनीयर हो । इन्जिनीयर हुनुभन्दा अगाडि र्यापर हो । र्यापर हुनुभन्दा अगाडि के हो ? त्यतातिर म जान चाहन्न ।
तर पनि तपाईं भगवान् नै हो । किनभने तपाईंको अनुहारको फोटो धेरैले आफ्नो पाखुरामा ट्याटु खोपेका छन् । तपाईंको फोटो चस्मा दुकानमा झुण्डिएको छ । तपाईंको अनुहार टी–सर्टमा प्रिन्ट भएको छ । तपाईंको नाममा गीत निस्किएका छन्, कविता कोरिएका छन् । तपाईंको नाममा दशैंको आशिर्वाद बनेको छ । यसअघि यस्तो क्रियाकलाप भगवान्को नाममा मात्रै गरिन्थे । बिस्तारै त्यो तपाईंको नाममा पनि हुन थाल्यो । यसकारण तपाईंलाई भगवान् मान्दा फरक पर्दैन ।
एउटा हातले फेसबूक हेर्दै अर्को हातले भात खाइरहेको थिएँ । अचानक एउटी महिला डाँको छाडेर रोएको आवाज आयो । रोइरहेकी महिलाको काँखमा सानो दुधे बच्चा पनि देखेपछि मैले त खानै सकिनँ । त्यसकारण २–४ शब्द लेखेको हो ।
विगतमा तपाईंले जुल्फीमा हार्ड जेल लगाएर गल्ली, गल्लीहरूमा फ्री स्टाइल र्याप ब्याटल हानेर हिँडेजस्तै मलाई पनि फ्री स्टाइलमा कहिले कसो लेख्ने आदत छ । भूलचुक भएमा माफी दिनुहोला ।
जुन प्रकारले तपाईंका सेलिब्रेटी नगर प्रहरीहरूले कालो चश्मा लगाएर चर्को स्वर निकालिरहेका छन्, हप्कीदप्की गरिरहेका छन् । सबैभन्दा पहिला त यसलाई street harassment को रूपमा बुझिदिन अनुरोध गर्दछु । सोझा छन्, बोल्न सक्दैनन् भन्दैमा जनतालाई त्यसप्रकारको Strong body language देखाउन पाइँदैन । तपाईं पढे–लेखेको मान्छेलाई राम्रोसँग थाहा नै छ, सार्वजनिक स्थानमा कोही पनि Guilt tripping हुन चाहन्न । कृपया तपाईंका अनपढ प्रहरीहरूलाई अमरेश पुरी अभिनित हिन्दी सिनेमा धेरै नहेर्न भनिदिनुहोला ।
दोस्रो, तपाईंले डोजर हान्न पठाएको, ठेलागाढा उठाएको स्थानमा विल स्मिथको हलिउड फिल्म छायांकन गर्न लागे जस्तो चारैतिर क्यामेरा फर्काएको देखिन्छ । जसरी तपाईंलाई मिडियाको क्यामेरा मन पर्दैन, त्यसरी नै छोराछोरीको स्कूल फी तिर्न बाध्यताले सडक किनारमा नांग्लो थापेका दिदीबहिनीहरूलाई यूट्युबको क्यामेरामा देखिन मन नपर्न सक्छ । १ दिनमा २ हजारको व्यापार गर्नेको पनि करौडौंको स्वाभिमान हुन्छ बालेनजी ।
तपाईंको काम जनताको individual privacy को respect र protection गर्नु पनि हो । बालेन जिन्दावादको नारा भाइरल भइरहँदा दुःखी गरीबलाई क्यामेराले दिएको सामाजिक तथा मानसिक दबाबको ख्याल गर्नुभएको छ ?
अनि सदाझै शुरू हुन्छ, पैसाको बलमा अभियान्ता बनेर निस्कने केही नमूनाहरूको नाटक देखिन्छन्, कहिल्यै पारदर्शी हुनु नपर्ने यति हजार दिन्छु उति हजार दिन्छु भनेर स–गौरव घोषणा गर्ने गल्ली-गल्लीका इलोन मोस्कहरू । बालेनसँग खिचेको एकथान फोटो । माला, अबीर, धन्यवाद, बधाई, यस्तै यस्तै । तिनीहरूलाई मनमनै लाग्दो हो, सरकारले गर्न नसकेको काम आज मैले पो गरे तर यो जुनीमा तिनीहरूले गर्न सक्ने काम भनेको मूत्र विसर्जनबाहेक अरु केही होइन ।
दुःखी गरीबको आँसुको मूल्य तिम्रा २० हजार हुँदै होइन । बालेनजी, के तपाई यसरी नै सधैंभरि जनताको दुःखलाई मजाक बनाउनेहरूको इमोसनल सेन्टिमेन्टमा खेल्न मेयर हुनुभएको हो ?
हाम्रो देश नेपालमा Walmart, Amazon, Apple inc, Saudi aramco जस्ता ठूला–ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू छैनन् । तिनीहरूले उत्पादन गरेका माल–सामानलाई थेग्न सक्ने बजार र उपभोक्ता पनि हामीसँग छैनन् । हामीसँग के छ ? हामीसँग साना किसानले उत्पादन गरेका १० बोरा आलु छ । २० डोको हरियो मकै छ, ५ टिन भैंसीको घ्यू छ, १ गाडी सागपात छ, ५० किलोग्राम कुखुरा छ, केही माछा र खसीबोका छन् र छन् तिनैलाई नै सडकमा बेचेर आफ्ना छोराछोरीलाई तपाईं जस्तै इन्जिनीयर बनाउने सपना देखेका बहुसंख्यक आमाबुवाहरू ।
हातमा फलामको स्टिल, काँखमा सानो दुधे बच्चा । लमजुङकी शर्मिला तामाङ तिनै बहुसंख्यक आमाबुवाहरूकी प्रतिनिधि पात्र हुन् । यो देशमा सबै पढे–लेखेका छैनन्, सबैसँग पुर्ख्यौली सम्पत्ति छैन, सबैको कला, गला हुँदैन, सबैसँग मास्टर माइन्ड छैन । गरीब देशमा धनी भएको अभिनय गर्नुभन्दा सडकमा व्यापार गर्नु राम्रो हो । बीच बाटोमा भुस्याहा कुकुरजस्तो सुतेको त को होला र ? किनारामा तातो मःम, समोसा, चाउमिन, मिनरल पानी, बदाम, छोयला, थुप्पा बेचेको देख्न नसकेर हिँड्न गाह्रो भयो भन्ने कुन मगन्ते हो ?
जनताको दुःखको उपचार नगरिकन रोग निको हुँदैन । गरीब देशको जनतामाथि दमन गर्दा दंगा फैलिन सक्छ । किनकि बालेन नेपालको दुःखी मेयर हुन्, सिलिकन भ्यालीका सुखी मेयर हैनन् तर बिडम्बना ! मान्छेहरूले दिमागमा पनि फलामको स्टिल हालेका छन् । हिजो कीर्तिपुरतिर झोलामा लसुन बोकेर ‘लोकल हो हजुर, राख्ने हो ?’ भन्दै हिँड्नेहरू कागतालीले डीभी पारेर अमेरिका पुगे भन्दैमा सामाखुसीलाई डल्लास जस्तो बनाउने सपना देख्छन् । तर, फ्रान्सको पेरिसमा रहेको आइफल टावरको जरामा पोलेको हरियो बेचिन्छ भन्ने कुरा तिनीहरूले थाहा पाउन जरुरी छ ।
बालेनजी तपाईं त युवा हो, इन्जिनीयर पनि हो । तपाईंले नेपाल के हो, काठमाडौं के हो भनेर बुझ्नुपर्छ । नेपाल Premature industrialization भएको देश हो भने काठमाडौं सम्पूर्ण नेपालीको सपनाको शहर हो । काठमाडौं १ लाखलाई बाटोमा हिँड्न, गाडी गुडाउन गाह्रो छ होला तर ५० लाखलाई पेट पाल्न गाह्रो छ । १ लाख ठूलो हो कि ५० लाख ? गाडी ठूलो हो कि पेट ठूलो हो ? नेपालीको प्रतिव्यक्ति आय दर कति हो ? नेपाली जनताको हालको living standard के हो ? तिनीहरूको social security कस्तो छ ? ठूलाठूला शपिङ्ग मलमा जान सक्ने नेपालीहरूको संख्या कति छन् ? तपाईंले हजारौं मर्सिडिज कार कता पार्किङ गर्लान् भन्ने चिन्ता गर्ने हो कि यो ठेलागाढाको कमाइले कति बालबच्चाले स्कूल पढिरहेका होलान् भनेर सोच्ने हो ?
काठमाडौं फोहोर भएको मान्छे धेरै भएर होइन । गाडी धेरै भएर हो । गाडी प्रतिबन्ध गर्नुपर्छ । ठेला रिक्सा गुडाउन शुरू गर्नुपर्छ । संसारको सबैभन्दा प्रदूषित शहर काठमाडौं ठेलाको कारण भएको हो ? ठेला त नेपालको प्राचीन, मौलिक परम्परा हो । यसको त महानगरपालिकाले जगेर्ना पो गर्नुपर्छ । सानो शहरमा गाडीमा सामान बेच्ने होइन, सामान बच्ने ठेलामै हो । पर्यटक आउँछन्, हेर्छन्, फोटो खिच्छन् ।
ठेलाका कारण हिँड्न गाह्रो भएको हो कि ठूलाठूला सवारीसाधनका कारण ? के टिप्पर प्रतिबन्धित छन् ? मालबाहक ट्रक प्रतिबन्धित छन् ?
यति सानो काठमाडौंमा यतिधेरै गाडी किन ? कलंकीदेखि वानेश्वर त साइकलमै ३० मिनेटमा पुग्न सकिन्छ । किन चाहियो हजारौं माइक्रो ? हजारौं बस ? हजारौं ट्याक्सी ? मान्छे हिँड्ने बाटोमा माइक्रो हिँडिरहेको छ । त्यो कहिले हटाउने ? हजारौं मोटरसाइकल गुड्दा केही नहुने, २–४ वटा ठेला गुड्दा काठमाडौं फोहर हुने ? के मोटरसाइकलवालाहरूले बाटो कब्जा गरेका छैनन् ? हो हटाउनुपर्छ, व्यवस्थित गर्नुपर्छ तर शुरूमै ठेला किन हटाउने ? टिप्पर किन नहटाउने ? जो होचो, उसकै मुखमा घोचो ?
बालेनजी, अहिले भर्खरै काठमाडौं न्यूयोर्क सिटी बन्न सक्दैन । तपाईंले चाहेर पनि त्यो बन्न सक्दैन । जनताको जीवनस्तर सुधार गर्न नसके सडक त के दरबार पनि कब्जा हुनसक्छ । यसकारण सडकमा रमिता देखाएर बिहारी शैलीमा जनतालाई लखेटेर, उठिबास लगाएर अरुको दुःखमा रमाउने जमातबाट तपाईंको देवत्वकरण त होला तर ‘गरीबको चमेली बोल्दिने कोही छैन’ भनेर कभर गीत गाउने तपाईंको रुद्रघण्टीमाथि प्रश्न चिह्न उठ्छ । तपाईं पढेलेखेको मान्छेले त विकल्प दिन सक्नुपर्छ । अंग्रेजीमा भन्छन् नि what is alternative भनेर । त्यो हुनुपर्यो सबैभन्दा पहिला ।
फूटपाथ बजार संसारका विकसित देशमा पनि हुन्छन् । अमेरिकाको राष्ट्रपति बस्ने ‘ह्वाइट हाउस’ नजिकै पनि छन् तर तिनीहरूको व्यवस्थापन सोही ढंगले गरिएको हुन्छ । संसारमा back to nature भन्न थालिसकेका छन् । पुराना शैली, परम्पराको संरक्षण गर्ने देश नै आजको पर्यटकीय गन्तव्य हो । आजको पुँजीवादी अर्थ बजारमा सबैको हैसियत एकै हुँदैन । यो कुरा बालेनले बुझ्नुपर्छ । ठूलाठूला मल हेर्नको आउँछ नेपालमा ? के देख्न पाएका छैनन् र ? नेपालमा हेर्न आउने त यहाँको लोकल बजार, उत्पादन र व्यापार होला नि ? ठेला हेर्नका लागि संसारभरबाट मान्छे आउन सक्छन् । बरु ठेला सिटी घोषणा गरौं न !
कसले समर्थन गरेको छ, कसले विरोध गरेको छ, त्यो अलग कुरा हो । चोरको हातमा पनि इन्टरनेट छ तर काठमाडौंमा अधिकांश मानिसहरू बाहिरी जिल्लाबाट आएर बसेका छन् । किनकि सेवासुविधा र विकास शहर केन्द्रित छ । त्यसकारण शहरमा मानिसहरूको चाप छ तर शहरमा धेरैको आफ्नो घर छैन । जसको घर छ, त्यसले भाडा उठाएर खान्छ । एउटा घरले ७ पुस्तालाई खान पुग्छ । तिनीहरूलाई को मेयर बन्छ ? को प्रधानमन्त्री बन्छ ? मतलब पनि हुँदैन । तिनीहरू प्रायः राजावादी टाइपका हुन्छन्, बालेनलाई दिपेन्द्र युवराजको दर्जा दिने तिनै टपरटुइया हुन् ।
वास्तविक दुःखी गरीबहरूले आफ्ना प्रतिनिधिमार्फत् धेरै ठूलो अपेक्षा राखेका हुन्छन् । बालेन मेयर भएकोमा बाजा बजाएर नाच्ने तिनै गरीबहरू थिए, तिनै सडकका व्यापारीहरूमा धेरै ठूलो सपना जागेको थियो तर बालेनले सबैभन्दा पहिलो प्रहार तिनैमाथि गर्न पुगे । इन्जिनीयर हुनु र मेयर पनि हुनु दुवै उस्तै होइन बालेनजी । इन्जिनीयरलाई बाटो बनाइदिए पुग्छ तर मेयरलाई त समाज बनाउनुपर्छ । एउटी आमा रहर लागेर धुलोधुवाँ खान सडकमा बस्दैन । तिनलाई पनि तपाईंहरूलाई जस्तै पबमा गएर नाच्ने रहर हुन्छ ।
देश, जनता र भूगोल भनेको इन्जिनीयरिङ मात्र होइन, आधुनिक इन्जिनीयरिङ युग शुरू नहुँदै पनि चीनमा ग्रेटवाल बन्यो । तिब्बतमा पोतला दरबार बन्यो । भारतमा ताज महल बन्यो । नेपालमा धरहरा बन्यो । त्यसकारण इन्जिनीयरिङ पढ्या छु, सबै जानेको छु भन्ने भ्रम नपाल्नुहोला । देश भनेको समाजशास्त्र हो । समाजशास्त्रका अनुसार कुनै पनि मूलभूत कुरा परिवर्तन गर्नका लागि सर्वप्रथम त्यसको आधारभूत कुरा परिवर्तन गर्नुपर्छ । जस्तो कि थानकोटको मान्छेलाई बसाइँ सारेर राराको जंगलमा लाने हो भने तिनीहरूको सामान हेलिकप्टरमा हालेर मात्र पुग्दैन, सबैभन्दा पहिला राराको जंगलमा शौचालय बनाउनुपर्छ ।
हेलिकप्टर इन्जिनीयरिङ हो, विज्ञान हो । शौचालय वातारवण हो, समाज हो । हामीले दुवै कुरालाई ध्यान दिनुपर्छ । काठमाडौंको बाटोघाटो फराकिलो पार्नु, ढल निकास मिलाउनु, सवारी पार्किङको व्यवस्था गर्नु इन्जिनीयरिङ हो, विज्ञान हो । काठमाडौंको सडकमा रहेका गरीब भोकानाङ्गा मानिसहरूको जिजिविषाका लागि केही गर्नु, तिनको भोको पेटको निम्ति केही सोच्नु, तिनका लालाबालाको भविष्यको निम्ति केही परिकल्पना गर्नु फेरि समाजशास्त्र हो । त्यसो त यो काम प्रधानमन्त्रीको पनि हो तर मुख्यगरी तपाईंको नै हो ।
नेपाली जनताको आधारभूत समस्या गरीबी हो । आधारभूत समस्याकै कारण देशभरबाट जनताहरू काठमाडौंमा केही गर्न सकिन्छ कि भनेर आएका छन् । तपाईंको पूर्खा पनि त मधेशबाट काठमाडौं आउनुको कारण थियो होला नि ? तपाईं आजको बालेन साह यतिकै जुरुक्कै हुनुभयो त ? काठमाडौं आएर राम्रोसँग पढ्न पाउनुभयो होला । सेवासुविधा मिल्यो होला, शिक्षादीक्षा र रुचि अनुसारको भाइसाथीको संगत मिल्यो होला । तपाईंका बाआमाको आफ्नै संघर्ष थियो होला । के थाहा तपाईंको पूर्खाले पनि ठेलागाढामै व्यापार गरेर प्राण पो धानेका थिए कि ?
अभाव र कष्टमा बाँचिरहेको समाजले भगवान्मा धेरै विश्वास गर्छन् । आफूलाई एकदिन सुख प्राप्त हुने इरादा हुन्छ । अनेक थरीका भगवान्लाई तिनीहरू श्रद्धाका साथ पूजा गर्छन् र यस्तो समाजले मान्छेलाई पनि भगवान्को रूपमा छिट्टै मान्यता दिन थाल्छ । दुःख कष्टमा साथ दिन जो कोही आए पनि त्यो ‘भगवान् बनेर आएको’ पूर्वीय मान्यता पनि छ । नेपाली जनताको दुःखकष्टमा साथ दिन आएका बालेन सधैंभरि भगवान् बनून् ।
बयोवृद्ध पत्रकार किशोर नेपालले जस्तो त्यो त मधेशको ‘तेली’ समुदायको केटा हो भनेर Communal racism कसैले नदेखाउन् ।