०१ असार २०८३, सोमबार
चलचित्र

देवघाटमा भेटिएका ती ‘बा’ : जसबाट जन्मियो ‘महापुरुष’

एक्लोपनको कथा हो ‘महापुरुष’ - प्रदीप भट्टराई, निर्देशक
कात्तिक ५, २०७९
देवघाटमा भेटिएका ती ‘बा’ : जसबाट जन्मियो ‘महापुरुष’

निर्माता एवं अभिनेता रविन्द्र सिंह बानियाँ १ जना साथीसँग चितवनको देवघाट पुगेका थिए । त्यहाँ उनले सुने, घरमा एक्लै रहेका एक जना ८३ वर्षीय वृद्धको कुरा । उनी परिवार र समाजबाट उपेक्षित भएका रहेछन् । 

केही वर्ष अगाडि ती वृद्धको एउटा घटना भएको रहेछ । त्यसबारे रवीन्द्रले जे सुनेका थिए, त्यही कुरा सुनाए –

भएका छोराहरू कोही कहाँ, कोही कहाँ रहेछन् । ‘बा’ घरमा एक्लै हुने । घरमा कोही आए उहाँ गफ गरेर बस्नुहुँदो रहेछ । १ दिन महिलासँग गफ गरेर बसेको समयमा छिमेकीले बाहिरबाट चुकुल लगाइदिएछन् । यिनीहरूले गाउँको बेइज्जत गरे, जग हँसाए भनेर आरोप लगाएर ती बुवालाई छिमेकीले प्रहरी चौकीमा बुझाएछन् ।

रविन्द्र भन्छन्, ‘हाम्रो उमेरको सोचाइले हेर्दा बिहे भनेको सेक्सुअल रूपमा लिइँदो रहेछ । त्यो बिहे भनेको बिहेसँग मात्रै जोडिँदो रहेनछ । मानिस सामाजिक रूपमा कसरी एकअर्कामा सँगै हुँदाखेरी आफ्नो समवेदना, भावना साट्न पाउँछ । कुराहरू, सामिप्यता, साथको लागि पो ठूलो रहेछ !’

ती बुवासँग रविन्द्रले केही घण्टा कुराकानी गरे । काठमाडौं फर्किएर पनि त्यस प्रकारका पात्रहरूको अध्ययन गर्न थाले । ‘काठमाडौं आएर रिसर्च गर्न थालेपछि त्यसप्रकारका धेरै पात्रहरू भेट्यौं । उहाँहरूको भित्री कुराहरू थाहा पाउँदै जाँदा छक्क पर्‍यौं । स्थिति भयावह रहेको पायौं,’ रविन्द्रले भने, ‘त्यसपछि यसलाई फिल्ममार्फत भन्नुपर्छ भन्ने भयो र आज यहाँसम्म आयौं ।’

देवघाटका ती ‘बा’को कथाबाट प्रभावित भएर निर्माण भएको फिल्म ‘महापुरुष’ आउँदो शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘बाले भनेका केही डाइलगहरू समेत फिल्ममा छन् । यतिबेला उहाँलाई सम्झिरहेको पनि छु,’ रविन्द्रले भने ।

एक्लोपनको कथा हो ‘महापुरुष’

‘महापुरुष’लाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् । प्रदीप र रविन्द्रको सहकार्य ‘जात्रा’, ‘जात्रै जात्रा’ हुँदै ‘महापुरुष’सम्म आइपुगेको हो । टे«लर सार्वजनिक भएसँगै फिल्मको कथालाई लिएर विभिन्न आकलन भइरहेका छन् । धेरैले फिल्मलाई एकल पुरुषको कथा भनेका छन् । लेखक एवं निर्देशक प्रदीप भने ‘महापुरुष’ एक्लोपनको कथा भएको बताउँछन् । ‘ट्रेलर हेर्दा एकल पुरुषको कथा देखिन्छ तर यो एकल पुरुष, एकल महिला, विवाहित महिलाभन्दा पनि एक्लोपनको कथा हो,’ प्रदीप भन्छन्, ‘त्यो एक्लोपनभित्र कुनै बेलामा हामी विवाह भएको, छोराछोरी भएको मानिस पनि पर्न सक्छौं ।’ एक्लोपनको महसूस गरिरहेको मानिसले साथी खोजिरहेको अवस्थामा विभिन्न बहानामा छुट्याउने कोसिस नगर भन्ने कथा फिल्ममा रहेको प्रदीप बताउँछन् ।

‘संसारमा सबैभन्दा बाँड्नुपर्ने, छर्नुपर्ने, पाउनुपर्ने माया हो तर त्यही मायालाई हामीले विभिन्न बहानामा निषेध गरिहरेका छौं,’ उनले भने, ‘प्रेमलाई कुनै बहानामा निषेध गर्नुहुँदैन भन्ने पनि हाम्रो फिल्मले भन्छ ।’

हरिवंश भन्छन् – पहिलोपटक ‘वर्कशप’ गरें

‘महापुरुष’ महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका कारण पनि विशेष छ । फिल्ममा मदनकृष्ण, हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली लगायतको शीर्ष भूमिका छ । अरुण र अञ्जनाको यही डेब्यू फिल्म हो । 

अभिनेता मदनकृष्णको स्वास्थ्यलाई ख्यालमा राखेर फिल्ममा उनको भूमिका निर्धारण गरिएको थियो । आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्ने मदनकृष्ण बताउँछन् । उनको ईच्छाशक्तिलाई लिएर पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना समेत दिएका छन् । ओलीले मदनकृष्णको पछिल्लो फिल्म ‘महापुरुष’ हेर्ने इच्छा समेत व्यक्त गरेका छन् ।

शीर्ष भूमिकामा प्रस्तुत हरिवंशले आफूलाई जुन काम गर्दा पनि पीर लाग्ने गरेको बताउँछन् । ‘महापुरुष’ फिल्मको कथा सुन्दा पनि पात्रअनुसार अभिनय गर्न सक्छु या सक्दिनँ भन्ने कुराले पीर लागेको हरिवंशको भनाइ छ । पहिले–पहिले फिल्मको वर्कशपको चलन थिएन । हरिवंश पनि अहिलेसम्म वर्कशपमा बसेका थिएनन् । ‘महापुरुष’ फिल्ममा उनी पहिलोपटक वर्कशपमा बसे । फिल्ममा फरक खालको गेटअपका लागि पनि निकै मेहनत गरेको हरिवंश बताउँछन् ।

‘धेरै वटा फिल्म खेलें, फिल्म बनाएँ पनि तर वर्कशप गर्ने चलन थिएन । जिन्दगीमा अहिलेसम्म वर्कशपमा बसेको थिएन । यसमा बसें,’ हरिवंशले भने । उनले चरित्रमा छिर्न मेहनत गरेको बताए । उनलाई श्रीमतीको अघि बसेर धेरै अभिनय गर्न लाज लाग्छ । एक्लै वाथरूममा हुँदा समेत डाइलग बोल्ने, मोबाइलमा भिडियो खिच्ने गर्थे । क्यारेक्टर आयो/आएन हेर्थे । नमिलेजस्तो लाग्थ्यो, फेरि हटाउँथे । ‘ठ्याक्कै क्यारेक्टरमा नआउँदा पीर पनि परिरहेको थियो तर कोसिस छोडेको थिइनँ,’ हरिवंश भन्छन्, ‘४/५ दिनपछि वर्कशपमा क्यारेक्टरमा आएजस्तो लाग्यो । निर्देशकले हो यो क्यारेक्टर नछोड्ने भन्नुभयो ।’ २/३ दिनपछि क्यारेक्टर ‘यूज टु’ भएको हरिवंशले बताए । अभिनयमा ‘काउन्टर पार्ट’ बलियो भयो भने राम्रो हुने उनी बताउँछन् ।

‘महापुरुष’मा नवअभिनेता, अभिनेत्री भए पनि आफूले राम्रो काउन्टर पाएको बताए । ‘अब गौरी मल्लजस्तो अभिनय क्षमता भएको कलाकार पाउन गाह्रो हुन्छ । काउन्टर पार्ट अझ गौरी मल्ल पर्नुभयो,’ हरिवंशले भने, ‘मदन दाइको कुरै नगरौं । राजाराम पौडेलले त जे गर्दा पनि हसाउनुहुन्छ ।’ ६० दिनको सुटिङ अवधि पिकनिकजस्तो भएको हरिवंशको भनाइ छ । 

अभिनेत्री गौरी मल्लले नाम सुन्दा पुरुषप्रधान फिल्मजस्तो लागे पनि पुरुषसँगै महिला पात्रलाई सशक्त ढंगले प्रस्तुत गरिएको बताइन् । ‘फिल्ममा नारी पात्र जबजब पर्दामा देखिन्छन्, तब फिल्मको कथावस्तुको ‘ट्वीस्ट एण्ड टर्न’ हुन्छ । भनाइको मतलब प्रदीपजी (निर्देशक) ले सशक्त तरिकाले नारी पात्रलाई पर्दामा उतार्नुभएको छ,’ गौरीले भनिन् ।


 
‘महापुरुष’ टीमसँगको भेटमा अभिनेता राजाराम पौडेलले आजसम्म कुनै पनि फिल्मकोे स्क्रिप्ट नपढेको बताउँदै ‘महापुरुष’मा पनि स्क्रिप्ट नपढी काम गरेको बताए । ‘उहाँहरूले गरेको काम नराम्रो हुँदैन भन्ने भयो । त्यसपछि मनले तनाव लिँदो रहेनछ,’ उनले भने । फिल्मले राम्रो गर्नेमा राजाराम आशावादी सुनिए ।

डेब्यू अभिनेता अरूण श्रेत्री आफूले पहिलेदेखि नै काम गर्न खोजेका अग्रज कलाकार एवं निर्देशकसँग एकै फिल्ममा जोडिन पाउँदा एकछिन सपना जस्तो लागेको स्मरण सुनाए । आफ्नो ‘क्यारेक्टर च्यालेन्जिङ’ रहेको बताउँदै फिल्ममा काम गरेपछि आफ्नो जीवनमा समेत परिवर्तन आएको अरुण सुनाउँछन् । उनले सामाजिक कथामा काम गर्ने आफ्नो पहिल्यैदेखिको इच्छा रहेको र त्यो इच्छा पनि डेब्यू फिल्मबाटै पूरा भएकोमा खुशी लागेको बताए ।

डेब्यू अभिनेत्री अञ्जना बराइलीले राम्रो व्यानर र अग्रज कलाकारहरूसँग काम गर्न पाउँदा गौरवान्वित महसूस गरिरहेको बताइन् । उनले फिल्ममा काम गर्न शुरूमा आफूलाई एकदमै धेरै डर लागे पनि टीमले सहज बनाइदिएका कारण आफ्नो तर्फबाट सक्दो मेहनत गरेको बताइन् । अरुण र अञ्जना दुवै अडिसनबाट छानिएका हुन् । फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले पुराना कलाकारले नयाँ पुस्ताले जस्तैगरी जोश जाँगरका साथ काम गरेको र नयाँ कलाकारले पनि अनुभवी कलाकारले जत्तिकै मेहनतका साथ काम गरेको धारणा राखे । फिल्म र निर्माण टीम राम्रो प्रतिक्रिया पाउनेमा विश्वस्त छ ।

हरिवंश भन्छन्, ‘२ दिन राम्रो हुन सक्यो भने फिल्म सफलताको बाटोमा जान्छ भन्ने विश्वास छ ।’

salt training

कमेन्ट गर्नुहोस्