
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने जानकारी दिएका छन् । शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरूलाई कदरस्वरुप हरेक वर्ष तीन जना व्यक्तित्वहरूलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
बुधवार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बताए । उनले नेपाल संवत्लाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए ।
‘यो सबै नेपालीहरूको लागि गौरवको विषय हो । यो संसारका लागि उदाहरणीय विषय हो । शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित गर्छ । नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा हुनुहुन्छ । यो नेपालीहरूको गौरवको विषय, संसारलाई उदाहरण दिने विषय दैनिक रुपमा व्यवहारमा ल्याउन सक्नुपर्छ । यो विषयमा कुराकानी भएको थियो । यसलाई कसरी वैज्ञानिक ढंगबाट व्यवहारमा ल्याउनसक्छौँ त्यसको बारेमा सोच्नुपर्छ । नेपाल संवतलाई कसरी व्यवहारिक बनाउने भन्नेबारेमा छलफल भइरहेको छ’, मन्त्री श्रेष्ठले भने, ‘यसलाई कसरी सरल बनाउने भन्ने बारेमा छलफल भएको छ । मन्त्रालयबाट म त्यो प्रक्रिया अघि बढाउनेछु । शंखधर साख्वाको योगदानलाई चीर बनाउने र राष्ट्रिय पुरस्कारको घोषणा गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ । शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्याउने व्यक्तिहरूलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम अघि बढेको छ ।’
मन्त्री श्रेष्ठले उपत्यकाको पर्यटन विकास संस्कृति र सम्पदाको विकास गरेर नै सम्भव रहेको बताए ।