१३ असार २०८३, शनिबार

पशुपतिको ‘आफ्नो आफ्नो दुःख’ : २५ हजारमा बनेको भिडियो ट्रेन्डिङको पहिलो नम्बरमा

‘गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन’
कात्तिक १६, २०७९
पशुपतिको ‘आफ्नो आफ्नो दुःख’ : २५ हजारमा बनेको भिडियो ट्रेन्डिङको पहिलो नम्बरमा

'मलाई पनि छ, उनलाई पनि छ 

आफ्नो आफ्नो दुःख त

जुनलाई पनि छ...'

उल्लेखित पंक्तिहरू लोकगायक पशुपति शर्माले चार दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको ‘आफ्नो आफ्नो दुःख’ बोलको गीतको हो । 

जुन गीत यतिबेला सर्वाधिक चर्चामा छ । टिकटकमा गीत छाएको छ, युट्युबमा लोभलाग्दो भ्युज पाइरहेको छ । 

युवापुस्तामाझ चर्चित फरक जनराका अर्का गायक सज्जनराज वैद्यको गीतलाई पछि पार्दै पशुपतिको गीत युट्युबको नेपाल ट्रेन्डिङमा संगीततर्फ पहिलो नम्बरमा उक्लिएको छ । समाचार तयार पार्दासम्म युट्युब भ्युज १४ लाख ५० हजार बढी पुगिसकेको छ । 

खासमा यो गीत पशुपतिले तीजको समयमा रेकर्ड गरेका थिए । तीजपछि भिडियो बनाएर सार्वजनिक गर्ने उनको तयारी थियो । 

यद्यपि, उनी लगातार कार्यक्रमहरूमा ब्यस्त बन्न पुगे । ‘कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया गएँ, जापान गएँ,’ उनी सुनाउँछन्, ‘यो गीत गाएको बिर्सिएको रहेछु ।’ 

पञ्चेबाजा गीत ‘जन्तै जाम्ला भतेरै खाम्ला’ तयार पारे । भिडियो बनाएर सार्वजनिक गरे ।

‘त्यसपछि पो मालश्री स्टुडियोको भाइले पुरानो गीत ल्याउने होइन दाइ भनेर सम्झाउनुभयो,’ उनी अगाडि सुनाउँछन् ‘अनि बल्ल ए ! हो त भन्ने भयो ।’ 

निर्देशक दुर्गा पौडेलसँग भिडियोका लागि छलफल गरे । एउटा कन्सेप्ट बनाए । 

त्यो कन्सेप्टमा भिडियो बनाउँदा ३ दिन लाग्ने र आर्थिक रुपमा पनि धेरै खर्च हुने देखियो । 

‘त्यो भन्दा बरु सामान्य भिडियो बनाएर विचार गरौं न भन्ने भयो,’ उनी भन्छन्, ‘त्यसपछि सामान्य भिडियो बनाइयो ।’

दुर्गा पौडेलको निर्देशनमा गीतको भिडियो सामान्य बन्यो । भिडियोमा पशुपति स्वयं प्रस्तुत भए । 

गीत चलेपछि उनी सुनाउँछन्, ‘दर्शक श्रोेताले कलाकारले कसरी गाउँछ भनेर पनि हेर्न चाहानुहँदोरहेछ । जे सोचेको थिए, त्योभन्दा धेरै रुचाउनुभएको छ ।’ 

आफूलाई असाध्यै मन परेको भएपनि यति धेरै राम्रो प्रतिक्रिया पाउला भन्ने आफूले नसोचेको उनको भनाइ छ । 

पशुपतिका अनुसार गीतको भिडियोमा २५ हजार रुपैयाँ मात्र लगानी भएको छ । 

‘यत्तिको सामान्य भिडियो बनाउँदा पनि ५०-६० हजार रुपैयाँ खर्च लाग्छ । तर, यो गीतको सन्दर्भमा निर्देशकले पैसा लिन मान्नुभएन । बाद्यबादक साथीहरुले पनि पैसा लिन मान्नुभएको थिएन । उहाँहरुलाई थोरै मात्रै पारिश्रमिक दिएको हुँ । त्यसैले सस्तोमा म्युजिक भिडियो बनेको हो’, शर्माले लाेकान्तरसँग भने ।  

गीतमा पशुपतिले आम मानिसको दुःख शलाई प्रस्तुत गरेका छन् ।

गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन

पछिल्लो समय निकै तामझामका साथ लाखौं खर्च गरेर भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । तर, गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन भन्ने उदाहरण पनि हो, पशुपतिको गीत ‘आफ्नो आफ्नो दुःख’ । 

गीत राम्रो भए सामान्य भिडियोमा पनि चल्छ भन्ने गीतले पुष्टि गर्छ ।

यसअघि सामान्य भिडियो मै प्रशान्त पौडेलको ‘सान्नानी जाम् पोखरा’ गीत पनि निकै चर्चित बनेको थियो ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्