
गीतमा म्युजिक भिडियो अनिवार्यजस्तै बनेको छ । त्योसँगै संगीत क्षेत्र महँगो बन्दै गएको छ । स्टार कलाकारहरू लिएर लाखौँ रुपैयाँ लगानी गरेर तामझामका साथ भिडियो निर्माण गर्ने परिपाटी अहिले व्याप्त छ । तर, सामान्य भिडियोमै पनि केही गीतहरूले दर्शक स्रोताहरूको निकै माया पाएका छन् ।
सर्जक एवं गायक देबेन्द्र बब्लुले ९ महिनाअघि ‘म त पर्खेको पर्खै छु’ बोलको गीत ल्याए । आफ्नै शब्द, संगीत, स्वर रहेको गीतको भिडियो देवेन्द्रले सामान्य बनाएका थिए । आफ््नै अभिनय रहेको गीतले स्रोता दर्शकबाट निकै माया पायो । टिकटकमा निकै चलेको गीतले युट्युबमा पनि राम्रो भ्युज पाएको छ । अहिले गीतको भ्युज ९० लाख बढी पुगिसकेको छ ।
प्रशान्त पौडेलले ४ महिनाअघि ‘सान्नानी जाम पोखरा’ बोलको गीत ल्याए । उनकै शब्द, संगीत र स्वरमा सार्वजनिक गीत स्रोता दर्शकले असाध्यै रुचाए । टिकटकमा भाइरल गीतले युटयुबमा पनि राम्रो भ्युज पायो । प्रशान्तले स्टुडियोभित्र आफ्नो ‘लिप्सिङ’ खिचे र भिडियो तयार पारेका थिए । अहिले भिडियोको भ्युज ७५ लाख पुगिसकेको छ ।
यतिबेला अर्को एउटा सामान्य भिडियो भएको गीतले स्रोता दर्शकबाट निकै माया पाइरहेको छ । पशुपति शर्माले पाँच दिनअघि सार्वजनिक गरेको ‘आफ्नो आफ्नो दुःख’ चर्चित बनेको हो । उनकै शब्द, संगीत, स्वर रहेको गीतको भिडियो पशुपतिले न्यून खर्चमा सामान्य बनाएका छन् । टिकटकमा भाइरल गीतले युट्युबमा हरेक दिन ५ लाख भ्युज बढाइरहेको छ ।
गायक सज्जनराज वैद्यले आफ्ना प्राय गीतको भिडियो सामान्य भिडियो बनाउँदै आएका छन् । यद्यपि, पनि उनका अधिकांश गीतहरू स्रोता दर्शकले निकै रुचाउँदै आएका छन् । उनको पछिल्लो गीत ‘धैर्य’लाई पनि उत्तिकै रुचाइएको छ । अन्य थुप्रै गीतहरू छन्, जसले सामान्य भिडियोमै पनि राम्रो चर्चा पाएका छन् । यसप्रकारका गीतले के सन्देश प्रवाह गर्छन् भने गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन, सामान्य भिडियोमै पनि स्रोता/दर्शकले रुचाउँछन् ।