२९ जेठ २०८३, शुक्रबार
इलामकाे चुनावी चहलपहल

३१ वर्षदेखि चुनाव लडिरहेका झलनाथलाई आफ्नै कार्यकर्ताको चुनौती, पहिले गाली गरेका कांग्रेसलाई फकाउन हम्मेहम्मे

३१ वर्षदेखि चुनाव लडिरहेका झलनाथलाई आफ्नै कार्यकर्ताको चुनौती, पहिले गाली गरेका कांग्रेसलाई फकाउन हम्मेहम्मे

नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित’ नेता झलनाथ खनाल आफैंले बनाएको पार्टी नेकपा एमालेका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । इलामेली जनतासँग सूर्य चिह्नमा मत माग्दै आएका खनाल यसपटक भने सूर्यलाई भोट नदिनुहोस् भनिरहेका छन् ।

अघिल्ला चुनावहरूमा सूर्यको पक्षमा पैरवी गर्दै कहिले हँसिया हथौडामा त कहिले रूख चिह्नमा मत हाल्न नहुने तर्क गरेर इलामका रनवन ढुलिरहेका हुन्थे । तर, अहिले भने परिस्थिति ठ्याक्कै उल्टो छ । सुर्य अर्थात एमालेलाई मत दिन नहुने र कलम, हँसिया हथौडा र रूख चिह्नमा भोट हाल्नुपर्ने कारण उनले मतदातालाई सुनाइरहेका छन् । 

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा इलाम क्षेत्र नम्बर–१ मा सत्तारूढ गठबन्धनकोतर्फबाट साझा उम्मेदवार भएका खनालको चुनाव चिह्न कलम हो । माओवादी र कांग्रेसले उनलाई सघाइरहेको छ । उनीहरूकै मतको बलमा चुनाव जित्ने तयारीमा खनाल छन् ।  तर, खनाललाई भने यतिबेला मुख्यगरी कांग्रेका कार्यकर्ता फकाउन हम्मे–हम्मे परिरहेको छ ।

अघिल्ला चुनावमा र करिब एक वर्ष अगाडिसम्म सार्वजनिक मञ्चबाट खनालले प्रहारको निशाना कांग्रेसका कार्यकर्तालाई नै बनाउने गरेका थिए । तर, अहिले तिनै कांग्रेसका कार्यकर्तालाई फकाउनुपर्ने अवस्था आइपरेको छ । 

इलामको फिक्कलमा भेटिएका कांग्रेसका एक कार्यकर्ता भन्छन्, ‘हाम्रै अगाडि काँग्रेससँग कम्युनिष्टहरूको तालमेल हुँदैन भनेकोे याद ताजै छ । हामीलाई उहाँले गुण्डाकोरूपमा परिभाषित गर्नुहुन्थ्यो ।  हामीलाई उहाँले गुण्डागर्दीमा उत्रिएको भन्नु भएको थियो ।’

नेता खनालले स्थानीय तहको निवार्चनमा सूर्दोदय नगरपालिकामा एकीकृत समाजवादीकोतर्फबाट मेयरका उम्मेदवारलाई काँग्रेसले भोट नहालेको भन्दै ‘गुण्डा’को संज्ञा दिएको भन्दै काँग्रेसका मतदाता रूष्ट छन् । 

सार्वजनिक मञ्चबाटै कांग्रेसका नेताहरूप्रति गरिएको कटाक्ष उनीहरूले विर्सिएका छैनन् । 

स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टीलाई भोट हाल्न नपाएको नेपाली काँग्रेसका मतदाताले संघीय निर्वाचनमा भने आफ्नै पार्टीको उम्मेदवारलाई मत हाल्न पाउने आशा गरेका थिए । 

सुर्योदय नगरपालिका–६ की सुस्मा भण्डारी (४५) भन्छिन्, ‘हामीले त आफ्नो पार्टीलाई भोट नै हाल्न नपाउने भयौं । विगतमा प्रतिस्पर्धी भएर उहाँले (खनाल) जितेर जानु भएको हो । आज फेरि उहाँलाई आफ्नो उम्मेदवारकोरूपमा मत हाल्न पर्ने भयो । तर, मनले मानेको छैन ।

सोही नगरपालिकाकी अर्की गंगा ढुङ्गाना (४०)ले पनि २७ बर्षदेखि निरन्तर जित्दैं आएका नेतालाई भोट हाल्न मन नलागेको बताइन् । खनाल २०४८ सालदेखि निरन्तर इमालबाट चुनाव लड्दै आएका छन् । 

‘उही पुरानो अनुहार उम्मेदवार भएर आएका छन् । चुनाव जितेर गएपछि फेरि चुनावको बेला मात्रै मुख देख्न पाइन्छ । त्यो पनि परैबाट नमस्कार गरेर जान्छन्’, ढुङ्गानाले भनिन् । 

इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा कन्याम, फिक्कल हुँदै पशुपतिनगरबाट भारतको सिक्किम जाने सडक राजा महेन्द्रको पालामा बनेको थियो । त्यसयता नेताहरूले खासै ठूलो काम नगरेको स्थानीयहरू बताउँछन् । 

नेपाली चियाले बजार नपाएको समस्याप्रति नेताहरुको ध्यान नगएको उनीहरूको गुनासो छ ।​

‘२०५६ सालदेखि जित्दै जानु भएको छ । प्रधामन्त्री पनि भइसक्नु भएको मान्छे हो । तर, उहाँले यहाँको विकासको बारेमा सोच्नु भएको छैन् । न त कुनै गौरवका आयोजना नै ल्याउन सक्नु भएको छ’, सूर्योदय नगरपालिका कन्याममा नरेन्द्र पौडेलले भने, ‘उहाँ चुनावको समयमा आउने एउटा सिलन्यास गरेर जाने मात्रै काम गर्नु भएको छ ।’

इलाम क्षेत्र नम्बर– १ मा एमालेका उम्मेदवार महेश बस्नेत पनि इलाम बजारबाट चुनाव लड्नको लागि आएकाले उनले पनि  फिक्कल, पशुपतिनगर लगायत समग्र १ नम्बर निर्वाचन क्षेत्रको समस्या बुझ्न नसक्ने पौडेलको दावी छ । इलाम बजार क्षेत्र नम्बर–२ मा पर्छ । 

नेताहरुले इमालको चियालाई अन्तर्राष्ट्रिय बजारमा लैजाने वातावरण बनाउन नसकेके आरोप स्थानीयले लगाउने गरेका छन् । नेपाली चियालाई भारतको सिक्कमको चिया भनेर बेच्नु पर्ने विडम्बना रहेको सूर्योदय नगरपालिका–६ का लक्ष्मीरमण खतिवडाले बताए । 

‘मैले नेपाली चियालाई कसरी अग्र्रानिक बनाउन सकिन्छ भनेर अभियान नै चलाएको छु । हाम्रो विडम्बना नै सिक्कीमको चिया हो भनेर बेच्नु पर्ने अवस्था छ । यो समस्यामा यहाँका नेताहरूले कहिल्यै ध्यान दिएका छैनन्’ खतिवडाले लोकान्तरसँगको कुराकानीमा भने ।

नेकपा एमालेका इलाम प्रतिनिधिसभा–१ का उम्मेदवार महेश बस्नेत मतदाताले ३ दशकदेखिका पुराना उम्मेदवारको विकल्प र युवा प्रतिनिधि खोजेकोले यसपटक आफूले चुनाव जित्ने दावी गर्छन् । 

बस्नेतले लोकान्तरसँग भने, ‘चुनावी अभियानमा घरदैलो गर्दा र मतदाताको बुझाई हेर्दा विगतदेखि नै सूर्य चिन्हलाई गरेको विश्वास यसपटक पनि दोहोरिने देखिन्छ ।’

बस्नेत भन्छन्, ‘उसै पनि इलाममा एमाले बलियो छ । यस पटक युवा उम्मेदवारको बढी खोजी भइरहेको र चुनाव चिन्हप्रतिको मतदाताको विश्वासले पनि फाइदा हुन्छ ।’ 

इलामको विकास निर्माणमा एमाले नेताले पुर्याएको योगदान र एमालेकै लाल किल्ला भएकोले अरू पार्टीको उपस्थिति नगन्य हुने दाबी बस्नेतको छ । एमालेको इलाम जिल्ला कमिटीको अध्यक्ष रहेका बस्नेत इलाम नगरपालिकाको पूर्व नगरप्रमुख पनि हुन् । 

यस अघि इलाम क्षेत्र नम्बर–१ बाट निरन्तर जित्दै आएका झलनाथ खनाल गठबन्धनको तर्फबाट साझा उम्मेदवार भएका कारण सहजै चुनाव जित्ने दावी गर्छन् । इलाम–१ का जनताले वर्षौदेखि आफैंलाई विश्वास गरेको र इलामको विकास निर्माणमा आफूले गरेको योगदानका कारण पनि मतदाताले साथ दिने उनको दावी छ ।

इलाम–१ मा गठबन्धनको तुलनामा एमाले कमजोर रहेको, संसद विघटनपछि एमालेका नेता कार्यकर्ता समाजवादीमा रहेको आदी कारण फराकिलो मतान्तरमा चुनाव जित्ने खनालको बुझाई छ ।

इलाम–१ मा खनाल र बस्नेतबाहेक जनता समाजवादीका कलमकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, संघीय लोकतान्तिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बु, नेपाली कांग्रेस (विपी)का गणेशप्रसाद पौडेलसहित स्वतन्त्र उम्मेदवारत्रय विक्रम पाण्डे, नेत्रप्रसाद रेग्मी र निमा तेन्जीङ शेर्पा प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।

३९ वटा वडा रहेको यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली काग्रेसले १६, एमालेले १५, समाजवादीले सात र स्वतन्त्रले एउटा वडा जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्