
नेपाल टेलिकमको अप्टिकल फाइबर लिङ्कमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध भएको हो ।
फाइबर सेवा अवरुद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।
दिक्तेलबाट करिब २१ किलोमिटर टाढा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा खराबी आएको र प्राविधिक टोलीलाई त्यसतर्फ खटाइसकिएको नेपाल दूर सञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए ।