![कुन–कुन कलाकारले गरे मतदान ? [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/316153691_670124988006303_1650125125357983100_n_jmRjiWeJQN.png)
प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतवार देशभर मतदान जारी छ । कलाकारहरूले समेत आ–आफ्नो तोकिएको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
कतिपय कलाकार विभिन्न कारणवश मतदान गर्नबाट वञ्चित हुने देखिएपछि धेरै कलाकारहरूले मतदान गर्नेछन् ।
दिउँसो १ः३० बजेसम्ममा थुप्रै कलाकारहरूले मतदान गरिसकेका छन् । अभिनेता राजेश हमालले काठमाडौं लैनचौरस्थित जननाथ स्मृति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहान ११ बजे मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।
मतदानपश्चात उनले ५ वर्षपछि आफू राजनीतिमा आउने समेत उद्घोष गरेका छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि मतदान गरिसकेकी छन् ।

उनले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका–३ वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् । पति विनोद मानन्धरसँग मतदान गर्न पुगेकी उनले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताउँदै आगामी चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गरेकी छन् ।
अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले काठमाडौं क्षेत्र नम्बर-२ स्थित गुहेश्वरी मावि केन्द्रबाट मतदान गरेका छन् । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले विराटनगर पुगेर मतदान गरेकी छन् । उनले मतदानपछि तीन तस्बिरहरू फेसबुकमा शेयर गरेकी हुन् । अभिनेत्री संचिता लुइँटेलले काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिर मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

निर्देशक एवं अभिनेता निश्चल बस्नेतले पनि मतदान गरिसकेका छन् । मतदानपश्चात फेसबूकमा तस्वीर राख्दै उनले लेखेका छन्, ‘औंलामा लाइन कोरेको मात्र होइन, आफ्नो भविष्य पनि रोजेको हो । आशा गरौं जित्नेहरूले देशको भलो गरुन्, आशा गरौं देशको भलो गर्नेहरूले जितून् ।’
अभिनेत्री स्वस्तिमा खड्काले पनि मतदान गरिसकेकी छन् । मतदानपश्चात एक तस्वीर फेसबूकमा शेयर गर्दै उनले परिवर्तनका लागि मतदान गरेको उल्लेख गरेकी छन् ।

हास्य अभिनेता निर्मल शर्मा ‘गैडा’ले काठमाडौं क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेता शर्माले पनि अब आफू सक्रिय राजनीतिमा लाग्ने बताएका छन् ।
हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले सर्लाहीबाट मतदान गरेका छन् । उनले बरहथवा नगरपालिका–१५ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
चलचित्र निर्देशक एवं अभिनेता नवल खड्काले खोटाङबाट मतदान गरेका छन् । खोटेहाङ्ग गाउँपालिका सिम्पानीबाट उनले मतदान गरेका हुन् । चलचित्र निर्देशक मनोज पण्डितले मतदान गरिसकेका छन् । काभ्रे–२ मा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले सोही क्षेत्रको मतदान केन्द्रबाट मतदान गरेका हुन् । अभिनेता मनोज गजुरेलले सूर्यविनायक–२ बालकोटको बालविनायक मतदान केन्द्रबाट मतदान गरेका छन् ।
गायकप्रमोद खरेलले गृहजिल्ला झापाबाट मतदान गरेका छन् । केही कलाकारहरू भने विभिन्न कारणवश मतदान गर्नबाट वञ्चित देखिएका छन् ।
