
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी रामउदित यादवका अनुसार अहिले यस अस्पतालमा दैनिक रूपमा पाँच जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन् ।
जिल्लामा केही दिनदेखि अत्यधिक गर्मीका कारण विषरहित विभिन्न तथा विषालु प्रजातिका सर्पले हिँडिरहेका तथा खेतबारी काम गर्न पुगेका व्यक्तिलाई डस्ने क्रम बढ्दो छ ।
उपचारका लागि अस्पतालमा पुग्नेमध्ये बढी बिरामी विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको उनले जानकारी दिए ।
महोत्तरीमा विषरहित ढोरिया र हरहरा तथा विषालु सबैभन्दा बढी करेत र गोमन सर्पहरू बढी पाइने गरेको छ ।
गत वैशाख महिना मात्रै २३ जना सर्पले डसेका बिरामी उपचारका लागि अस्पताल पुगेकामा जेठमा त्यो सङ्ख्या बढेर ५६ जना पुगेको छ ।
महोत्तरीका १० वटै नगरपालिका र पाँच गाउँपालिकामा गर्मीयाममा सर्पको जोखिम रहेको छ । अस्पतालमा सीमापारी भारतको विभिन्न ठाउँठाउँबाट पनि बिरामी उपचारको लागि आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार सर्पले डसेको बिरामीलाई दिइने एन्टिभेनम (औषधि) पर्याप्त मात्रामा रहेकाले उपचारमा समस्या भने रहेको छैन ।
अस्पतालमा आईसीयू कक्ष नरहेकाले विषालु सर्पले डसेर आउने उच्च जोखिमका बिरामीलाई थप उपचार गर्न अन्य अस्पतालबाट रेफर गर्नुपर्ने बाध्यता भने रहेको देखिन्छ ।