
यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राजनीतिकर्मी मात्रै होइन्, कलाकारहरुको समेत उल्लेख्य सहभागीता रह्यो ।
चर्चित गायक मुरलीधर मिझार, अभिनेत्री रेखा थापादेखि ‘सक्किगोनी’का कलाकार मधुसुदन पाठक (
सिते बा), निर्माता रोज राणासम्म चुनावी मैदानमा होमिए ।
यद्यपी, अधिकांश कलाकार उम्मेद्वारले सोँचेजस्तो मत भने ल्याउन सकिरहेका छैनन् ।
जारी मतगणनामा अधिकांश कलाकार उम्मेद्वारहरु पछाडि परेका छन् । चर्चित गायक मुरलीधर मिझार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिरहा –२ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका थिए ।
उनको गाएको गीत ‘उडायो सपना सबै हुरीले’ भनेझै उनको सांसद हुने सपना पनि हुरीले उडाएझै भयो । उनी मतपरिणाममा धेरै पछाडि छन् । पछिल्लो मतपरिणामअनुसार, मुरलीधरले जम्मा १ सय ६५ मत ल्याउँदै चौथो स्थान बनाएका छन् । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादव ४ हजार ४ सय ७२ मतका साथ अग्रस्थानमा छन् ।
यस्तै, मोरङ–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिभिसभा सदस्य उम्मेद्वार रहेकी चर्चित अभिनेत्री रेखा थापा पनि मतपरिणाममा पछाडि छिन् । पछिल्लो मतपरिणामअनुसार उनी २ हजार ९ सय ९६ मत ल्याउँदै तेस्रो स्थानमा छिन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा १४ हजार ३३ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एमालेका भानुभक्त ढकाल ८ हजार ७ सय ४८ मतका साथ दोस्रो स्थानमा छन् ।

दाङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेकी गायिका कोमल वली दोस्रो स्थानमा छिन् । नेकपा एमालेबाट उम्मेद्वार रहेकी उनले ६ हजार ६ सय ५२ मत पाएकी छिन् । यहाँ नेपाली कांग्रेसका दीपक गिरीले ८ हजार ४ सय ३५ मतका साथ अग्रता लिईरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका कमेडियन हिमेश पन्त पनि मतपरिणाममा पछाडि परेका छन् । आफ्नै गृह जिल्ला धादिङ क्षेत्र नम्बर –१ बाट उम्मेदवारी दिएका पन्त मत परिणाममा तेस्रो स्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले १३ हजार ६ सय ८ मत पाएका छन् भने एमालेका भूमीप्रसाद त्रिपाठीले १२ हजार ६ सय २८ मत पाएका छन् । हिमेशले ४ हजार ४ सय ४३ मत मात्रै पाएका हुन् ।
काभ्रे क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवार रहेका ‘दासढुंगा’ फिल्मका निर्देशक मनोज पण्डित पनि मतगणनामा धेरै पछाडि परेका छन् ।
यहाँ गठबन्धनबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार ५ सय ९३ मतका साथ अग्रता लिईरहँदा एमालेका गोकुलप्रसाद बाँस्कोटाले १२ हजार ४ सय ८५ मतका साथ पछ्याईरहेका छन् । निर्देशक पण्डितले जम्मा ५४ मत पाएका छन् ।
त्यसैगरी, काठमाडौं–५ मा हाम्रो नेपाली पार्टीबाट उम्मेद्वारी दिएका ‘सक्किगोनी’का कलाकार मधुसुदन पाठक (सिते बा)ले ३ सय ६४ मत मात्रै पाए । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडल विजयी भईसकेका छन् ।
काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले हालसम्म ४ सय ९९ मतमात्रै ल्याएका छन् । नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेद्वार रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिईरहेका छन् । 
प्युठानको प्रदेश निर्वाचन क्षेत्र नम्बर–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका रोज राणा (सरोज थापा) दोस्रो स्थानमा छन् । नेपाली कांग्रेबाट उम्मेद्वार रहेका राणाले हालसम्म ८ हजार ९ सय ६६ मत ल्याउँदा नेकपा एमालेका हरिप्रसाद रिजालले ९ हजार ८ सय ५० मत ल्याएर अग्रता लिईरहेका छन् ।
काठमाडौं २ (१) बाट चुनावी प्रतिस्पर्धामा रहेका अभिनेता राजकुमार तिमिल्सिना पनि मतगणनामा पछाडि छन् । सिलसिला, मन मनै मन पराए, फैसला जस्ता हिट फिल्ममा अभिनय गरेका तिमिल्सिना हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा उत्रिएका थिए । तर, उनको चुनावी अभिनय भने जम्न सकेन । उनले ९ सय २३ मत पाएका छन् ।
काठमाडौं–२ (१) मा राप्रपाका सुनिल केसीले ६ हजार ५ सय ९८ मतका साथ अग्रता लिईरहेका छन् ।
काठमाडौं–१ (२) मा उम्मेद्वार रहेका फिल्म निर्माता एवं वितरक करण श्रेष्ठ पनि चुनावी नतिजामा पछि परे ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेद्वार रहेका उनले ६७ मत मात्रै पाएका छन् । यहाँ नेपाली कांग्रेसका सुरजचन्द्र लामिछाने ४ हजार ५ सय १० मतका साथ अग्रस्थानमा छन् ।
धादिङबाट प्रदेश सभा सदस्य उम्मेद्वार रहेका अभिनेता एवं निर्माता मदुकुमार श्रेष्ठले भने विजयी हासिल गरिसकेका छन् ।
उनी धादिङ– १ (१) मा नेपाली कांग्रेसकोतर्फबाट विजयी भएका हुन् । निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेद्वार छन् । ‘कालो पोथी’ फिल्म निर्देशक मीन भाम प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसकोतर्फबाट समानुपातिक उम्मेदवार छन् ।