
२०४८ यता २०७४ सालबाहेक सबै संसदीय चुनाव जित्ने सीमित नेतामध्येमा पर्छन् नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्का । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट सभासद् भएका थिए ।
२०७४ को चुनावमा उनी तत्काल बाम–गठबन्धनका उम्मेदवार एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए । यो नै खड्काले पहिलो हारको अनुभव हो ।
जसले पहिलो हारको स्वाद चखायो उनैलाई यसपटक हराएर खड्काले छैटौं पटक संसदीय यात्रा तय गरेका छन् । सुर्खेत–१ बाट निर्वाचन लड्दै आएका उनी यस पटक फराकिलो मतान्तरका साथ विजयी बने ।
खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी शाहीले ३० हजार ९८८ मत प्राप्त गरे । जुन निकटतम प्रतिस्पर्धीभन्दा ११ हजार ६१९ मतान्तरले बढी हो ।
गठबन्धनकै कारण हारेका खड्काले गठबन्धनकै बलमा बदला लिएका छन् । यस पटक सत्ता गठबन्धनका सबै दलले खड्कालाई समर्थन गरेका थिए ।
६ महिनामै मेयरबाट अपदस्थ
२०१० सालमा जन्मिएका खड्काको राजनीति २०३१ सालबाट शुरू भएको हो । २०३४ सालमा २४ बर्षको उमेरमा सुर्खेत कांग्रेसको सभापति बनेका उनी २०४३ सालमा चुनाव उपयोग गर्ने पार्टी नीतिबमोजिम वीरेन्द्रनगर नगर पञ्चायतमा बहुदल पक्षधरकारुपमा मेयरमा निर्वाचित भएका थिए । त्यसबेला उनलाई पञ्चायतको पक्षमा समर्थन गर्न आएको दबाबलाई ठाडै इन्कार गरे ।

राजाको जन्मोत्सव समारोहमा सहभागी नभएकोलगायतका आरोप लगाउँदै पञ्चायत पक्षधरले उक्त चुनावका प्रत्यासीलाई अदालतमा मुद्दा दर्ता गर्न लगाए । निर्दलीय व्यवस्थाको सर्मथन नगरेको परिणामस्वरुप जिल्ला अदालतले उनलाई मेयरबाट अपदस्थ गरिदियो । खड्काले जम्मा ६ महिनामात्रै मेयरको जिम्मेवारीमा काम गर्न पाए ।
खड्काले २०४६ सालको आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । बहुदलीय व्यवस्था पुनःस्थापनापछि तत्कालिन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईका प्रिय पात्रमध्ये उनी एक नम्बरमै गनिन्थे । २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेपछि उनी पार्टीभित्र मात्र नभई सरकारमा पनि महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए ।
उनले दुईपटक गृहसहित सूचना तथा सञ्चार, युवा तथा खेलकुद, वाणिज्य तथा आपूर्तिमन्त्रीको अनुभव बटुलीसकेका छन् । लगातार निर्वाचन जितेर आकर्षक मानिने मन्त्रालयको नेतृत्व गर्न पाउँदा उनले पार्टीभित्र पनि आफ्नो पडक विस्तार गर्न सफल भए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन शुरू गरेपछि प्रतिगमनविरोधी आन्दोलनमा सक्रिय रहँदा उनी नजरबन्द तथा थुनामा परेका थिए ।
कृष्णप्रसाद भट्टराईलाई आर्दश मान्ने उनी काङ्ग्रेसमा खुमबहादुर खड्काको प्रभाव रहँदा उनीसँगै थिए ।
कांग्रेसको १२ औं महाधिवेशनमा सह–महामन्त्री र १३ औं महाधिवेशनमा महामन्त्री मनोनित भएका खड्का गत वर्ष सम्पन्न १४ औं महाधिवेशनबाटठ भने उपसभापति निर्वाचित भएका छन् ।
खड्का महामन्त्री भएयता पार्टीमा देउवा–खड्काको सम्बन्ध समधुर रह्यो । पछिल्ला केही वर्षयता देउवाका हरेक काम र निर्णय प्रक्रियामा उनी सारथी बन्दै आएका छन् । लामो समयदेखि देउवालाई सघाउँदै आएका विमलेन्द्र निधिले देउवाको साथ छाडेपछि खड्कालाई पार्टीको दोस्रो वरियतामा पुग्न सहयोग मिल्यो ।
२०७४ को निर्वाचनपछि संघ–प्रदेश सबैतिर प्रतिपक्षी भूमिकामा रहेको कांगे्रसलाई सत्तामा पुर्याउने भूमिकामा पनि खड्काको योगदान रहेको चर्चा कांग्रेस वृत्तमा हुने गरेको छ ।
२०७४ को चुनावपछि सबैभन्दा पहिले सत्तामा कांग्रेसको ‘इन्ट्री’ कर्णालीबाटै भएको थियो । ‘एमालेलाई सत्ताच्युत गराउन र कांगे्रसलाई सरकारमा सहभागी हुने वातावरण कर्णालीबाटै उहाँले थाल्नुभएको हो’, सुर्खेत कांगे्रसका सचिव देवकुमार सुवेदी भन्छन्, ‘पार्टी केन्द्रमा महत्वपूर्ण जिम्मेवारी रहेकाले माओवादी र तत्कालिन माधव नेपाल निकट नेताहरूसँग संवादको थालनी गरेर निश्कर्षमा पुर्याउन सफल हुनुभयो ।’
खड्का मिडियाको सम्पर्कमा आउन खासै रुचाउँदैनन् । यसपटक चुनावी अभियानका लागि काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र जानुपूर्व उनले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग औपचारिक भेटघाट गरे ।
उक्त भेटमा उनले ११ वर्षपछि आफूले पत्रकार भेटघाटको कार्यक्रम तय गरेको बताएका थिए । बोल्दा अनावश्यक विवादमा परिने भन्दै उनी मिडियाबाट टाढै बस्न रूचाउँछन् ।
मन्त्री नबन्ने उद्घोष
खड्काले चुनावी अभियानका क्रममा सार्वजनिक मञ्चहरूबाट अब मन्त्री नबन्ने उद्घोष गरेका थिए । उनको यो अभिव्यक्तिलाई उनका कार्यकर्ताहरूले भने प्रधानमन्त्रीको दावीकोरूपमा ब्याख्या गर्दै आएका छन् ।

‘दुईपटक गृहसहित विभिन्न मन्त्रालय चलाइसकेको छु, अब फेरि मन्त्रीकै लागि मरिहत्ते गर्दिन । पार्टीमा क्षमतावान अन्य साथीहरु पनि हुनुहुन्छ । उहाँहरुलाई पालो दिनुपर्छ’, खड्काले भन्ने गरेका छन् ।
औपचारिकरूपमा खड्का आफैले प्रधानमन्त्रीको दावी भने गरिसकेका छैनन् । ‘पार्टीले शासकीय जिम्मेवारी के दिन्छ थाहा छैन्, मलाई यो नै चाहियो भन्ने केही छैन्’, खड्का भन्छन् ।
पार्टीमा दोस्रो वरियता, समन्वयकारी भूमिका निर्वाह गर्ने नेता र संस्थापन खेमाकै भएको हुँदा उनलाई ‘भावी प्रधानमन्त्री’कोरूपमा हेर्ने गरिएको छ ।
उनका निकटस्थहरू भने खड्का अब बन्ने सरकारमा महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री वा सभामुख बन्न सक्ने आँकलन गर्छन् ।
सुर्खेत–१ को मेहेलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले आफू निर्वाचित भएको प्रमाणपत्र बुझिसकेका छन् । आफ्नो क्षेत्रका जनतालाई धन्यवाद दिएर छिट्टै काठमाडौं फर्कने तयारीमा रहेका खड्काले निर्वाचित भएको प्रमाणपत्र बुझेपछि भने, ‘सुर्खेतका साथै समग्र कर्णालीको विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने छु ।’