
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट–१ बाट चुनाव जितेर काठमाडौं फर्किएपछि आइतवार पहिलोपटक पार्टी कार्यालय पुगेका थिए । पार्टी कार्यालयमा उनको कार्यकक्षमा कार्यकर्ताहरूले खादा लगाएर चुनाव जितेकोमा बधाई दिए ।
कार्यकर्तासँगको भेटघाटका नेपालले अनौपचारिकरूपमा आफ्ना कुरा राखेका थिए । त्यसक्रममा उनले रौतहटबाट चुनाव लड्ने भनेर गरेको निर्णय सही भएको बताएका थिए ।
‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्’, नेपालले भने ।
उनले आफ्नो मात्रै चिन्ता व्यक्त गरेनन् । माओवादी केन्द्रका अध्यक्ष पनि चितवन छाडेर गोरखा जानु सही भएको निष्कर्ष सुनाए । ‘प्रचण्डलाई पनि अप्ठ्यारो पार्ने रहेछन् । गोरखा गएर राम्रो भयो’, नेपालले भने ।
यसअघि काठमाडौं–२ बाट चुनाव लड्दै आएका नेपालले मंसिर ४ मा भएको चुनावमा रौतहट–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका थिए ।
त्यहाँ उनले नेकपा एमालेको अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका थिए ।
यसअघि नेपालले चुनाव जितेको काठमाडौं–२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनाव जितेकी छन् । सत्तारूढ गठबन्धनकी उम्मेदवार एवं पूर्वसभामुख ओनसरी घर्ती चौथों स्थानमा सीमित भइन् ।
उता प्रचण्डले छाडेको चितवन–३ मा पनि राप्रपाका विक्रम पाण्डेले चुनाव जिते । माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारी पराजित भए ।