
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मंगलवार बिहान ११ः३० बजेसम्म ९६ लाख ७० हजार ८८३ मत गनिएको छ ।
पछिल्लो मत परिणामअनुसार डा. चन्द्रकान्त राउत (सिके) नेतृत्वको जनमत पार्टीले पनि ‘थ्रेसहोल्ड’ कटाउने देखिएको छ । हालसम्म जनमत पार्टीले ३ लाख १६ हजार ६५३ मत प्राप्त गरेको छ । समानुपातिकतर्फ खसेको कूल मत करिब १ करोड ९ लाखमध्ये सदर मतको ३ प्रतिशत मत प्राप्त गर्नेले राष्ट्रिय दलको मान्यता पाउनेछ । सोही आधारमा ३ लाख मत कटाउनेले राष्ट्रिय दलको मान्यता पाउने संभावना रहन्छ । राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीले भने थ्रेसहोल्ड कटाउनेमा अझै आशंका बाँकी छ ।
समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायम छ । पछिल्लो मत परिणाममा एमालेले २६ लाख ७ हजार ४७२ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले २४ लाख ७० हजार २३४ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५४ हजार ७५७ मत पाएको छ । जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७३ मत पाएको छ ।
राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीले पछिल्लो मत परिणाममा २ लाख ६८ हजार ४९७ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३८ हजार ६९८ मत पाएको छ ।