
अहिले संसारभर ६०० जना जतिको लाशलाई फ्रीज गरेर राखिएको छ ।
तीमध्ये ३०० भन्दा बढी लाश अमेरिका र रुसमा छन् । यी मानिसहरू पूरै मर्नुअघि उनीहरूको मस्तिष्क र शरीरलाई ल्याबमा राखिएको थियो ।
कानूनी रूपमा यी मानिस मरिसकेको भए पनि क्रायोनिक्समा विश्वास गर्ने वैज्ञानिकहरूले यिनीहरू बेहोश मात्र भएको बताउने गरेका छन् ।
अहिले कैयौं मानिसले आफू मरेपछि लाशलाई नष्ट नगरी क्रायोनिक्स प्रविधिमार्फत सुरक्षित राख्न परिवारसँग अनुरोध गरेका छन् । त्यसरी लाश ल्याबमा राख्नका लागि करोडौं रुपैयाँ तिर्न पनि उनीहरू तयार छन् ।
विभिन्न देशमा निजी कम्पनीहरूले लाश सुरक्षित राख्ने ल्याब बनाएका छन् ।
अमेरिकी वैज्ञानिक डा रिचर्ड गिब्सनका अनुसार, भविष्यमा मेडिकल साइन्सले मरिसकेको मानिसलाई फेरि जिउँदो बनाउन सक्ला भनी आश गरेर शवलाई फ्रीजमा राखिएको हो ।’ उनी अमेरिकाको टेक्ससस्थित इन्स्टिच्युट अफ बायोएथिक्स यान्ड हेल्थ ह्युमानिटिजका प्राध्यापक हुन् ।
हलिउड फिल्म डिमोलिसन म्यान र रोबोकपमा यही प्रविधिमार्फत मरिसकेका मानिसलाई जिउँदो बनाएको देखाइएको छ ।
गिब्सन भन्छन्, ‘यस प्रविधिले मानिसलाई पुनः जिउँदो बनाउने विषयमा वैज्ञानिकहरू दुई खेमामा बाँडिएका छन् । आगामी ५० देखि १०० वर्ष पुनर्जीवनको प्रविधि सम्भव हुन सक्ने केही मान्छन् भने अन्य चाहिँ यसमा शंका व्यक्त गर्छन् ।’
उनले थपे, ‘मलाई सोध्नुहुन्छ भने आगामी समयमा यो सम्भव छ भन्छु । अहिले तपाईंलाई यो काल्पनिक लागे पनि मेडिकल साइन्सले यसलाई सम्भव तुल्याउन सक्छ ।’
तर यसमा थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।