
पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीवारदेखि पुस्तक प्रदर्शनी शुरू गर्दैछ । प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ ।
प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ सालको यसै महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुंगेलले जानकारी दिए । ३ देखि २ हजार ७० मूल्यका पुस्तक प्रदर्शनीमा राखिने भएका छन् ।
प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अतिउपयोगी करीब ५०० थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएका छन् ।
नेपाली बृहत् शब्दकोश, प्रज्ञा नेपाली अंगेजी शब्दकोश लगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था छ । प्रतिष्ठानबाट शुरू प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनले जानकारी दिए । माटोको ममता, महेन्द्र प्रवचन मालाजस्ता ३ रुपैयाँदेखि नेपाली बृहत् शब्दकोशको १ हजार ८९५ रुपैयाँसम्मका पुस्तक प्रदर्शनीमा राखिएको ढुंगेलले बताए । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रज्ञाले वर्षमा कम्तीमा ३ पटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।