
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूमार्फत नेपाल पे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । चार महिनाको छोटो अन्तरालमा १ लाखभन्दा बढी मर्चेन्टहरू क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यतामा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
विभिन्न व्यावसायिक ग्राहकले नेपाल पे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । यसका निम्ति हाल एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबी बैंक, एनसिसि बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, कामना सेवा बिकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत पे. नेप. प्रा.लि. तथा फोकसवान सोलुसन्स्मार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकहरू पनि थपिने क्रममा रहेका छन् ।
हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एपमार्फत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हाल उक्त सुविधा माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपालक्रेडिट एण्ड कमर्स बैंक, एनआइसीएसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवाबिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसीफाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे, एमओआरयू गरी १२ वटा मोबाइल बैंकिङ, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।
नेपाल पे क्यूआर बाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्ने अप्सनमा गई नेपाल पे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।